काठमाडौं । एकतापछि बन्ने पार्टीको ‘अध्यक्ष’ कसलाई ? भन्ने विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच टुंगो लाग्न नसकेपछि दुई पार्टीबीचको एकता प्रक्रिया धरमराएको छ ।
तर नेताहरुले यसलाई ‘केही ढिलो’ भएको प्रतिक्रिया मात्रै दिएका छन् । उनीहरुको भनाईमा ‘एकता प्रक्रिया निष्कर्षमा पुग्न कम्तिमा दुई महिना लाग्न सक्छ तर सरकार गठनमा भने दुई पार्टीबीच कुनै मतभिन्नता छैन’ । उनका अनुसार सरकार गठन प्रक्रिया पनि एकता जस्तै धरमराएको भए मुख्यमन्त्री, मन्त्री, सभामुख, उपसभामुख, समितिका सभापति लगायतमा भागबण्डा हुँदैनथ्यो ।
दुई पार्टीका अध्यक्षबीचको ‘वान टु वान’ वार्ता र पार्टी एकता संयोजन समितिको बैठकले दुई पदको बाँडफाँड गर्न नसक्दा पार्टी एकताले गति लिन नसकेको हो ।
तर शीर्ष दुई नेताबाहेक नेतृत्वको बाँडफाँड सम्बन्धी छलफलमा अन्य कोही पनि नेता उपस्थित छैनन् । ओली र दाहालबीच भएका पटक पटकका गोप्य वार्ताका बारेमा भने केही पनि सार्वजनिक भएको छैन ।
तर भेटवार्तापछि नेताहरुका आन्तरिक बैठकमा भएका कुराकानीअनुसार सरकार गठनअघि एकता प्रक्रिया सम्भव देखिँदैन । त्यसबाहेक दोस्रो तहका नेताको व्यवस्थापन नै अर्को जटिल विषय भएको नेताहरुको धारणा छ ।
एकजना एमाले नेताले बाह्रखरीसँगको अनौपचारिक कुराकानीमा भने, “एमाले अध्यक्ष केपी शर्मा ओली माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नयाँ पार्टीको नेतृत्व दिन पनि तयार हुनुहुन्छ । प्रचण्ड पनि जसले गर्दा पनि हुन्छ भन्नेमा हुनुहुन्छ । तर दोस्रो तहका नेताहरुले पछिल्ला दिनमा व्यक्त गरेका धारणाले दुई नेताबीचको वार्तालाई बङ्गाईदिएको छ । यसले गर्दा एमालेमा प्रचण्डलाई दिनै हुँदैन, माओवादीमा एमालेलाई मान्नै सकिँदैन भन्ने पारिएको छ । समस्या यहिँमात्रै हो । तर दुई नेताले गर्ने निर्णयलाई मान्दैनौं भन्ने अर्को नेता देखिँदैन ।”
नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले मंगलबार बाह्रखरीसँग कुरा गर्दै एकता प्रक्रिया केही लम्बिएको बताए । तर उनी एकता प्रक्रिया केही लम्बिँदैमा नयाँ सरकारको जग पनि हल्लिसकेको मान्न तयार छैनन् ।
उनले तत्काललाई पार्टी एकता नभए पनि सरकार गठन प्रक्रियामा एमाले र माओवादीबीच विवाद बढाउन कसैले नसक्ने टिप्पणी गरे ।
नेता पौडेलले भने, “सबैलाई प्रष्ट थाहा छ, प्रधानमन्त्री र पार्टी अध्यक्ष पद बाँडफाँड नहुँदा पार्टी एकता हुन सकेको छैन । तर यति हुँदाहुँदै पनि वामपन्थी सरकार बन्न अब कसैले रोक्दैन यो चाहीँ पक्का हो । अहिले यति बुझ्नुहोस् । अहिले प्रदेशमा पनि एमाले र माओवादी केन्द्रको सरकार बन्ने कुरा ढुक्क छ । त्यसका लागि भागभण्डा पनि भइसक्यो । यी आधारले पनि संघीय सरकार पनि एमाले र माओवादीबाहेकको बन्ने सम्भावना कति पनि छैन ।”
उनले पार्टी एकताको लागि दुई पार्टी समान रहेको बताउँदै एमालेले दम्भ गर्न नहुने समेत बताए । “एमालेका साथीहरुले ७० र ३० प्रतिशतको कुरा गर्नुहुँदैन । पार्टी एकता गर्ने भनेपछि दुबै पार्टी र नेता समान हुन् । कसैले कसैलाई तौलन मिल्दैन । जनताले मुलुकमा समृद्धि र स्थिरतासहितको आशामा एमाले र माओवादीबीचको पार्टी एकता र सरकार बनोस् भन्ने उद्देश्यले चुनाव जिताएका हुन् । त्यसैले पार्टी एकताको विषयमा एमालेका साथीहरुले दम्भ गर्न जरुरी छैन,” पौडलले भने ।
उनले एमालेसँगको पार्टी एकता र सरकार गठनलाई टुटाउन कांग्रेस लगायतका दलहरु निरन्तर लागिपरेको समेत बताए ।
“एमालेसँग पार्टी एकता र सरकार गठन नहोस् भन्ने उद्देश्यसहित कांग्रेसका साथीहरुले हामीलाई निरन्तर फकाइरहनुभएको छ,” पौडेलले भने, “हामी अहिले कसैले फकाएर फकिने र एमालेलाई धोका दिने पक्षमा छैनौं ।”
उनले मधेसवादी दलहरुले संविधान संशोधनको सर्त राखेको बताउँदै वामपन्थी सरकारमा आउने सम्भावना नरहेको पनि बताए ।
नेता पौडेलले एमाले र माओवादीबीच पार्टी एकता भइ कम्युनिष्टबाहेक कुनै नयाँ नाम राखेमा नयाँ शक्ति पार्टी नेपाल पनि आफूहरुसँग जोडिन आउने जिकिर समेत गरे ।
माओवादी केन्द्रकै नेता दीनानाथ शर्माले पनि वामपन्थीबाहेकको सरकार गठन सम्भावना नरहेको बताउँदै पार्टी एकताको गृहकार्य निरन्तर भइरहेको बताए । “ढुक्क हुनुहोस् वामपन्थीको सरकार पक्का बन्छ,” शर्माले भने, “सरकार गठन र पार्टी एकताको लागि ओली र प्रचण्डबीच निरन्तर संवाद भइरहेको छ । दुई अध्यक्षबीच वैचारिक र सांगठनिक कुराहरु टुङ्गिएपछि पार्टीभित्र छलफल हुन्छ अनि मात्र बाहिर सार्वजनिक हुन्छ । अहिले हामीले कसैलाई केही नभन्ने सहमति गरेका छौं ।”
उनले पार्टी एकताको लागि सरकार गठन पहिला भएपनि केही फरक पर्ने जिकिर समेत गरे ।
“सरकार गठन र पार्टी एकताको विषयमा छलफल भइरहको छ । त्यसैले पार्टी एकताको काम पहिला सकियो भने पार्टी एकता हुन्छ नत्र सरकार गठन हुन्छ । सरकार गठनले पार्टी एकतालाई केही फरक पार्दैन,” नेता शर्माले भने ।
एमाले नेता शेरधन राईले पनि एमाले र माओवादीको समान हैसियत नभएको बताउँदै पार्टी एकता भन्दा पनि सरकार गठन पहिला हुने संकेत गरे । नेता राईले बाह्रखरीसँग कुरा गर्दै भने, “यी दुवै पार्टी समान हैसियतमा छैनन् । विगतमा पनि थिएनन्, अहिले पनि छैनन् । यसपटकको निर्वाचनको मत परिणामलाई हेर्ने हो भने ७० प्रतिशत मत एमालेको छ, माओवादी केन्द्रको ३० प्रतिशत छ । नेतृत्वको निरूपण गर्न कठीन त भएकै छ । तर, पद नै मुख्य कुरा बनेर एकता पर धकेलिनु भएन । राष्ट्रिय आवश्यकता र राष्ट्रिय स्वार्थ महत्वपूर्ण कुरा हो । यसर्थ यिनै कुरालाई हृदयङ्गम गरी सरकार र पार्टीको नेतृत्व कसले गर्ने भन्ने प्रश्नको निरूपण दुई नेताको बीचमा सहज ढंगबाट सहमतिमै टुंगिने आशा हामीले गरेका छौँ ।”