site stats
बाह्रखरी :: Baahrakhari
देश
एटीएफका दुई सदस्य पुर्पक्षका लागि थुनामा, सन्तोष राजावादीसँग एक लाख धरौटी माग

काठमाडौं । काठमाडौं जिल्ला अदालतले तीनकुने घटनाको मुद्दामा करिब दुई महिनापछि थुनछेक आदेश जारी गरेको छ । बिहीबार राति अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले दुर्गा प्रसाईंसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

प्रसाईंसहित सरोज गौतम, गोकर्ण शाही, दण्डपाणी रेग्मी, सुशील बराल, केशव बस्नेत, कुमार तामाङलाई थुनामा पठाउन आदेश भएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगसहितका कसुरमा सजाय दाबी गरिएको थियो । ज्यान मार्ने उद्योग कसुर नै दाबी गरिएका सन्तोषकुमार सिलवाल (सन्तोष राजावादी) भीम भनिने हेमराज थारूलाई जनही एक–एक लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश भएको छ ।

सन्तोष राजावादी एनी टायम फोर्स (एटीएफ)का प्रमुख हुन् । पुर्पक्षका लागि थुनामा पुगेका सरोज गौतम र गोकर्ण शाही सन्तोषकै एटीएसफ फोर्सका सदस्य हुन् ।

शाही र गौतमले तीनकुनेस्थित एक घरमा आगो लगाउँदै गर्दाको भिडियो नै सार्वजनिक भएको थियो । सोही घरमा लागेको आगजनीमा परेर पत्रकार सुरेश रजकको मृत्यु भएको थियो । 

प्रतिवादी बनाइएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद धवलशमशेर राणा भने अदालतमा हाजिर नभएकाले उनीहरूलाई फरार प्रतिवादी बनाइएको छ । उनीहरू अदालत हाजिर भएपछि छट्टै थुनछेक बहस हुनेछ ।

गएको चैत १५ गते राजावादीले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शनका क्रममा पत्रकार रजकसहित सविन महर्जनको ज्यान गएको थियो । यस्तै, दर्जनौँ निजी घरमा आगजनी र तोडफोड भएको थियो ।

प्रदर्शनमा अराजक गतिविधि गर्ने ६१ जनाविरुद्ध जेठ ११ मा सरकारी वकिल कार्यालयले मुद्दा दायर गरेको थियो । प्रर्दशनका मुख्य योजनाकार मेडिकल व्यवसायी प्रसाईं थिए । सरकारी वकिल कार्यालयले प्रसाईंलाई नै मुख्य योजनाकार बनाएर मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ ३०, २०८२  १३:२१
प्रतिक्रिया दिनुहोस्