site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बेकह्यामदेखि कार्लोससम्म : यी हुन् नेपाल आएका चर्चित तीन फुटबलर

काठमाडौं । ब्राजिलियन लेजेन्ड रोबर्टो कार्लोसको आगमनले नेपाली खेलकुदमा फुटबलको सरगर्मी बढाएको छ ।

पूर्वनिर्धारित समय (अप्रिल १८ र १९) मा नेपाल उत्रिन नसकेपछि चर्को आलोचना खेपेको नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टलाई मंगलबार कार्लोसको आगमनले केही राहत दिएको छ ।

विश्व फुटबललाई नजिकबाट पछ्याउनेहरूका निम्ति कार्लोस नयाँ र अनौठो नाम होइन । अझ सन् १९९० देखि २००० को दशकको सुरुआतसम्मका समर्थकका निम्ति कार्लोस उनीहरूको ‘भावना’ हुन् ।

फ्रेन्चाइज फुटबल नेपाल सुपर लिग (एनएसएल)को दोस्रो क्वालिफायर हेर्न नेपाल आएका कार्लोस बुधबार हुने खेलमा प्रमुख अतिथिको रूपमा रहनेछन् । तर, कार्लोस दशरथ रंगशालालाई नजिकबाट नियाल्ने पहिलो विश्वकप विजेता भने होइनन् । फुटबल मात्र नभई नेपाली खेलकुदमै पछिल्लोसमय विश्व चर्चित खेलाडीहरूको आगमन बढेको छ । फुटबललाई विशेष रूपमा हेर्ने हो भने हालसम्म नेपालमा चर्चित तीन नाम भित्रिएका छन् ।

कार्लोसअघि नेपाली समर्थकले इंग्ल्यान्डका चर्चित पूर्वमिडफिल्डर डेबिड बेकह्याम र इटालीका विश्वकप विजेता जियानलुइजी बुफोनलाई नजिकबाट हेर्ने मौका पाइसकेका छन् । जर्मनीका पूर्वविश्वकप विजेता बेर्टी भोग्सलाई पनि नेपालले आतिथ्यता प्रदान गरेको थियो । तर, उनी आएको जुग बितिसकेको हुँदा त्यसबारे तथ्यांक भने कतै उल्लेख भएको पाइँदैन ।

डेबिड बेकह्याम, इंग्ल्यान्ड (नेपाल आगमन– २०७२ कार्तिक २० गते)
भोग्सपछि नेपाल टेकेको चर्चित नाम हो– डेबिड बेकह्याम । उनी २०७२ कार्तिक २० गते शुक्रबार नेपाल आएका थिए । त्यसबेला बेकह्याम डकुमेन्ट्री बनाउने र युनिसेफलाई सहयोग जुटाउनका निम्ति सात महादेशका सात मुलुक योजनाअन्तर्गत नेपाल ओर्लिएका थिए । पपुवा न्युगिनीबाट नेपाल आएका बेकह्यामको नेपाल बसाइँ लामो समय भने रहेन । उनले सोही दिन भक्तपुरका पद्य माध्यमिक विद्यालयका विद्यार्थीसँग भक्तपुर दरबार स्क्वायरमा फुटबल खेले । एक दिनका निम्ति मात्रै नेपाल आएका बेकह्याम त्यसपछि अर्जेन्टिना लागे ।

उनले सन् १९९६ को सेप्टेम्बर १ मा मोल्दोभोविरुद्धको खेलबाट अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यू’ गरेका थिए । घुमाउरो फ्रिकिक प्रहारमा माहिर बेकह्यामको यो प्रहारलाई ‘बेकह्याम कर्ल’ वा ‘बेकह्याम फ्रिकिक’ पनि भन्ने गरिन्थ्यो । सन् २००३ देखि ०७ सम्म रियालमा बिताउँदा काका, जिनेदिन जिदान, लुईस फिगो र रोबर्टो कार्लोस बेकह्यामका सहकर्मी थिए । उनले सन् २०१३ मे १३ मा फुटबलबाट सन्न्यासको घोषणा गरेका थिए ।

