काठमाडौं । वाम गठबन्धन बनाएर प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भाग लिएका नेकपा एमाले र माओवादी केन्द्रले प्रदेश सरकार गठन तथा राष्ट्रियसभा निर्वाचनमा पनि सहकार्य जारी राखेका छन् ।
राष्ट्रियसभा निर्वाचन यही माघ २४ गते हुँदैछ । राष्ट्रियसभा निर्वाचनको लागि पनि एमाले र माओवादी केन्द्रले ५६ सिटमध्ये ४३ सिटमा संयुक्त उमेदवारी दिएका छन् । राष्ट्रियसभा र प्रदेश सरकार गठनको लागि गठित संयुक्त कार्यदलले एमालेलाई २९ र माओवादी केन्द्रलाई १४ सिट हुनेगरी बाँडफाँड गरेको छ ।
राष्ट्रियसभा निर्वाचनसँगै प्रदेश सरकार गठन पनि नजिकिँदैछ । ७ प्रदेशमध्ये ६ वटा प्रदेशमा वाम गठबन्धनको सरकार बन्नेृ निशिचत छ । एमालेले ४ मुख्यमन्त्री, ४ सभामुख र २ उपसभामुख तथा माओवादी केन्द्रले २ मुख्यमन्त्री, २ सभामुख र ४ उपसभामुख पाउने गरी दुई पार्टीबीच पदको बाँडफाँड भएको छ ।
प्रदेश सरकारको सिट बाँडफाँड भएसँगै माओवादी केन्द्रमा मुख्यमन्त्री र सभामुखका आकांक्षीहरु देखिएका छन् । माओवादी केन्द्रले प्रदेश नम्बर ६ र ७ मा मुख्यमन्त्री पाएको छ भने ४ र ५ मा सभामुख पाएको छ । प्रदेश नम्बर ६ बाट मुख्यमन्त्रीमा माओवादी केन्द्रका नेता एवं पूर्वऊर्जामन्त्री महेन्द्रबहादुर शाही र नरेश भण्डारी आकांक्षी देखिएका छन् ।
शाही कालीकोटको प्रदेश ख का प्रदेश सदस्य हुन् । त्यस्तैगरी भण्डारी जुम्ला क बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । माओवादी केन्द्रका नेता जनार्दन शर्माका विश्वासपात्र मानिने शाहीको मुख्यमन्त्रीमा बलियो सम्भावना रहेको नेताहरुले बताएका छन् ।
मुख्यमन्त्रीकै लागि प्रदेश नम्बर ७ बाट वीरमान चौधरी र मानबहादुर धामीले दावी गर्दै आएका छन् । चौधरी कैलाली प्रदेशसभा क बाट निर्वाचन सदस्य हुन् भने धामी दार्चुला प्रदेशसभा ख बाट निर्वाचित प्रदेश सदस्य हुन् । २०६४ को संविधानसभा निर्वाचनमा माओवादी केन्द्रबाट समानुपातिक सभासद भएका चौधरी थारु समुदायबाट प्रतिनिधित्व गर्दै आएकाले मुख्यमन्त्रीको बढी सम्भावना रहेको स्रोतको दावी छ ।
गठबन्धनबाट सभामुखमा भने माओवादी केन्द्रको भागमा प्रदेश नम्बर ४ र ५ परेको छ । सभामुखका लागि प्रदेश नम्बर ४ बाट चार जना आकांक्षी देखिएका छन्, जसमा हरी चुमन, नेत्र अधिकारी, गायत्री गुरुङ र आशा खनाल रहेका छन् ।
त्यस्तैगरी प्रदेश नम्बर ५ बाट ३ जना सभामुखमा आकांक्षी देखिएका छन् । प्रदेश नम्बर ५ बाट कुलबाहदुर धामी, माधव शर्मा र कृष्णध्वज खाँडले सभामुखको दावी गर्दै आएका छन् ।
उपसभामुख भने सभामुखको टुङ्गो लागिसकेपछि मात्र तय हुने माओवादी केन्द्रले जनाएको छ ।