
काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६, तुइन खोलामा खसेको पहिरो हटाइएको छ । पहिरो पन्छाइएसँगै सवारीसाधन आवागमन दुईतर्फी नै सञ्चालन गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
मंगलबार (असार ३) मध्याह्न उक्त स्थानमा सुक्खा पहिरो खसेको थियो । पहिरो हटाइए पनि माथिबाट ढुंगा झर्न नरोकिएको भन्दै सडक डिभिजनले सावधानी अपनाउन आग्रह गरेको छ ।
“मुग्लिन–नारायणगढ सडकखण्डको तुइन खोलानजिकै खसेको सुक्खा पहिरो हटाइसकिएको छ । हाल सवारीसाधन आवागमन दुईतर्फी सुचारु भइसकेको जानकारी गराउँदछौँ,” सडक डिभिजनले मंगलबार अपराह्न साढे ४ बजे जारी गरेको सूचनामा उल्लेख छ, “माथिबाट ढुंगा झर्न नरोकिएकोले लेन अनुशासनमा रही एकतर्फी सुरक्षित यात्रा गर्नुहुन अनुरोध छ ।”
साना सवारीसाधन सञ्चालन गराउने क्रममा यसअघि माथिबाट ढुंगा खसेर हायस माइक्रोबस र एम्बुलेन्समा सामान्य क्षति पुगेको थियो ।