
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव केदारनाथ शर्माले सहकारी सञ्चालकले जिम्मेवारी भुल्दा समस्या निम्तिएको बताएका छन् । मंगलबार नेपाल सहकारी पत्रकार समाज (सीजेएन) र सहकारी विभागले संयुक्त आयोजना गरेको ‘सहकारीको दिगोपनाका लागि अबको रणनीति’ विषयक कार्यक्रममा सचिव शर्माले सहकारी सञ्चालक नै जिम्मेवार भए समस्या हल हुने बताए ।
“सहकारीका मूल्य मान्यता र सिद्धान्तबारे सरकार र सञ्चालक सबैलाई थाहा छ । तर, जिम्मेवार भएर काम नगर्दा समस्या आएको हो,” राष्ट्रिय सहकारी नियमन प्राधिकरणका अध्यक्षसमेत रहेका शर्माले भने ।
सहकारी अभियानले अविभावकत्व बहन नगर्दा सहकारीमा समस्या आएको उनको भनाइ छ । सहकारीमा स्वनियमनका नाममा सबै आफैँलाई मालिक बनाइँदा समस्या उत्पन्न भएको उनको भनाइ छ ।
“नियामक निकायको पनि कमजोरी छ । १६/१७ वर्षको बच्चालाई अभिभावकले स्वतन्त्र रुपमा छाडेजस्तो देखियो,” शर्माले भने ।
कार्यक्रममा सहकारी विभागका रजिस्ट्रार उमेश ढुंगानाले अर्थतन्त्रको प्रमुख खम्बा मानिएको सहकारी क्षेत्रबिना आर्थिक विकास र समृद्धि सम्भव नहुने बताए ।
“आर्थिक विकासको संवाहक सहकारी पनि हो । समुदाय स्तरमा चल्ने स्वनियमन र स्वनियमनमा चल्ने संस्थाका सदस्यहरू नै मालिक हुने संस्था हो,” उनले भने, “संविधानमा नै तीन खम्बे नीतिमा अंगिकार गरेको छ ।”
पछिल्लो समय सहकारीमा सुशासनको समस्या देखिएको ढुंगानाले बताए । केही सहकारीका सञ्चालकको बदमासीले समग्र सहकारीमा नकारात्मक प्रभाव परेको उनले बताए ।
“सबै सहकारीमा समस्या छैन भनिएको छ । तर, नियमनका क्रममा राम्रा भनिएका सहकारी संस्थामा पनि आन्तरिकरूपमा कमजोर रहेको पाइएको छ,” उनले भने, “जनशक्ति अभावका कारण विभागको नियमन क्षेत्रका सबै सहकारीमा नियमन गर्न सकेका छैनौँ । तर, राम्रा भनिएका सहकारीमा आन्तरिक मूल्यांकन गर्दा कमजोर रहेको पाइएको छ ।”
राष्ट्रिय सहकारी महासंघ नेपालकी अध्यक्ष ओमदेवी मल्लले सहकारी क्षेत्रको सशक्तीकरणका लागि सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताइन् ।
कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीलाई संविधानको तेस्रो पिल्लरको रूपमा स्वीकार गरिए पनि व्यवहारमा त्यसअनुसारको न्याय नभएको टिप्पणी गरे । तर, पुँजी र भूगोलभित्रको उपस्थितिलाई हेरेर न्याय गर्नुपर्ने पक्षमा आवश्यक ध्यान नदिइएको उनको भनाइ छ ।
नेपाल कृषि सहकारी केन्द्रीय संघ लिमिटेडका अध्यक्ष खेमबहादुर पाठकले सहकारी क्षेत्र सुधारका लागि अभियान एक ढिक्का हुन आवश्यक रहेको बताए ।
कार्यक्रममा सहकारीको नीति, दीगोपना, भावी रणनीति, दिगो विकास, पारदर्शिता तथा सदस्यहरूको विश्वास बढाउने उपायबारे छलफल गरिएको थियो ।