काठमाडौं । दृष्टिविहीन नेपाली क्रिकेट टिमलाई नगदसहित सम्मान गरिएको छ । नेपाली क्रिकेट समर्थक समाजले पाकिस्तान र युएईमा संयुक्त रुपमा सम्पन्न विश्वकपमा सहभागि जनाएको नेपाली क्रिकेट टिमलाई संकलित रकमले सम्मान गरेको हो ।
टियु क्रिकेट मैदानमा सोमबार कार्यक्रम आयोाजना गरी १४ जना खेलाडीलाई जनही २२ हजार र अफिसियल तथा प्राविधिक ८ जनालाई ११ हजारको दरले नगद सहित सम्मान गरेको हो । त्यस्तै, नेपाली क्रिकेट समर्थक समाजले दृष्टिविहीन क्रिकेट संघलाई पनि ५० हजार नगद प्रदान गरेको छ ।
सम्मानित भएका खेलाडीलाई नेपाली क्रिकेट टिमका कप्तान पारस खड्का र मुख्य प्रशिक्षक जगत टमाटाले नगद वितरण गरेका थिए ।
नेपाली दृष्टिविहीन खेलाडी आर्थिक अभावकै कारण भारत हुदै पाकिस्तान करिब ३ दिनको बस यात्रा पार गरेर गएको थियो । त्यसपछि नेपाली क्रिकेट समर्थक समाजले आर्थिक सहयोग संकलन अभियान चलाएको थियो । स्वदेश प्लेनबाट नेपाल फर्काउने उद्देश्यले गरिएको उक्त अभियान सफल भएको थियो । प्लेनको टिकट किनेर बचेको रकम खेलाडी तथा पदाधिकारीलाई वितरण गरिएको हो ।