site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
SkywellSkywell

काठमाडौं । बुद्धनगरस्थित वैदेशिक रोजगार विभागको कार्यालयमा वैदेशिक रोजगारीका क्रममा ठगिएका युवाको दैनिकजसो भीड नै लाग्ने गर्छ । बिहीबार दिउँसो पनि कार्यालय परिसरमा बाक्लै चहलपहल थियो । 

“अब सरकारी वकिलको कार्यालय बबरमहल जानुपर्छ,” विभागको प्राङ्गणमा भेटिएका केही युवा आपसमा सल्लाह गर्दै थिए । पीडित युवाहरुलाई विभागले सरकारी वकिलको कार्यालय जान सुझाएको रहेछ । दैनिक रुपमा ठगी तथा समस्यामा परेका मुद्दाहरु आउने विभागमा उनीहरुको मुद्दा नयाँ थिएन, बरु सुल्झिन नसकेको विषय बनेको थियो । 
बाह्रखरीसँगको कुराकानीमा ठगिएका युवाले आफ्नो पीडा सुनाए । 

“कोरियाबाट फर्केपछि म आफ्नै व्यवसाय गरेर बसिरहेको थिएँ । काठमाडौंमा व्यापार गरी बस्ने एकजना चिनजानको साथीले ‘डा. रामवरण यादवको पीएको भाइ डा. धनपति महतो भन्नेले राम्रो देशको लागि भिषा लगाइदिन सक्छु भनेको छ, जाने हो ?’ भनेर सोधेपछि मैले साँच्चै लैजान सक्ने रहेछ भने इटाली जानुपरो भन्ने मनसाय बनाएँ र धनपतिको बारेमा बुझ्न थालेँ,” धरानका गोपाल लिम्बूले पृष्ठभूमि बताए, “मध्यस्तकर्ता मैले चिनेकै दाइकै सालो हुन् । उनलाई पनि धनपतिको वास्तविकता थाहा रहेनछ । उनी पनि ठगिए धनपतिबाट हामीजस्तै । धनपतिले मबाट मात्रै पहिले १६ लाख ६५ हजार र पछि २ लाख ४० हजार गरी १९ लाख ५ हजार त पैसा नै लियो । त्योबाहेक अरु व्यक्तिगत खर्चको त हिसाब नै गरेको छैन ।” पैसा लिएपछि महतो आफूहरुलाई दिल्लीमै अलपत्र पारी भागेको उनले बताए । 

KFC Island Ad
NIC Asia

गोपालका अनुसार महतोले अरु धेरै साथीलाई पनि त्यसैगरी ठगेका छन् । आफूसँगै ३ महिना दिल्लीमा अलपत्र पर्नेमा दाङ घोराहीकी अञ्जु डाँगी तथा उनको ठूलो ममीको छोरी मञ्जु पनि रहेको गोपालले बताए । रातो पासपोर्ट भएको, ३९ मुलुक हेर्ने, इन्डियामा बसेर काम गर्ने धनपतिले अस्ट्रेलियाको लागि काम गरिदिने भन्दै चिनजानका मान्छेहरुले सामाजिक सञ्जालमा म्यासेज पठाएपछि अञ्जु र मञ्जु पनि प्रलोभनमा परेका रहेछन् । 

अञ्जु र उनकी दिदी कागजपत्र र पैसा बोकेर दाङकै अमित कौशडियासँग भारतको पहाडगन्ज पुगेछन् र त्यहाँ धनपति महतोलाई नबिल बैंकको खातामा तीन लाख रुपैयाँ जम्मा गरी लगत्तै अर्को तीन लाख ८० हजार रुपैयाँ थपिदिएका रहेछन् । केही दिनमा भिसा आएको खबर आएपछि अञ्जुले दिल्ली गएर १७ लाख रुपैयाँ धनपतिको हातमा राखिदिएकी रहिछन् । गोपालले सुनाए, “यसरी दिल्लीको होटलमा राखेर दलाल महतोले बारम्बार भिसा आउँदैछ भन्दै नाटक गर्न थाल्यो । होटलमा बसेको पनि महिनौं पुग्ने भयो । साथमा भएको पैसा पनि सकियो । धनपति हामीबाट सम्पर्कविहीन भएपछि खानको लागि केटीहरुले लगाएका गहनासमेत बेच्नुपर्यो ।” 

गाइडको काम गर्दै आएका सोलुखुम्बुका आङफुरी शेर्पालाई पनि एकजना आफन्तले विदेश लैजाने मान्छे छ भनेर सुनाएका रहेछन् । ती आफन्त र गाउँकै पाँच जना शेर्पाले कोरिया जान भनेर महतोलाई १२–१२ लाख रुपैयाँ बुझाएछन् । गोपाल लिम्बूसँगै विभागको कार्यालयमा भेटिएका आङफुरीले भने, “ठगिनेमध्ये हामी तेश्रो गु्रपका रहेछौँ । हाम्रो लटमा चाहिँ कोरियाको लागि ५ जना, जर्जियाको लागि २ जना र रसियाको लागि १ जना थियांै । अरु पनि धेरैलाई ठगेको रहेछ उसले । कोरियामा मेरो कम्पनी छ, म त्यहाँ काममा लगाइदिन्छु, म यूएनको मान्छे हो, ढुक्क भए हुन्छ भन्यो । एक महिना दिल्लीमा भिसाकै लागि बसियो, काम भएन ।”

