
काठमाडौं । पछिल्ला वर्षहरूमा नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायतामा निरन्तर कमी आएको छ । अर्थ मन्त्रालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो आठ महिनामा कुल ७४ अर्ब ६३ करोड वैदेशिक सहायता प्राप्त भएको छ ।
२०८१ साउन १ गतेदेखि फागुन मसान्तसम्म प्राप्त वैदेशिक सहायतामा अनुदान नौ अर्ब १६ करोड रुपैयाँ र ऋण ६५ अर्ब ७४ करोड रुपैयाँ रहेको छ ।
गत आर्थिक वर्ष २०८०/८१ मा संघीय सञ्चित कोषमा एक खर्ब ३७ अर्ब २८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त भएको थियो । उक्त वर्ष अनुदान २४ अर्ब एक करोड रुपैयाँ र ऋण सहायता एक खर्ब १३ अर्ब २७ करोड रुपैयाँ प्राप्त भएको थियो ।
गत आर्थिक वर्ष प्राप्त कुल वैदेशिक सहायतामध्ये ऋण र अनुदानको अंश क्रमशः ८२.५ प्रतिशत र १७.५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ देखि नेपालले नेपालले प्राप्त गर्दै आएको वैदेशिक सहायताको ओरालो यात्रा सुरू भएको हो ।
अर्थ मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालले एक खर्ब ५७ अर्ब पाँच करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मो यो रकम दुई खर्ब नौ अर्ब ६३ करोड रुपैयाँ पुगेको थियो ।
त्यसपछिका वर्षहरुमा वैदेशिक सहायता घट्दै गएको देखिन्छ । आर्थिक वर्ष २०७८/७९ मा नेपालले एक खर्ब ६० अर्ब नौ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको थियो ।
आर्थिक वर्ष २०७९/८० यो रकम अझ घटेर एक खर्ब ४६ अर्ब ६ करोड रुपैयाँ पुगेको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाउँछ । आर्थिक वर्ष २०८०/८१ मा यो रकम अझ कट्यो । सो वर्ष नेपालले एक खर्ब ३७ अर्ब ४८ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको थियो ।
बितेका साढे पाँचवर्षमा अर्थात् आर्थिक वर्ष २०७६/७७ देखि २०८१/८२ को फागुन मसान्तसम्म नेपालले कुल आठ खर्ब ८४ अर्ब ९४ करोड रुपैयाँ वैदेशिक सहायता प्राप्त गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वैदेशिक सहायता प्राप्ति २.४ प्रतिशत रहेको छ ।
कुल गार्हस्थ्य उत्पादनको अनुपातमा वैदेशिक सहायता प्राप्ति आर्थिक वर्ष २०७६/७७ मा चार प्रतिशत, २०७७/७८ मा ४.८ प्रतिशत, २०७८/७९ मा ३.२ प्रतिशत, २०७९/८० मा २.७ प्रतिशत रहेको थियो ।
“विगतमा वार्षिक बजेटको ठूलो हिस्सा वैदेशिक सहायताले ओगट्ने गरेकोमा आन्तरिक स्रोत परिचालन क्षमतामा वृद्धि हुँदै गएसँगै यस्तो हिस्सा क्रमशः घट्दै गएको छ,” अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको ‘आर्थिक सर्वेक्षण २०८१/८२’ मा भनिएको छ, “आठौं योजना अवधिमा कुल बजेटमा वैदेशिक सहायताको हिस्सा वार्षिक औसत ३९.७ प्रतिशत रहेकोमा पन्धौं योजना अवधिमा २०.१ प्रतिशतमा झरेको छ ।”
त्यसैगरी, वैदेशिक सहायता प्राप्ति र वैदेशिक सहायता उपयोग समेत घट्दै गएको छ । आठौं योजना अवधिमा कुल प्राप्ति (राजस्व, अनुदान र ऋणसहितको) मा वैदेशिक सहायता प्राप्तिको हिस्सा वार्षिक औसत ३३.४ प्रतिशत रहेकोमा पन्ध्रौं योजना अवधिमा यस्तो हिस्सा १२.७ प्रतिशत रहेको छ ।
आठौं योजना अवधिमा वैदेशिक सहायता उपयोग कुल सरकारी खर्चको ३०.७ प्रतिशत रहेकोमा पन्ध्रौं योजनामा १२ प्रतिशत मात्र रहेको छ ।
“आन्तरिक स्रोत परिचालन अभिवृद्धि हुँदै गएसँगै वैदेशिक सहायता प्राप्ति र उपयोगको हिस्सा समेत घट्दै गएको हो । आन्तरिक स्रोत परिचालन क्रमशः बढ्दै गई वैदेशिक सहायतामाथिको उच्च निर्भरता क्रमशः कम हुँदै गएको छ,” आर्थिक सर्वेक्षणमा भनिएको छ ।
दशौं योजनादेखि तेहौं योजनाको अन्त्यसम्म वैदेशिक सहायता परिचालन र उपयोगमा वैदेशिक ऋणको दाँजोमा वैदेशिक अनुदानको हिस्सा बढी रहेकोमा त्यसपछिका योजना अवधिमा भने वैदेशिक ऋण परिचालन उच्च रहेको छ ।
दशौं योजनादेखि तेह्रौं योजना अवधिसम्मको बजेटमा समेत वैदेशिक ऋणभन्दा वैदेशिक अनुदान लक्ष्यको हिस्सा उच्च रहेको थियो ।