काठमाडौं । एमाले र माओवादी केन्द्रबीचको पद बाँडफाँडको कुरा नमिल्दा पार्टी एकताले गति लिन सकेको छैन । त्यसैले एमाले र माओवादीबीच पार्टी अध्यक्ष, प्रधानमन्त्री, मुख्यमन्त्री र सभामुखलगायत पदको भागभण्डा पनि अझै मिल्न सकेको छैन । मुख्यमन्त्रीमा भने माओवादी केन्द्रले वाम गठबन्धनको तर्फबाट २ मुख्यमन्त्री र ४ सभामुख पाउनुपर्ने सहमति भएको बताए पनि माओवादीको भागमा परेको भनिएका प्रदेशमा एमालेले मुख्यमन्त्रीको दाबी नछाडेपछि विवाद देखिएको हो ।
प्रदेश नम्बर ६ र ७ मा आफूहरुको सरकार हुनुपर्ने भन्दै माओवादी केन्द्रका नेताहरु मुख्यमन्त्रीको उमेदवार खोजीमा छन् ।
माओवादी केन्द्रका नेता देवेन्द्र पौडैलका अनुसार प्रदेश नम्बर ६ को मुख्यमन्त्रीमा महेन्द्रबहादुर शाही र नरेश भण्डारीको दाबी छन् भने ७ मा विरमान चौधरी, त्रिलोचन भट्ट, मानसिंह धामी र झपट बोहोरा मुख्यमन्त्रीको प्रमुख दाबेदार हुन् । ७ वटा प्रदेशमध्ये २ नम्बर प्रदेशमा मा मधेसवादी दलको सरकार बन्ने सम्भावना छ ।
तर सोमबार वीरेन्द्रनगरमा बसेको एमाले प्रदेश नम्बर ६ को संसदीय दलको बैठकले प्रदेशसभा निर्वाचनमा पार्टीको ५० प्रतिशत मत रहेको बताउँदै अर्को पार्टीलाई नेतृत्व सुम्पन नसक्ने निष्कर्ष निकालेको छ । एमालेले प्रदेश नम्बर ६ को संसदीय दलको बैठकले मुख्यमन्त्री नछाड्ने बताएपछि मुख्यमन्त्री र सभामुख पदको बाँडफाँड अझ पेचिलो बनेको माओवादी केन्द्रका एक नेताले बताए ।