काठमाडौं । ‘सरकारले कुनै पनि बहानामा १० दिनमात्रै भए पनि चुनाव सार्यो भने हामी एउटै पार्टी बनाएर चुनावमा होमिने तयारी गरेका थियौं’ प्रदेशसभा र प्रतिनिधिसभाको चुनावी तयारी सभालाई सम्बोधन गर्ने क्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले यो वाक्य निरन्तर दोहोर्याएका थिए ।
तर चुनाव सकिएको २ महिना बित्न लाग्दासमेत चुनावी तयारीसभामा खुलेजसरी न त एकताको विषयमा नेताहरु खुलेका छन् न त एकता प्रक्रिया उनीहरुले भनेजसरी अघि बढेको छ ।
बरु पछिल्ला दिनमा एमाले र माओवादी केन्द्रका नेताहरुबीच नै आरोप प्रत्यारोप सुरू भएको छ भने शीर्ष नेताहरुबीच भएका वार्ता पनि निष्कर्षमा पुग्न सकेका छैनन् ।
तर यति हुँदाहुँदै पनि एकता प्रक्रियाको विकल्पमा कुनै पनि कुराको सुरुवातसम्म नभएको दुवै पार्टीका नेताहरु बताउँछन् ।
नेकपा एमाले र माओवादी केन्द्रबीच मुख्यमन्त्री पनि सहमतिका आधारमा बाँडफाँड गर्ने भनिएको थियो । सोही अनौपचारिक सहमतिअनुसार प्रदेश नम्बर ६ मा माओवादीले सरकार बनाउने तयारी पनि भएको थियो । तर एमाले प्रदेशले पत्रकार सम्मेलन गरेर एमाले बाहेकको नेतृत्व स्वीकार्य नहुने अडान राखेपछि माओवादीको मनमा थप चिसो पसेको छ ।
मुख्यमन्त्री र सभामुखको बाँडफाँड टुंगो लगाउन कार्यदलको बैठक आइतबार पनि बस्दैछ । यसअघि राष्ट्रियसभाको सिट बाँडफाँड गरेको कार्यदलले अब मुख्यमन्त्री र सभामुखको टुंगो लगाउने तयारी गरेको छ ।
सबै पदहरुमा भागबण्डा गर्न थालेपछि एकता प्रक्रियामा विलम्ब हुने हो कि भन्ने आशंका बढेको नेताहरु बताउँछन् । पार्टी एकतापछि अध्यक्ष र प्रधानमन्त्री को बन्ने ? भन्ने विषयनै अहिलेको मुख्य टुंगिन नसकेको विषय बनेको छ ।
यसले गर्दा एकताले गति लिन सकेको छैन । सरकार गठनअघि एकता हुन नसके सरकार बनाउने र त्यसपछि एकता प्रक्रियालाई पनि सँगै अघि बढाउने तयारी एमालेको छ भने माओवादीले सरकार गठनको विषय टुंगो लाग्दा पार्टी एकता र नेतृत्वको पनि टुंगो लाग्नुपर्ने धारणा राख्दै आएको छ । दुवै पार्टीका शीर्ष नेताहरुले यसरी आ–आफ्ना धारणा सार्वजनिक गरेका छन् ।
किन ढिलाइ भइरहेको छ त ?
एमाले सचिव प्रदीप ज्ञवालीले अहिले गठबन्धनको ध्यान राष्ट्रियसभा निर्वाचन सफल रुपमा सम्पन्न गर्नेतर्फ भएकाले पार्टी एकता प्रक्रिया केही समय लम्बिन सक्ने बताए । ज्ञवालीले पार्टी एकता र सरकार गठन सँगसँगै हुने बताए । नेता ज्ञवालीले बाह्रखरीसँग कुरा गर्दै भने, “निर्वाचनलगत्तै पार्टी एकता गर्ने भनिए पनि विशेष कारणवस पार्टी एकता हुन सकेको छैन । अहिले गठबन्धनको ध्यान राष्ट्रियसभा निर्वाचन सफल रुपमा सम्पन्न गर्नेमा छ । हामीले पार्टी एकता गर्ने उद्देश्यले नै प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा तालमेल गरेका हौं । पार्टी एकता गर्ने काम भनेजति सजिलो विषय पनि होइन । राष्ट्रिय मुद्दाहरु र पार्टी एकताको लागि दुवै पार्टीभित्र आन्तरिक छलफल भइरहेको छ ।”
नेता ज्ञवालीले पदको विषयले पार्टी एकता नरोकिएको स्पष्ट समेत पारे । “पदको विषयले पार्टी एकता रोकिएको होइन,” ज्ञवालीले भने, “पदको विषयमा छलफल नै भएको छैन । दुवै पार्टीका अध्यक्षले पदको विषय मिलाउनुहुन्छ । फागुनको पहिलो सातामासम्ममा पार्टी एकता होला ।”
नेकपा एमालेकै नेता शंकर पोखरेलले पनि पार्टी एकताको लागि वैचारिक र सांगठनिक कार्यदल बनाउनको लागि नेताहरु लागेको बताउँदै पदको विषयले पार्टी एकता नरोकिने बताए ।
“पार्टी एकताको लागि दुबै पार्टीका नेताहरु वैचारिक सांगठनिक कार्यदल निर्वाचन गर्ने कुरामा व्यस्त छ,”नेता पोखरेलले भने, “पार्टी नै एकता गर्ने भनेर हिँडिसकेपछि पदको विषयले पार्टी एकता रोकिँदैन ।”
