site stats
बाह्रखरी :: Baahrakhari
विदेश
अमेरिकासँग व्यापार वार्तामा दुर्लभ खनिजको विषयले चीनको हात माथि !

काठमाडौं । विश्वको आपूर्ति शृंखलामा दुर्लभ खनिज पदार्थमा चीनको प्रभुत्वका कारण बेइजिङ र वासिङटनबीच हालै भएको व्यापार वार्तामा यो विषय प्रभावकारी सौदाबाजीको साधन बन्यो । अमेरिका र चीन दुवै पक्षले एक व्यापार फ्रेमवर्कमा सहमति जनाए र वार्ता टुंग्याए ।

इलेक्ट्रोनिक्स, उन्नत उत्पादन, रक्षा र स्वास्थ्य सेवाजस्ता धेरै उद्योगमा प्रयोग हुने यी खनिजको उत्खनन र प्रशोधनका निम्ति चीनले दशकौँदेखि विश्वको प्रमुख औद्योगिक शृंखला निर्माण गरेको छ ।

दुर्लभ खनिज (रेयर अर्थ) उत्पादनको प्रमुख केन्द्र ग्वान्झाउ र यसको वरपरका खानी र कारखानाले चीनको यी खनिजमा नियन्त्रणलाई बलियो बनाएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

दक्षिणी सहर ग्वान्झाउको जंगलले ढाकिएका पहाडी क्षेत्रबाट मूल्यवान् खनिजयुक्त ढुंगा संकलन गर्दै धेरै बासिन्दाले आफ्नो बाल्यकाल बिताएका छन्  । र, आज यी खनिजको उत्खनन, व्यापार वा प्रशोधनबाट जीविका चलाउँछन् ।

व्यापारिक मुद्दाका रूपमा महत्त्वपूर्ण खनिज
उन्नत प्रविधिमा थोपरिएका उच्च कर र अरू नियन्त्रणलाई जवाफ दिँदै चीनले केही प्रमुख दुर्लभ पदार्थ र अन्य महत्त्वपूर्ण खनिजको निर्यातकर्ता कम्पनीलाई विदेशमा हरेक शिपमेन्टका निम्ति विशेष अनुमति (लाइसेन्स) लिन निर्देशन दिएको छ । 

स्वीकृतिलाई केही हप्तासम्म लाग्न सक्ने बनाइएको छ, जसले अमेरिका र अरू देशमा आपूर्ति शृंखलाका अवरोधहरू निम्त्याउन सक्छ ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई ठूला अर्थतन्त्रबीचका वार्ता जारी राख्न मार्गप्रशस्त गर्दा चीनले अमेरिकी उद्योगलाई अत्यावश्यक चुम्बक र दुर्लभ खनिज सहज रूपमा प्राप्त गर्न सजिलो बनाउने लन्डन वार्तापछि बताएका थिए ।

ट्रम्पका अनुसार, यसको बदलामा अमेरिकी क्याम्पसमा पढ्ने चिनियाँ विद्यार्थीको भिसा रद्द गर्ने कार्य बन्द गरिनेछ ।

तर, विवरण अझै स्पष्ट छैन । बेइजिङले लन्डनमा वार्ताकारले के सहमति गरे भन्ने पुष्टि गरेको छैन । र, चिनियाँ राष्ट्रपति सी चिनफिङ र ट्रम्पले स्वयं पनि यसमा दस्तखत गरेका छैनन् ।

यसैबीच, चीनको वाणिज्य मन्त्रालयले अघिल्लो शनिबार दुर्लभ खनिज वस्तुको एक निश्चित संख्या निर्यात गर्न मन्जुरी  दिएको जनाएको छ ।

यसले ट्रम्पले अघिल्लो हप्ताको फोन वार्तामा सीसँग गरेको व्यक्तिगत अनुरोधलाई स्वीकार गरेको प्रकट गर्छ ।

रेन्मिन विश्वविद्यालयका अन्तर्राष्ट्रिय मामिला विज्ञ प्रोफेसर वाङ यीवेको भनाइअनुसार, चीनले आफ्ना महत्त्वपूर्ण खनिजको निर्यात नियन्त्रण हटाउने एउटै सम्भावना तब मात्र हुन्छ, जब पहिले अमेरिकी पक्षले चिनियाँ सामानमा थपेका सबै कर पूर्ण रूपमा फिर्ता लिनेछ । त्यो चीन सरकारले पहिले राखेको अडानलाई दोहोर्‍याउने विषय हो ।