जियानलुइजी बुफोन, इटाली (नेपाल आगमन– २०८१ फागुन १८)
चर्चित इटालियन विश्वकप विजेता जियानलुइजी बुफोनले पनि केही महिनाअघि मात्रै नेपालको भ्रमण गरे । सन् २००६ मा इटालीलाई विश्वकपको उपाधि दिलाउन प्रमुख भूमिका निभाएका बुफोनलाई राष्ट्रिय युवा संघले केपी ओली कप–२०८१ का निम्ति नेपालमा आतिथ्यता प्रदान गरेको थियो । प्रतियोगिताको फाइनलमा प्रमुख अतिथि बनेका बुफोनले दशरथ रंगशालामै मछिन्द्र क्लब र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच फागुन १९ गते भएको खेल हेरेका थिए । तीन दिनको नेपाल बसाइँपछि बुफोन फागुन २० गते स्वदेश फर्किएका थिए ।

इटालीले सन् २००६ मा फ्रान्सलाई हराएर विश्वकपको उपाधि जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनले इटालीबाट १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् ।

सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका बुफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । उनले व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।

रोबर्टो कार्लोस, ब्राजिल (नेपाल आगमन– २०८२ वैशाख ९ गते)
सन् १९९७ मा ब्राजिल र फ्रान्सबीच खेल भइरहेको थियो । ब्राजिलले पोष्टभन्दा करिब ४० यार्ड टाढा फ्रि–किक अवसर पायो । उक्त अवसरमा कार्लोसले करिब १८ यार्ड दौडिएर गरेको फ्रि–किक प्रहारले सिधै जाली चुम्यो । फ्रान्सका गोलकिपरले प्रतिक्रियाका निम्ति समय समेत पाएनन् । त्यही समयदेखि यो खेलाडीको एउटा छुटै पहिचान बन्यो ‘फ्रि–किक मास्टर’ ।

ती खेलाडी थिए, डा. सिल्भा रोचा अर्थात् रोबर्टो कार्लोस । उनी ‘फुटबलकै इतिहासमा सबैभन्दा आक्रामक मानसिकता भएका लेफ्ट ब्याक’ को उपनामले पनि परिचित छन् ।

उनै कार्लोस मंगलबार (चैत ९) नेपाल ओर्लिए । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा भइरहेको नेपाल सुपर लिग (एनएसएल)का निम्ति कार्लोस नेपाल आएका हुन् । उनी बुधबार हुने प्रतियोगिताको दोस्रो क्वालिफायरमा प्रमुख अतिथि रहने आयोजकले जनाएको छ ।

सन् १९९२ मा ब्राजिलबाट अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका कार्लोसले १२८ क्याप जितेका छन् । स्पेनिस क्लब रियाल मड्रिडबाट लामो समय व्यावसायिक फुटबल खेलेका कार्लोसले स्पेनिस राजधानीको यो क्लबबाट सबैखाले प्रतियोगितामा गरी ५८४ खेल खेल्दा ७१ गोल गरे । रियालमा रहँदा उनले तीन च्याम्पियन्स लिग, दुई इन्टर कन्टिनेन्टल कप, एक युरोपियन सुपर कप, चार ला लिगा र तीन स्पेनिस सुपर कपको उपाधि जिते ।

राष्ट्रिय टोलीबाट उनले तीनपटक फिफा विश्वकप खेल्दा सन् २००२ को उपाधि जितेका थिए । सन् १९९८ मा ब्राजिलले फाइनलसम्मको यात्रा तय गर्दा पनि कार्लोस टिमका महत्त्वपूर्ण सदस्य थिए । यसबाहेक, उनले ब्राजिलबाट दुईपटक कोपा अमेरिका र फिफा कन्फेडेरेसन कपको समेत उपाधि जितेका छन् । उनले सन् २००६ को जुलाईमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरे ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १०, २०८२  ०६:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro