site stats
बाह्रखरी :: Baahrakhari
देश
इतिहासमै छिटो नेपाल भित्रियो मनसुन
फाइल तस्बिर ।

काठमाडौं । यो वर्षको मनसुन बिहीबार (जेठ १५) राति नेपाल प्रवेश गरेको छ । मनसुन पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका अधिकांश भूभागमा  विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“जसको फलस्वरूप कोसी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ,” महाशाखाले शुक्रबार (जेठ १६) दिउँसो जारी गरेको बुलेटिनमा उल्लेख छ ।

Argakhachi Cement Island Ad

यसपालि औसत मिति (जुन १३)भन्दा १५ दिनअगावै मनसुन नेपाल भित्रिएको छ । गत वर्ष जेठ २८ गते अर्थात् औसत मितिभन्दा तीन दिन छिटो (जुन १०) मनसुन नेपाल भित्रिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्न थालेयता यसपालि सबैभन्दा छिटो मनसुन नेपाल प्रवेश गरेको हो । यसअघिको छिटो मिति सन् १९९६ मा मे ३१ मा मनसुन नेपाल भित्रिएको थियो । सन् १९६८ देखि विभागले नेपालमा मनसुन प्रवेश र बहिर्गमनको तथ्यांक राखेको छ ।

सन् १९८२ मा जुन २७ मा मनसुन नेपाल भित्रिएको थियो । विभागको तथ्यांकानुसार, त्यो वर्ष सबैभन्दा ढिलो मनसुन भित्रिएको थियो । सन् २०२३ मा जुन १४ मा मनसुन नेपाल प्रवेश गरेको थियो ।

देशभर मनसुन फैलन भने केही दिन लाग्छ । “नेपालका अन्य भूभागहरूमा मनसुनको प्रभाव विस्तार हुन अझै केही समयमा लाग्ने देखिन्छ । हाल देशको बाँकी भूभागमा भने पश्चिमी वायु र स्थानीय वायुको प्रभाव यथावत् रहेको देखिन्छ,” महाशाखाले भनेको छ ।

यो वर्ष जेठ १८ देखि असोज १४ गतेसम्मका चार महिनाको मनसुन ऋतुमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने आकलन छ । तापक्रम पनि सरदरभन्दा बढी हुने विभागको अनुमान छ ।

adfssaf-1748600926.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२  १६:१३
प्रतिक्रिया दिनुहोस्