site stats
बाह्रखरी :: Baahrakhari
विदेश
२० अरब र मुस्लिम देशका विदेशमन्त्रीले गरे इरानमाथि इजरायली हमलाको निन्दा

काठमाडौं । विभिन्न २० अरब र मुस्लिम देशका विदेशमन्त्रीले इजरायलले इरानमाथि गरेको हमलाको निन्दा गरेका छन् । संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले तनाव कम गर्न आग्रह गरेका इजिप्टको आधिकारिक समाचार एजेन्सीले जनाएको छ ।

इजिप्ट, जोर्डन, पाकिस्तान, बहराइन, ब्रुनाई, टर्की, चाड, अल्जेरिया, कोमोरोस, संयुक्त अरब इमिरेट्स, जिबुटी, साउदी अरब, सुडान, सोमालिया, इराक, ओमान, कतार, कुवेत, लिबिया र मौरिटानियाका विदेशमन्त्रीले मध्यपूर्व क्षेत्रको ‘खतरनाक’ तनावप्रति गम्भीर चिन्ता व्यक्त गरेका सीएनएनले जनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरूले देशहरूको सम्प्रभुता र क्षेत्रीय अखण्डताको सम्मान गर्नुपर्नेमा जोड दिएका छन् । राम्रो छिमेकी सम्बन्धको सिद्धान्त र सबै पक्षलाई शान्तिपूर्ण तरिकाले विवाद समाधान गर्न उनीहरूले आग्रह गरेका छन् ।

उनीहरूले परमाणु र अरू सामूहिक विनाशका हतियारबाट मुक्त मध्यपूर्व क्षेत्र सिर्जना गर्नुपर्ने औँल्याएका छन् । परमाणु हतियार सन्धिमा आबद्ध हुन पनि उनीहरूले आग्रह गरेका छन् ।

तर, इजरायल यो सन्धिको पक्षमा छैन । यो एक अन्तर्राष्ट्रिय सम्झौता हो, जसले परमाणु हतियारको प्रसार रोक्ने उद्देश्य राख्छ ।

ती विदेशमन्त्रीहरूले यो विवाद कूटनीतिक रूपमा समाधान गर्नुपर्ने बताएका छन् । सैनिक तरिकाले समस्या समाधान गर्न नसकिने उनीहरूले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्