नेता पोखरेलले पदको विषयमा आफूहरु प्रवेश नगरेको बताउँदै वैचारिक र सांगठनिक कार्यदल बनेपछि पदको विषय टुङ्गो लाग्नेसमेत बताए ।
माओवादी केन्द्रका नेता मणि थापाले पार्टी एकतापछि प्रधानमन्त्री र पार्टी अध्यक्ष को बन्ने भन्ने विषय नटुङ्गिँदा राष्ट्रियसभा निर्वाचन अगाडी पार्टी एकतामा ‘ब्रेक’ लागेको बताए । राष्ट्रियसभा निर्वाचन र एमालेले माओवादी केन्द्रलाई ‘फस्ट म्यान’ नमान्दा पार्टी एकता प्रक्रियामा बिलम्व भएको बताए ।
“नेताहरुबीच भने छलफल भइरहेको छ । सबै नेताहरु राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार निर्माणमा व्यस्त छन् । त्यसकारण पार्टी एकताको प्रक्रिया अलि लामो हुने देखिन्छ । अहिले होल्डमा छ,” थापाले बाह्रखरीसँग कुरा गर्दै भने ।
उनले पार्टी एकताको लागि एमाले अध्यक्ष ओलीले माओवादी केन्द्रका प्रचण्डलाई अध्यक्ष मान्न तयार भएपनि दोस्रो तहका नेताहरु तयार नहुँदा पार्टी एकता लम्बिएको जिकिर समेत गरे ।
उनले सिद्धान्तले पार्टी एकता नरोकिएको पनि बताए । “दुई पार्टीबीच पार्टी एकता गरेर देशलाई आर्थिक समृद्धि र स्थिरता दिने भनेपछि सिद्धान्त मिलिसक्यो । सिद्धान्तले पार्टी एकता रोकिएको होइन । पार्टी एकतापछि जनतालाई सुख, समृद्धि दिने भन्नु नै पार्टीको सिद्धान्त हो । अरु सबै झगडा गर्ने सिद्धान्त हो ।”
उनले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा जनताले पार्टी एकताको लागि जनमत दिएको भन्दै दुबै पार्टीले दम्भ देखाउन नहुने बताए । “निर्वाचनमा जनताले हामीलाई मत सरकार गठनको लागि मात्र दिएका होइनन् पार्टी एकताको लागि हो । सरकार त बन्ने र भत्किने भइरहन्छ । दुवै पार्टी एकताबाट पछि हट्नुहुँदैन,” उनले भने ।
उनले प्रदेशको मुख्यमन्त्री र सभामुखको विषयमा कार्यदलमा निर्णय नभएको पनि बताए । प्रदेशको मुख्यमन्त्रीको लागि गठबन्धनसँग माओवादी केन्द्रले २ मुख्यमन्त्री र ४ सभामुख मागेको छ ।
माओवादी केन्द्रका नेता जनार्दन शर्माले भने पार्टी एकताको विषयमा दुबै पार्टीका नेताहरुले आफ्नो स्पेसको लागि पार्टी पदको विषयलाई प्रोपोगान्डा बनाएको भन्दै पार्टी एकता कुनै पनि हालतमा नरोकिने बताए । “आफ्नो स्पेस बनाउन दुवै पार्टीका केही नेताहरुले पार्टी एकताको लागि अनेक कुरा भनिरहनुभएको छ । त्यो उहाँहरुले आफ्नो लागि भन्नुभएको हो त्यो बाहेक अरु केही होइन । पार्टी एकता हुनै पनि हालतमा हुन्छ । अहिले राष्ट्रियसभा निर्वाचनले गर्दा पार्टी एकता अलिकति पछि हटेको छ ।”
विकल्प रोज्ने बेला भएको छैन
पदको विषयमा पार्टी एकता रोकिएको बताउँदै आएको माओवादी केन्द्रले विकल्प रोज्ने बेला नभएको बताएको छ ।
अन्तिम अवस्थामा आएर भए पनि पदको विषय मिल्ने भन्दै कांग्रेस र मधेसवादी दलसँग मिलेर सरकार बनाउने भन्ने विषयमा माओवादीले अहिले नै नसोचेको एक नेताले बताए । ती नेताले भने, “नेताहरुको बोल्ने कुरा एउटा हुन्छ । भित्रि कुरा अर्कै हुन्छ । एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको ‘वान टु वान’ वार्ताको विषयमा कसैलाई पनि थाहा छैन ।”
उनले पद बाँडफाँडको विषयमा दुवै पार्टी लचिलो हुनुपर्ने पनि बताए ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले पनि पदको विषयलाई लिएर आफूहरुले विकल्प रोज्ने समय नभएको बताउँदै पद बाँडफाँडको लागि एमाले लचिलो हुनुपर्ने बताए । “नेताहरुबीच कुराकानी भइरहेको छ । अहिले नै माओवादी केन्द्रले एमाले बाहेकको विकल्प खोज्दैन । एमाले बाहेकको सरकार पनि असभ्भव छ,” नेता पौडेलले भने ।