पीडतहरुका अनुसार नक्कली डाक्टर धनपति महतोबाट यसरी ठगिनेमा अन्य धेरै युवा पनि छन् । ललितपुर चापागाउँका विकास बजगाईंले क्यानडाका लागि २४ लाख,  झापा अर्जुनधाराका नेत्र कडरियाले क्यानडाकै लागि १५ लाख, झापा तोपगाछीका छत्रबहादुर भट्टराईले नर्वेका लागि १० लाख, बागलुङकी अञ्जला राजभण्डारीले पोर्चुगलका लागि १० लाख, प्युठानका केशव सुनुवारले पोर्चुगलका लागि १० लाख, लमहीका प्रवीन भुसालले अस्ट्रेलियाका लागि १२ लाख, लमहीकै विष्णु सोनीले पोर्चुगलका लागि १० लाख, लमहीकै विक्रम कौशडियाले अस्ट्रेलियाका लागि १५ लाख, गुल्मी रेसुंगाका गोपाल विष्टले न्युजिल्यान्डका लागि ९ लाख र बुटवलका दलवीर यादवले अस्ट्रेलियाका लागि १५ लाख रुपैयाँ महतोलाई बुझाएको पीडित लिम्बूले बताए । 

को हुन् करौडौं ठग्ने धनपति ? 

आफूलाई डाक्टर, पूर्वराष्ट्रपति डा. रामवरण यादवको भाइ, प्रहरीको एसपी, संयुक्त राष्ट्रसंघको ३९ मुलुक हेर्ने प्रतिनिधि, रातो पासपोर्टवाला बताउने धनपति महतोको वास्तविक नाम शत्रुधन महतो र ठेगाना धनुषा नकटाजिझा हो । 

ठगी धन्दामा उनले आफूलाई अनेकौं नामबाट चिनाउने गरेको पीडितहरुको भनाइ छ । उनीबाट न्यूजिल्याण्ड जाने प्रलोभनमा ठगिएका निर्मल सिलवालले भने, “उसको परिचयको त कुनै सीमा नै थिएन । अझ आफ्नो श्रीमती रामबहादुर थापा ‘बादल’को साली हो भन्थ्यो । ठगिएपछि वास्तविकता बुझ्न म उसको घरमै गएको थिएँ । सबै कुरा असत्य रहेछ ।” धेरै व्यक्तिसँग गरी करोडौं ठगी गरेका महतोको परिवारमा भने बिचल्ली रहेको सिलवालले सुनाए । उनले भने, “त्यत्रो पैसा कहाँ लग्यो, कसैलाई जानकारी छैन । परिवारमा पनि दिएको रहेनछ । एकपाखे खरको छानो भएको घर रहेछ, बाबुआमा तथा श्रीमती र छोरालाई छाक गुजार्नै मुस्किल देखियो ।” 

महतोले कोरिया, जापान, युरोपियन मुलुक, अमेरिका, अस्ट्रेलिया, मकाउलगायत मुलुकमा आफ्नै कम्पनी तथा होटल रहेको भन्दै ठग्ने गरेको ठगीमा परेकाहरुले बताए । धनपतिले दिल्लीमा भिसा लगाउने अफिस भीएफएक्स ग्लोबल, एयरपोर्ट, होटल तथा प्रहरीसम्म सेटिङ मिलाएको बताउने गर्थे । 

पीडित गोपालका अनुसार धनपतिले तत्कालीन राष्ट्रपति रामवरण यादवकी छोरीसँग आफूले राखी बाँध्ने गरेको बताउँथे । “राष्ट्रपतिको छोरी अनु राखी बाँधिदिने दिदी हुनुहुन्छ भन्थ्यो, फोन गरेको जस्तै पनि गथ्र्यो । यूएनको हेल्थ डिपार्टको आइडी कार्ड बनाएको रहेछ, यूएनमा काम गर्ने डाक्टर हुँ भन्थ्यो,” गोपालले भने ।

यसरी समातिए धनपति

“गएको मे ११ तारिखदेखि धनपति पूरै बेपत्ता भए । यसअघि ठगिएका अर्का साथी गोपाल लिम्बुले प्रहरीमा उजुरी गरेपछि पक्राउ पूर्जी जारी भइसकेको रहेछ । हामीले पक्राउ पूर्जी फेसबुकमार्फत भेट्टाउन सफल भयौं । मे १५ मा दिल्ली पहाडगन्जस्थित न्यु फ्रेन्च कोलोनीको गेटैमा रहेको कफी सपबाट धनपतिलाई समात्न सफल भयौं,” सोलुका आङफुरी शेर्पाले भने ।  

उनीहरुले धनपतिलाई नेपालगन्ज हुँदै काठमाडौं ल्याएर महानगरीय प्रहरी प्रभाग हनुमान ढोकामा बुझाएका रहेछन् । शेर्पाले भने, “समातेर नेपाल ल्याउने क्रममा बीचबीचमा उसले भारतीय प्रहरीमा उल्टै हामीमाथि अपहरणको केस लगाउन कोसिस पनि गर्यो तर, हामीले प्रहरीले जारी गरेको पक्राउ पूर्जी र उसको असली नागरिकता देखाउँदै नेपालसम्म ल्यायौं ।” नेपालगन्ज प्रहरीले सहयोग गरेपछि ठगलाई काठमाडौं ल्याउन धेरै सहज भएको उनले सुनाए ।

धनपति अहिले थुनामा छन् । उनीमाथि परेका ठगीका विभिन्न मुद्दाहरुमा बेलाबेलामा सुनुवाइ भए पनि फैसला भने हुन बाँकी नै  छ । धनपतिलाई नेपालबाट सघाउने विजय सिंह र रामचन्द्र राय भने फरार रहेको पीडितले बताएका छन् । “ऋणधन गरेर बुझाएको पैसा फिर्ता नपाउँदा चिन्तित छौं । हामीले ठगलाई समाएर सरकारलाई बुझाएका छौ, अब न्यायपूर्ण फैसलाको पर्खाइमा छौं,” पीडित युवाले एकै स्वरमा भने ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, पुस २४, २०७४  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro