
काठमाडौं । भिजिट भिसामा अनियमितता प्रकरणमा उत्पन्न संसद् अवरोधबीच सत्तारुढ कांग्रेस र विपक्षी दल भेटवार्ता बाक्लिएको छ । तर, समस्याको गाँठो फुकेको छैन ।
कांग्रेसका दुई बैठकपछि प्रचण्डले गृहमन्त्रीमाथि लागेको आरोप राजीनामा गर्नुपर्ने तहको नभएको धारणा सार्वजनिक गरे ।
“प्रतिपक्षमा पनि एउटा पक्ष राजीनामा नदिएसम्म हुँदैन भन्ने थियो । तर, व्यक्तिको राजीनामाभन्दा छानबिन महत्वपूर्ण कुरा हो भन्ने हाम्रो थियो,” प्रचण्डले भनेका थिए, “हामी एकै ठाउँ आइसक्यौँ ।”
प्रचण्डले भनेजस्तो रास्वपा छानबिनको सहमतिमा आइसकेको छैन ।
तर, प्रचण्ड गृहमन्त्रीमाथि उठाइएका प्रश्नको विवादमा कांग्रेस सभापति र कांग्रेस नेतृत्वसँग ‘हिमचिम’ बढाउने माध्यमका रुपमा उपयोग गरिरहेको केही नेताहरुको टिप्पणी छ । यसको संकेत प्रचण्डका बोलीमा पनि देखिन्छ ।
“सत्तापक्षभित्र पनि एउटा पेलेर जाउँ भन्ने र अर्को विपक्षीलाई सम्बोधन गरौँ भन्ने छ,” प्रचण्डले भनेका थिए, “अहिले नाम नभनौँ ।”
प्रचण्डले कांग्रेस सभापतिदेखि दोस्रो तहका नेताहरू पूर्णबहादुर खड्का, ज्ञानेन्द्रबहादुर कार्की, श्याम घिमिरेसहितका नेताहरूसँग नियमित जस्तो छलफल गरिरहेका छन् । तर, सत्ताकोे नेतृत्वकर्ता एमालेसँग त्यस्तो वार्ता चलेको देखिँदैन । प्रचण्ड कोप्रति नरम र कोप्रति गरम छन् भन्ने प्रस्ट देखिन्छ ।
कांग्रेस र माओवादीबीचको बाक्लिदो ‘इन्गेजमेन्ट’ पनि एमालेले पनि नियालिरहेको छ । तर, उसले कांग्रेसलाई शंकाको सुविधा दिनु उचित हुने ठानिरहेको छ । माओवादी केन्द्रले सातबुँदे सहमति सार्वजनिक भएकै दिनदेखि थालेको अभ्यास सार्थक नहुने विश्वास एमाले नेताहरू व्यक्त गरिरहेका छन् ।
“सात बुँदे सहमतिको पहलकर्ता नेपाली कांग्रेस हो । हामीले विगतमा राखेको प्रस्ताव कांग्रेसले नमानेपछि हामी माओवादीसँग सरकारमै थियौँ,” एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले बाह्रखरीसँग भने, “०८१ असार १७ मा सात बुँदे सहमति सार्वजनिक भएदेखि प्रचण्डजीले कांग्रेस–एमाले गठबन्धन फुटाउन अनेक प्रयत्न गरिसक्नुभएको छ । तर, उहाँको कुनै जोर चलिरहेको छैन ।”
गृहमन्त्रीको विवादमा प्रचण्डसहित विपक्षीले कांग्रेससँग बढाइरहेको छलफललाई एमालेले धेरै शंका नगरी हेरिरहेको उनको भनाइ छ । धेरै पटकका प्रचण्डका प्रयास असफल भइसकेकाले पछिल्लो प्रयास पनि असफल नै हुने उनको विश्वास छ ।
“उहाँले सातबुँदे सार्वजनिक भएपछि राष्ट्रपतिलाई संविधानको धारा ७६(३)को सरकार बनाउन दबाब दिनुभयो । त्यहाँ असफल हुनुभयो । चीनसँगको बीआरआई सम्झौतामा टुटाउन सकिन्छ कि भन्ने प्रयत्न पनि असफल भयो,” ज्ञवालीले भने, “त्यसयता उहाँ कांग्रेसले संविधानको ७६ (३) को सरकार बनाओस् हामी बाहिरै बसेर समर्थन जनाउछौँ भन्दै आउनुभएको छ ।”
पछिल्लोपटक गलाउन सकिन्छ कि भनी प्रचण्डले पनि सुरुमा गृहमन्त्रीको राजीनामा भने पनि सकिँदैन भन्ने भएपछि ‘ब्याक’ भइसकेको उनको बुझाइ छ ।
“सुरुमा गलाउन सकिन्छ कि भनी राजीनामा भन्नुभएको थियो । सकिँदैन भन्ने भएपछि २३ गते यता उहाँ ‘ब्याक’ हुनुभएको छ,” ज्ञवाली भन्छन्, “कांग्रेस र माओवादीबीच सहमतिका लागि बनेको दुईबुँदे मस्यौदामा एमाले सहमत छ । अब कांग्रेसलाई अविश्वास वा शंका गर्ने पक्षमा हामी छैनौँ ।”
कांग्रेसबाट वार्तामा सहभागी उपसभापति पूर्णबहादुर खड्का माओवादी र कांग्रेसबीच मात्र केही बैठक भए पनि पछिल्ला बैठक संयुक्त रुपमा अघि बढेको बताउँछन् । उनी कांग्रेस र एमालेबीच अविश्वास पनि नरहेको दाबी गर्छन् ।
“हामी संयुक्त रुपमा माओवादीसँग छलफल गरिरहेका छौं । गृहमन्त्रीका विषयमा उठिरहेका प्रश्नमा हामी तीनवटै दल करिब एकठाउँ भइसकेका छौं,” खड्काले बाह्रखरीसँग भने, “सरकारमा रहेका कांग्रेस र एमालेबीचमा कुनै अविश्वास, मतभेद छैन ।”
त्यसबाहेक सरकार परिवर्तनको मुद्दा वार्ताको विषय नभएको दाबी उनको छ । तर, माओवादी केन्द्र त सत्ता परिवर्तनकै मुद्दा बोकिरहेको छ नि ? भन्ने प्रश्नमा उनले प्रस्ट जवाफ दिएनन् ।
“होइन, होइन माओवादीसँग हामी सत्ता सहकार्यका विषयमा छलफल गरिरहेका छैनौँ । हालका ताजा विषय र सदन संचालन गर्ने विषय मात्र वार्ताको विषय हुन् ।” तर, प्रचण्ड त घोषित रुपमै लागेको देखिन्छ नि भन्ने प्रश्नमा खड्काले भने, “हामीले त्यसो भनिरहेका छैनौँ । वार्ता पनि त्यस्ता विषयमा केन्द्रित भएको छैन ।”
सत्तासँगै रणनीतिक स्वार्थ
एमालेको उपमहासचिव प्रदीप ज्ञवाली कांग्रेस–एमाले सहकार्यका लागि कांग्रेसका सुरुवातकर्ता डा. शेखर कोइरालालाई मान्छन् ।
केन्द्रमा कांग्रेस–माओवादी गठबन्धन चलिरहँदा कोसी प्रदेशमा कांग्रेस एमाले सहकार्य गरेर त्यसकै पक्षमा वकालत गरिरहेका डा. शेखर कोइराला पार्टीभित्रको शक्ति सन्तुलनका लागि सरकारकाविरुद्ध कडा अलोचकका रुपमा देखिएको बुझाइमा छन् ।
“कांग्रेसको नेतृत्वले माओवादीसँगको सहकार्यको विकल्प सोच्न तयार नभएका बेला डा. शेखरले कांग्रेस एमाले सहकार्य र संविधान संशोधनको विषय उठाउनुभएको हो । पछि गगन थापा त्यही मुद्दामा आइपुग्नुभएको हो,” ज्ञवालीले भने, “उहाँहरू नै सरकारका विषयमा टिप्पणी गर्दै हुनुहुन्छ । हामीले यसलाई कांग्रेसको महाधिवेशनको पूर्वतयारीका रुपमा बुझिरहेका छौँ ।”