
काठमाडौं । सरकारले प्रविधिमा आधारित भर्चुअल बैंक सञ्चालनमा ल्याउन लागेको छ । आगामी आर्थिक वर्षको बजेटमा सरकारले दुर्गम क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार गरी ग्रामीण अर्थतन्त्रको विकास गर्न नियो बैंक स्थापना गर्न लागेको हो । बजेटमा डिजिटल, मोबाइल तथा शाखारहित बैंकिङ सेवा विस्तार गर्ने उल्लेख छ ।
आगामी आर्थिक वर्षमा नियो बैंक स्थापनाको प्रक्रिया अघि बढ्ने अर्थ मन्त्रालयका प्रवक्ता तथा सहसचिव श्यामप्रसाद भण्डारीले बताए । नियो बैंक शाखारहित भर्चुअल बैंक हुने उनले जानकारी दिए । सरकारले बजेटमा योजना ल्याए पनि कार्यान्वयन गर्ने निकाय नेपाल राष्ट्र बैंक भएको भण्डारीले स्पष्ट पारेका छन् ।
यता राष्ट्र बैंक पनि भर्चुअल नियो बैंक सञ्चालनका लागि तयारी गरिरहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमा ल्याएकाले यसको प्रक्रिया अघि बढ्ने राष्ट्र बैंकका कार्याकारी निर्देशक तथा प्रवक्ता रामु पौडेलले बाह्रखरीलाई बताए ।
उनका अनुसार नियो बैंक सञ्चालनका लागि पहिला कानुनी संरचना बनाउनु पर्नेछ । बैंक तथा वित्तीय संस्था विधेयक (बाफिया)मा नियो बैंक सञ्चालनको व्यवस्था गरिएको छ । बाफिया पारित भएपछि केन्द्रीय बैंकले भर्चुअल बैंकको काम अघि बढाउने उनले सुनाए ।
नियो बैंक सञ्चालन निजी क्षेत्रबाट हुने भएको छ । सञ्चालनका लागि राष्ट्र बैंकले अनुमतिपत्र (लाइसेन्स) दिनेछ । नियो बैंक स्थापनाका लागि राष्ट्र बैंकले निजी क्षेत्रबाट प्रस्ताव माग्नेछ । परेको प्रस्तावको विज्ञ समूहले अध्ययन गरेर बैंक सञ्चालन लाइसेन्स दिने बताइएको छ ।
राष्ट्र बैंकले अहिलेको भर्चुअल बैंकको खाका तयार पारेको छैन । धेरै मुलुकमा भर्चुअल बैंक सञ्चालमा आएका छन् । नियो एक डिजिटल प्लेटफर्ममा आधारित शाखारहित बैंक हो । नियो बैंकमा शाखाका साथै कर्मचारीहरू पनि हुँदैनन् । शाखा र कर्मचारी नभए पनि नियोले मोबाइल एप र वेबसाइटबाट वाणिज्य बैंकहरूको जस्तै बैंकिङ सेवाहरू दिने बताइएको छ ।
बैंकमा खाता खोल्न, बिल भुक्तानी, कर्जा लिनेलगायत सबै काम भर्चुअल हुनेछ । नेपालमा पनि केही वाणिज्य बैंकले डिजिटल बैंकिङमा लगानी बढाइरहेका छन् । ई–सेवा, फोनपे र खल्तीलगायत डिजिटल वालेटहरूले डिजिटल बैंक सेवा दिइरहेका छन् ।