
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशका सांसद सरोजकुमार सिंहलाई नियन्त्रणमा लिएको छ । आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, सिंहलाई काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकबाट पक्राउ गरिएको हो ।
विभिन्न उपभोक्ता समिति गठन गरेको देखाई उनीहरूको खातामा दाखिला भएको रकम आफ्नो निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत झिकी बदमासी गरेको पाइएको आयोगले जनाएको छ ।सो रकम आफ्नो र श्रीमतीको खातामा राखी भ्रष्टाचार गरेको आयोगको दाबी छ । प्रदेशसभा सदस्य सिंहमाथि थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
उनी मधेस प्रदेश सरकारका पूर्वआन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत हुन् ।
महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट प्रदेशसभामा निर्वाचित उनको घरमा अख्तियारले जेठ १२ मा छापा पनि मारेको थियो । घरबाट अनुसन्धान अधिकारीहरूले विभिन्न योजनाका कागजातहरू बरामद गरेका थिए ।