
काठमाडौं । यो वर्ष औसत मितिभन्दा १५ दिन छिटो मनसुन नेपाल भित्रिएको छ । मनसुन बिहीबार (मे २९) राति नेपाल प्रवेश गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन प्रवेश गर्ने औसत मिति जुन १३ हो । तर, यो हालसम्म मनसुन भित्रिएको आधारमा तयार पारिएको औसत मिति मात्र हो ।
सन् १९९८ र २०१५ मा मात्र जुन १३ मै मनसुन नेपाल प्रवेश गरेको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ ।
विभागले तथ्यांक राख्न थालेयता यसपालि इतिहासमै छिटो मनसुन नेपाल प्रवेश गरेको छ । सन् १९९६ मा मनसुन प्रणाली मे ३१ मा नेपाल भित्रिएको थियो । त्यो यसअघिको छिटो मिति थियो ।
सन् १९८२ मा जुन २७ मा मनसुन नेपाल प्रवेश गरेको थियो । उक्त वर्ष सबैभन्दा ढिलो मनसुन भित्रिएको विभागको तथ्यांक छ । सन् १९६८ देखि विभागले नेपालमा मनसुन प्रवेश र बहिर्गमनको तथ्यांक राखेको छ ।
देशभर मनसुन फैलन भने केही दिन लाग्छ । “नेपालका अन्य भूभागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ । हाल देशको बाँकी भूभागमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत् रहेको देखिन्छ,” महाशाखाले भनेको छ ।
यो वर्ष जेठ १८ देखि असोज १४ गतेसम्मका चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन छ । तापक्रम पनि सरदरभन्दा बढी हुने विभागको अनुमान छ ।
नेपालमा मनसुन प्रवेशको तथ्यांक हेर्नोस्–