
काठमाडौं । अमेरिकाले इराकको राजधानी बगदादमा तैनाथ अमेरिकी दूतावासका कर्मचारीहरू र उनीहरूका आश्रितहरूलाई सुरक्षा जोखिम बढेको भन्दै फिर्ता बोलाउने निर्णय गरिएको छ ।
अमेरिकी सरकारले मध्यपूर्व क्षेत्रबाट अनावश्यक कर्मचारीहरू निकाल्ने निर्णय गरे पनि यसको कारण स्पष्ट भएका छैन । अमेरिकी रक्षा विभागका एक अधिकारीले यो कदम मध्यपूर्वमा विकसित हुँदै गरेको तनावको प्रतिक्रियामा गरिएको बताएका छन् ।
बुधबार एक अमेरिकी विदेश विभागका अधिकारीले बीबीसीलाई भनेका थिए, “हामी हाम्रा सबै दूतावासहरूमा उपयुक्त कर्मचारी तैनाथीको लगातार मूल्यांकन गरिरहेका छौँ । हाम्रो नयाँ विश्लेषणको आधारमा इराकमा हाम्रो मिसनको उपस्थिति घटाउने निर्णय गरेका छौँ ।”
यो कदम अमेरिका र इरानबीच हालै भएको हप्तौँको वार्तापछि आएको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले तेहरानले आणविक हतियार विकास रोक्ने सम्झौतामा पुग्न आशा व्यक्त गरेका थिए ।
बुधबार ट्रम्पले इरानले युरेनियम विकास कार्य रोक्ने बारेमा उनी अब कम आशावादी भएको बताएका छन् ।
यो हप्ताको सुरुमा उनले इजरायलका प्रधानमन्त्रीसँग ४० मिनेट लामो टेलिफोन वार्ता गरेका थिए । जुन तनावपूर्ण भएको बताइएको थियो । इजरायलले लामो समयदेखि कूटनीतिकभन्दा सैन्य दृष्टिकोण अपनाउन आग्रह गर्दै आएको छ ।
बुधबार साँझ मध्यपूर्वका विभिन्न भागहरूबाट कर्मचारीहरू फिर्ता बोलाउने निर्णयको बारेमा सोधिएको प्रश्नमा ट्रम्पले भने, “उनीहरूलाई किन सारियो भने त्यो खतरनाक ठाउँ हुनसक्छ र हामीले निकाल्ने सूचना दिसकेका छौँ ।” बीबीसी