
काठमाडौं । फ्रान्सको राफेल युद्धक विमान निर्माता कम्पनी डस्साल्ट एभिएसनका कार्यकारी प्रमुख एरिक ट्रापियरले भारतीय वायुसेनाका तीन राफेल जेट विमान खसालिएको पाकिस्तानको दाबी गलत भन्दै खारेज गरेका छन् ।
पेरिस एयर शो (जुन १६–२२)अगाडि एक युरोपेली प्रकाशनलाई दिएको अन्तर्वार्तामा जेट निर्माता कम्पनीका यी शीर्ष अधिकारीले भारत र पाकिस्तानबीच हालैको सीमासंघर्षको प्रसंग उल्लेख गर्दै यस्तो बताएका द ट्रिब्युन अनलाइनले जनाएको छ ।
भारतले कम्तीमा एउटा राफेल जेट गुमाएपछि रक्षा क्षेत्रमा प्रश्न उठाइएको छ नि ? भन्ने प्रश्नमा ट्रापियरले भने, “भारतले आधिकारिक रूपमा कुनै जानकारी दिएको छैन । त्यसैले हामीलाई ठ्याक्कै के भयो भन्ने थाहा छैन ।”
उनले थपे, “हामीलाई अहिलेसम्म जति जानकारी छ त्यसका आधारमा पाकिस्तानीले भनेको तीन राफेल जेट खसालेको कुरा गलत छ ।”
“सत्य बाहिर आएपछि केही व्यक्तिहरू आश्चर्यचकित हुन सक्छन्,” उनले भने, “युद्ध अभियानको सफलता शून्य हानि भएर हुँदैन, यो लक्ष्य हासिल गरेर नै हुन्छ ।”