दशकौँदेखि सरकारको सहयोगमा निर्मित एक उद्योग
चीनलाई संसारको सबैभन्दा ठूलो उत्पादन शक्ति बनाउने यात्राको सुरुआत गर्ने नेता देङ सियाओ पिङले सन् १९९२ मा ‘मध्यपूर्वसँग पेट्रोल हुन्छ भने चीनसँग दुर्लभ खनिज पदार्थ हुनेछ’ भनेका थिए । यसले मुख्य खानीमा पहुँच बढाउने र उपयोग गर्ने उनको आकांक्षा झल्काउँछ ।

आज चीनसँग व्यापक दुर्लभ खनिज पदार्थमा एकाधिकार छ । यो रक्षा र विद्युत् सवारीसाधनजस्ता उद्योगमा प्रयोग हुने शक्तिशाली, ताप प्रतिरोधी चुम्बक निर्माणमा उपयोगी हुन्छ । त्यसैले चीनले संसारको करिब ८० प्रतिशत टुङ्गस्टन, ग्यालियम र एन्टिमोनी र ६० प्रतिशत जर्मेनियम उत्पादन गर्छ । यी सबै तत्त्व अर्धचालक र अरू आधुनिक प्रविधिको निर्माणमा प्रयोग गरिन्छ ।

चीनमाथिको निर्भरताका जोखिम पहिलोपटक सन् २०१० मा देखा पर्‍यो, जब बेइजिङले क्षेत्रीय विवादका कारण जापानलाई दुर्लभ खनिजको निर्यात रोकेको थियो । लगभग दुई महिनापछि प्रतिबन्ध हटाइयो । तर, सावधानीका निम्ति जापानले अरू देशमा दुर्लभ खनिज प्रशोधन केन्द्रमा लगानी गर्‍यो । र, सामग्री भण्डारण गर्न थालेको थियो ।

युरोपेली अटोमोटिभ सप्लायर्स एसोसिएसनका अनुसार, युरोपमा केही अटो पार्ट्स निर्माता सप्लाई ढिलाइ भएका कारण उत्पादन लाइन बन्द गर्न बाध्य भएका छन् । अमेरिकामा टेस्लाका सीईओ एलोन मस्कका अनुसार, दुर्लभ खनिजको अभावले उनको कम्पनीको ह्युमानोइड रोबोट परियोजनामा असर परेको छ ।

चीनसँग तुलना गर्दा अमेरिकी क्रिटिकल मिनरल्समा ढिलाइ
अमेरिकी जियोलोजिकल सर्वेका अनुसार, सन् २०२० देखि २०२३ सम्म अमेरिकाले प्रयोग गरेको दुर्लभ खनिज र यौगिकको कम्तीमा ७० प्रतिशत चीनबाट आयात गरिएको छ । हालसम्म आपूर्तिमा विविधता ल्याउने प्रयास गरिए पनि यो अझै चीनमा निर्भर देखिन्छ ।

ट्रम्पको दोस्रो कार्यकाल सुरु भएदेखि नै अमेरिकी सरकारले क्रिटिकल मिनरल्सको पहुँचलाई राष्ट्रिय सुरक्षा प्राथमिकताका रूपमा लिएको छ । तर, विज्ञका अनुसार, अमेरिका चीनसँग बराबरीको अवस्थामा आउन वर्षौं लाग्न सक्छ ।

एक मात्र अमेरिकी दुर्लभ खनिजपदार्थ खानी क्यालिफोर्नियाको माउन्टेन पासमा छ । यो हेभी दुर्लभ खनिज छुट्ट्याउन असमर्थ छ । र, खानीबाट उत्पादित पदार्थलाई प्रशोधनका निम्ति चीन पठाइन्छ ।

अमेरिकी रक्षा विभागले खानीका मालिकलाई नयाँ छुट्ट्याउने संयन्त्र निर्माण गर्न लगानी गरेको छ । तर, त्यो व्यावसायिक प्रतिष्ठान निर्माण गर्न महिनौँ लाग्ने र कुल अमेरिकी आवश्यकताको केवल सानो अंश मात्र उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

अमेरिकी रक्षा विभागले घरेलु दुर्लभ पृथ्वी आपूर्ति शृंखलामा ४३९ मिलियन डलरको प्रतिबद्धता जाहेर गरेको छ । तर, चीनजस्तो पूर्ण खानी–प्रशोधन औद्योगिक चेन (शृंखला) बनाउन दशकौँ लाग्न सक्ने बताइएको छ । एपीबाट ।

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्