site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
नेपाल चेम्बर र जिम्बावेबीच व्यापार सहजीकरण र लगानी अभिवृद्धिका लागि छलफल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जिम्बावेबीच व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे मंगलबार छलफल भएको छ । काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल र नेपालका लागि जिम्बावेका राजदूत स्टेला न्होकोमोबीच व्यापार साझेदारी, लगानीको अवसर, जलवायु परिवर्तनविरुद्धको कदमलगायत विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो ।

राजदूत न्होकोमोसँग चेम्बर अध्यक्ष अग्रवालले भने, “नेपाल र जिम्बावेबीच कूटनीतिक सम्बन्ध स्थापित भएको ४ दशक पुग्दै छ, असंलग्न नीति, जलवायु परिवर्तनजस्ता महत्त्वपूर्ण विषयमा अन्तराष्ट्रिय मञ्चहरूमा दुवै देशले सहकार्य गर्दै आएका छौँ । अब आर्थिक क्षेत्रमा पनि सहकार्य गरेर अगाडि बढ्नुपर्दछ ।”

Argakhachi Cement Island Ad

अध्यक्ष अग्रवालले नेपालमै आवासीय राजदूतावास खोल्नका लागि पहल गर्न समेत राजदूत न्होकोमोेसँग प्रस्ताव गरे । दुवै देशमा आवासीय राजदूतावास खोलेर व्यापार सहजीकरण, जलवायु परिवर्तनविरुद्ध सहकार्य, लगानी अभिवृद्धि तथा पर्यटन क्षेत्रमा सहकार्य गर्नुपर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । 

दुईपक्षीय सहमति गरेर आर्थिक लाभ लिनुपर्ने उनको भनाइ छ । नेपाल, जिम्बावेबीचको निजी क्षेत्रबीच बीटुबी भेटवार्ता गर्नुपर्ने अध्यक्ष अग्रवालको प्रस्ताव छ । 

नेपालमा लगानीको वातावरण सहज रहेको र प्रतिफल सुनिश्चिता रहेकोमा अध्यक्ष अग्रवालले जोड दिए । उनले भने, “नेपालले अन्तराष्ट्रिय मान्यताप्राप्त संस्थाबाट मुलुकको सार्वभौम क्रेडिट रेटिङ गराउँदा दक्षिण एसियामा नै भारतपछि दोस्रो स्थानमा रेटिङ बीबी माइनस प्राप्त गर्नु हामी निजी क्षेत्रका लागि सुखद् कुरा हो ।” 

उनले हाइड्रोपावर, पर्यटनलगायत क्षेत्रका लगानीका लागि पहल गर्न राजदूत न्होकोमोलाई प्रस्ताव गरे । आगामी वर्षको बजेटमा सहज व्यवस्था गरिएकाले वैदेशिक लगानीलाई धेरै नै सहजता प्राप्त गरेको अध्यक्ष अग्रवालले बताए । 

चेम्बर पदाधिकारीसँगको भेटवार्ताका क्रममा राजदूत न्होकोमोले नेपालमा आवासीय राजदूतावास खोल्नुपर्ने विषयमा आफू गम्भीर रहेको र यसका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् । 

उनले नेपालको जलविद्युत् क्षेत्रमा लगानीको सम्भावना रहेको र त्यसका लागि जिम्बावेका निजी क्षेत्रसँग पहल गर्ने समेत बताइन् । नेपालको सगरमाथाले आफूलाई लोभ्याएको भन्दै उनले पर्यटन क्षेत्रमा लगानीको अथाह सम्भावना रहेकामा जोड दिइन् । दुई देशबीच आर्थिक सहकार्य र साझेदारीका लागि आफूले पहल गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, जेठ २०, २०८२  १७:५४
प्रतिक्रिया दिनुहोस्