काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले राष्ट्रियसभा र प्रदेशसभा गठनमा देखिएका जटिलता अन्त्यको प्रयास खोज्न कार्यदल बनाएको छ ।
एमालेका ३ र माओवादी केन्द्रका ३ जना नेता सम्मिलित कार्यदल बनाइएको हो । कार्यदलमा एमालेका नेताहरु सुवास नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका रामबहादुर थापा बादल, वर्षमान पुन र मातृका यादव रहेको एमाले नेता वामदेव गौतमले जानकारी दिए ।
तर पार्टीमा पद बाँडफाँट र नीति तय गर्नका लागि बनाइने भनिएको संयुक्त कार्यदल भने बन्न सकेन ।
किन बन्न सकेन भन्ने बारेमा नेताहरुले केही बताउन चाहेनन् ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकपछि एमाले नेता गौतमले पार्टी एकता कसैले रोकेर नरोकिने बताउँदै यसलाई नकारात्मक ढंगले नसोच्न पत्रकारहरुसँग आग्रह गरे ।
उनका अनुसार बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली एकसाताका लागि उपचारका लागि विदेश जाने भएकाले आएपछि बस्ने बैठकले कार्यदल बनाउनेछ ।