
काठमाडौं । नेपाली कांग्रेसमा संस्थापनइतर पक्षका नेता डा. शेखर केइराला र महामन्त्री गगन थापाबीच शुक्रबार संवादहीनता तोडिएको छ । २०८१ असारमा केपी शर्मा ओली नेतृत्वको सरकार बनेपछि पार्टीबाट मन्त्री सिफारिस गर्दा मतभेद भएपछि उनीहरूबीच भेटघाट बन्द भएको थियो ।
लगत्तै सरकार सञ्चालन उच्चस्तरीय समिति बनाउँदा दुई दलीय संयन्त्रमा महामन्त्री थापा परे । उक्त भूमिकासँगै थापा सभापति शेरबहादुर देउवासँग निकट देखिए । सरकारलाई गतिशील तुल्याउन गठबन्धन संयन्त्रमा थापा सक्रिय भएका बेला कोइराला भने गठबन्धनको औचित्यमा प्रश्न उठाइरहेका थिए ।
कोइराला पार्टीका कार्यक्रमहरूमा पुग्दा गठबन्धन तत्काल खारेज गर्नुपर्ने धारणा राख्थे । उता महामन्त्री थापा चाहिँँ स्थानीय तहका जनप्रतिनिधिसँगको भर्चुअल छलफलमा समेत स्थानीय सरकार संचालन संयन्त्रलाई चाँडो पूर्णता दिन आग्रह गरिरहेका हुन्थे ।
मुद्दामै उत्तर–दक्षिणमा उभिएका कोइराला र थापाबीच एकाएक शुक्रबार भेट भएको हो । नेताहरूबीच पार्टीको अनुशासन समितिका काम–कारबाही, क्रियाशील सदस्यता प्रगति, महाधिवेशन तालिका नबन्दा देखिएका अन्योलसहितका विषयमा छलफल भएको सहभागी एक नेताले बताए ।
त्यसबाहेक चैत मसान्तभित्र महाधिवेशन नगर्ने भातृ संस्था स्वतः विघटन हुने भनी गरेको निर्णय कार्यान्वयन नभएको विषय छलफल भएको थियो । केन्द्रीय समिति बैठकले महाधिवेशन नगरे भ्रातृ संस्था विघटन हुने निर्णय लिएको थियो ।
पार्टी अनुशासन समितिले गरिरहेको काम र आफ्ना पक्षकालाई लक्षित गरी भइरहेका कारबाहीका तयारीबारे पनि नेताहरूबीच छलफल भएको बैठकमा सहभागी नेताको भनाइ छ ।
कोइरालाको सचिवालयले छलफल सौहार्दपूर्ण भएको र यसले निरन्तरता पाउने विश्वास व्यक्त गरेको छ । मन्त्री बनाउने विषयमा केही विमति रहे पनि कोइराला र थापाबीच मनमुटाव नरहेको सचिवालयको भनाइ छ ।
“बीचमा भएका बैठकमा पनि डा. सा’बले खबर गरिरहनु भएकै हो । महामन्त्रीजी कहिले कहाँ त कहिले कहाँ भएर सहभागी हुनुभएको थिएन,” ती सदस्य भन्छन्, “भेटवार्ता नहुँदा सम्बन्ध बिग्रिएको जस्तो देखिए पनि त्यस्तो अवस्था छैन ।”
कोइराला र महामन्त्री थापाबीच एक वर्षभर सम्बन्ध सौहार्द्रपूर्ण रहेन । पार्टीको भ्रातृ संस्था राष्ट्रिय अपांग संघमा कोइराला र थापाकै समूहबीच अस्वस्थ प्रतिस्पर्धा भएको थियो । कोइराला पक्षले मत गणना बहिस्कार गरेको थियो । थापा पक्षका माधव चौलागाईं निर्वाचित भएका थिए ।
गठबन्धन सरकार सफल थापा बनाउन गठबन्धन संयन्त्रलाई सक्रिय पार्दै थिए । तर, गठबन्धनका सुझाव सरकारले नमानेपछि उनी बैठकमा जान छाडेका छन् । नेपाल विद्युत् प्राधिकरणको कार्यकरी निर्देशकबाट कुलमान घिसिङलाई नहटाउने समझदारी उल्टाएपछि थापा सरकारको आलोचनामा उत्रिएका थिए ।
सरकारले गर्नुपर्ने निर्णय नगर्ने र गर्नुनपर्ने निर्णयमा हतार गर्ने अभ्यास गरेको जिकिरसहित थापा बैठकमा गएका छैनन् । अझ गभर्नर नियुक्ति प्रक्रियामा महामन्त्री थापाले सार्वजनिक मञ्चबाटै टिप्पणी गरेका थिए । उनले ‘प्रधानमन्त्रीको शयन कक्षसम्म बिचौलिया पहुँच रहेको’ टिप्पणी गरेका थिए ।
त्यसपछि प्रधानमन्त्री ओलीले सार्वजनिक मञ्चबाटै प्रश्न उठाएका थिए, “मेरो बेडसम्म बिचौलियोका पहुँच छ भन्नेले पुष्टि गर्न सक्नु हुन्छ होला ?” कोइराला र थापाबीच शुक्रबार भेटे पनि टिम पुनर्जागृत हुनेमा नेताहरू ढुक्क छैनन् ।
लामो समय महामन्त्री थापा र कोइराला छुट्टाछुट्टै अभियानमा रहे । नेपाल विद्यार्थी संघ र नेपाल महिला संघमा थापाका निकटले संस्थापन पक्षसँग गरिरहेको सहकार्यसहितका विषयले दुई नेतालाई तत्काल सँगै हिँड्ने वातावरण नबन्ने कोइराला निकट एक केन्द्रीय सदस्यको भनाई छ ।
ती नेताले बाह्रखरीसँग भने, “तल्लो तहका नेता/कार्यकर्ता साथीहरूको सद्भाव सँगै हिँड्नु भन्ने नै छ । संसदीय दलमा उम्मेदवार बन्दाताकाको सहमतिमा पालना गर्नेगरी महामन्त्रीले विश्वासको वातावरण बनाउनुभयो भने सँगै अघि बढ्न सकिन्छ ।”