site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
मनसुन के हो ? कहाँ, कसरी बनेर आउँछ नेपालमा ?

काठमाडौं । औसतमा नेपालमा जुन १३ मा मनसुन भित्रिन्छ भने अक्टोबर २ मा बाहिरिन्छ । एकातिर मनसुन भित्रिएपछि हुने भारी वर्षाका कारण प्राकृतिक प्रकोपहरू निम्तिने गर्छन् । अर्कोतिर कृषिका लागि मनसुनी वर्षा अपरिहार्य पनि छ ।

मनसुन के हो ?
सामान्य शब्दमा मनसुन भनेको हावा वहने दिशाको अथवा हावाको दिशा परिवर्तन हुनु हो । यसरी दिशा परिवर्तन गरेर आएको हावा (मनसुन)ले भारी वर्षा गराउन वा सुक्खा पनि गर्न सक्छ ।

मनसुन सामान्यतया एसिया र दक्षिणपूर्वी एसियामा सम्बन्धित छ । तर, संयुक्त राज्य अमेरिका र अन्य उष्णकटिबन्धीय र उपोष्णकटिबन्धीय क्षेत्रमा पनि मनसुन देखा पर्छ ।

Dabur Nepal
NIC Asia

मनसुन शब्दको उत्पत्ति अरबिक भाषामा हावाको मौसम अर्थात् ‘मउसिम’बाट भएको हो । मनसुन हावाको दिशा परिवर्तन हो ।

यो के कारणले हुन्छ ?
ऋतु परिवर्तन भएसँगै जमिन र समुद्री तापक्रममा हुने फेरबदलले हावाको दिशा परिवर्तन हुन्छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले भारतीय उपमहाद्धीपमा प्रिमनसुनको अवधिको उच्च तापमानले न्यून चापीय क्षेत्र बनेको हुने र यहाँ बंगालको खाडीबाट मनसुनी हावा आउने बताइन् ।

गर्मीयामको समयमा पानीको सतह भन्दा छिटो जमिन तात्छ । मनसुनी हावा सधैँ चिसोबाट तातो ठाउँतिर वहन्छ । यसरी गर्मीयाममा जमिनबाट निस्कने तातो हावाले हावाको दिशा उल्टो हुने अवस्था सिर्जना गर्छ ।

मनसुन अगाडिको अवधिमा नेपालमाथि माथिल्लो वायुमण्डलमा हुने उच्च वेगको हावा विस्तारै उत्तरमा तिब्बती पठारतिर सर्ने र मनसुनले प्रवेश गर्ने मौसविद् कँडेलले बताइन् ।

मनसुनले पानी कसरी पार्छ ?
हिन्द महासागरको पानी वाष्पिकरण भएर अथवा वाफ बनेर हावामा मिसिन्छ । यसरी वाफसहितको हावा भारत, नेपाल, श्रीलंका र बंगलादेश लगायतका देशतर्फ वहन्छ । त्यहाँ पुगेपछि तातो हावा चिसिन्छ र पानी पार्छ ।

हिउँदयाममा फेरि हावाको दिशा परिवर्तन हुन्छ र मनसुन हिन्द महासागरतर्फ जान्छ । हिउँदे मनसुन नेपालमा खासै हुँदैन ।मौसमविद् कँडेलले भनिन्, “हिउँदे मनसुन भनेर नेपालको हकमा भन्दैनौं । दक्षिणी भारत र श्रीलंका आसपासमा हिउँदे मनसुन भन्ने चलन छ । हिउँदमा हामीसँग पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव हुन्छ ।”

मनसुन भनेको नै वर्षा होइन
मनसुन भन्ने बित्तिकै धेरै मानिसहरूले भारी वर्षा भनेर सोच्ने गर्छन् । तर, यो केवल हावाको दिशा परिवर्तन मात्रै भएकाले मनसुनले सुक्खा समेत गराउन सक्छ ।

