
काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च ( एनएसजेएफ) सँगको मैत्रीपूर्ण खेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) विजयी भएको छ । सातदोबाटोस्थित एन्फा मुख्यालय मैदानमा मंगलबार सम्पन्न खेलमा एन्फाले १०–२ को सहज जित दर्ता गर्यो ।
एन्फालाई जित दिलाउन महासचिव किरण राई र केन्द्रीय सदस्य टीका लामाले ह्याट्रिक पूरा गर्दा पंकज शाही, विनोद डंगोल, जयोज नरसिंह श्रेष्ठ र राजेश शाहीले समान एक गोल थपे । एनएसजेएफका लागि अनिश श्रेष्ठ र कार्यसमिति सदस्य अभिनव जोशीले गोल फर्काए ।
एन्फाको टोलीबाट अध्यक्ष पंकजविक्रम नेम्वाङ, राष्ट्रिय महिला फुटबल टोलीका सहायक प्रशिक्षक राजेन्द्र तामाङ, एन्फा एकेडेमी प्रमुख नवीन न्यौपाने लगायतका पदाधिकारी र पूर्वखेलाडीले खेलेका थिए ।
एनएजेएफकोतर्फबाट उपाध्यक्ष सञ्जीव शिल्पकार, कार्यसमिति सदस्य रमेश सुवेदी र कविरस शर्मा तथा साधारण सदस्यले खेलेका थिए ।
यसैगरी खेलमा एनएसजेफका अध्यक्ष निरञ्जन अघिकारी, वरिष्ठ उपाध्यक्ष प्रज्वल ओली, महासचिव अञ्जन खड्का, एन्फा प्रवक्ता सुरेश शाहलगातयको उपस्थिति थियो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)का महासचिव पुरुषोत्तम कँट्टेलले रेफ्रीलाई बल हस्तान्तरण गरेर मैत्रीपूर्ण खेलको सुरुआत गरेका थिए ।