“हावा जताबाट जता बहन्छ यसले त्यहाँको भएको कुरा बोक्छ । सुक्खा ठाउँबाट अयो भने सुख्खै हावा ल्याउँछ । जलवाष्प भएको ठाउँबाट त्यो पनि ल्याउँछ र बादल पनि ल्याउँछ,” मौसमविद् कँडेलले भनिन् ।

“नेपालको हकमा बंगालको खाडीबाट आउने हुँदा त्यहाँ जलवाष्पयुक्त हावा धेरै हुन्छ, मनसुनले त्यहाँबाट बादल पनि ल्याउँछ । त्यसैले बादलबाट पनि पानी पर्छ र जलवाष्पयुक्त हावा यहाँ पुगेर चिसिन्छ र त्यसरी पनि पानी पर्छ ।”

मनसुन अवधिभर यसरी बंगालको खाडीबाट नेपालतर्फ पानी पार्ने र नपार्ने दुवै किसिमको हावा आइरहन्छ । यस्तै न्युन चापीय रेखा जहाँ सर्‍यो त्यतैतिर मनसुनले वर्षा गराउने पनि उनले बताइन् ।

हिमालयतर्फ न्यून चापीय रेखा आएर नेपाल र भारततर्फ गयो भने त्यहाँ पानी पर्ने उनको भनाइ छ । त्यसैले मनसुन अवधिभर फरक–फरक ठाउँमा पानी पर्छ । “मनुसुन छिर्दा पानी पर्छ भन्ने सोचाइ पनि गलत हो । पानी नपर्न पनि सक्छ,” उनले भनिन् ।

के हो न्यून चापीय क्षेत्र ?
न्यून चापीय क्षेत्र (लोवर प्रेसर एरिया) भनेको हावाको तह पातलो भएको ठाउँ वा क्षेत्र हो । यस किसिमको हावा पातलो भएको ठाउँतिर बाहिरबाट आएको हावा जान्छ । त्यहाँ त्यो हावाले आफूसँगै ल्याएको वाफ चिसो बनाउँछ, बादल उत्पन्न गर्छ र पानी पार्छ ।

मनसुनी हावा र न्यून चापीय क्षेत्रबारे मौसमविद् कँडेलले भनिन्, “न्युन चापीय क्षेत्र जता छ मनसुनको हावा त्यता जाने हो । जहाँ हावाको प्रेसर ‘एयर प्रेसर’ कम छ त्यहाँ परिपूर्ति गर्नलाई त बाहिरबाट हावा जानु पर्छ ।”

त्यसैले न्यून चापीय क्षेत्र भनेको हावाको तह पातलो भएको क्षेत्र हो । त्यहाँ बाक्लो ठाउँबाट अथवा बाहिरबाट आएको हावा जान्छ । त्यो हावामा जलवाष्प छ भने त्यहाँ पानी पर्छ र सुक्खा हावा छ भने त्यहाँ सुक्खा हुन्छ ।

किन आवश्यक छ मनसुन ?
नेपाल, भारतसहित दक्षिणपूर्वी एसिया गर्मीयामको मनसुनमा निर्भर छ । खासगरी यहाँ कृषिका लागि मनसुन आवश्यक छ । कयौं ठाउँहरूमा सिँचाईको सुविधा उपलब्ध नहुँदा वर्षामै निर्भर हुनुपर्छ ।

मनसुन अवधिको वर्षाले कयौँ क्षेत्रमा वर्षभरीका लागि कृषि क्षेत्रको पानीको आवश्यकता पूर्तिसमेत गर्छ । विशेषगरी धान र चिया खेती, जम्मा गरेर राखेको पानीबाट उत्पादन हुने बिजुलीलगायतमा मनसुनी वर्षा आवश्यक छ ।

मनसुन कमजोर र ढिला भित्रिँदा यी क्षेत्रको कृषि उत्पादन र अन्य आर्थिक गतिविधिमा ठूलो क्षति हुने गरेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०८०  ०७:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro