
काठमाडौं । प्रभु हेली लिमिटेडले फ्रान्सको विश्वविख्यात वायुयान निर्माता कम्पनी एयरबसद्वारा निर्मित नयाँ हेलिकोप्टर थपेको छ । नेपालको हेलिकोप्टर सेवा क्षेत्रमा अग्रणी सेवा प्रदायकको रूपमा स्थापित प्रभु हेली लिमिटेडले कल साइन ९एन‑एएनटी रहेको एयरबसको एच१२५ हेलिकोप्टर थपेको हो ।
एयरबसको एच १२५ हेलिकोप्टर दुर्गम तथा उच्च भूभागमा सुरक्षित, भरपर्दो र प्रभावकारी सेवा पुर्याउन उत्कृष्ट भएकाले सो हेलिकोप्टर खरिद गरिएको प्रभु हेली लिमिटेडका अध्यक्ष सुभाष अमात्यले जानकारी दिए ।
अत्याधुनिक प्रविधिजडित यो एच १२५–एएस ३५० बी३ई) हेलिकोप्टरमा ५ यात्रु सिट क्षमता रहेको छ । एयरबस एच १२५ हेलिकोप्टर हाई अल्टिच्युडमा उत्कृष्ट प्रदर्शन क्षमताका कारण विश्वभर अत्यन्तै बहुउपयोगी र सुरक्षित हेलिकोप्टरको रूपमा परिचित छ ।
कम्पनीले पर्यटन, आकस्मिक स्वास्थ्य उद्धार, सामग्री ढुवानी तथा मानवीय उद्धार कार्यहरूका लागि नियामक मापदण्डमा पूर्ण प्रतिबद्धतामा रही उच्च अप्रेसन स्ट्यान्डर्डमा सेवा प्रदान गर्ने जनाएको छ ।
आवश्यक प्रशासनिक र प्राविधिक प्रक्रियापछि प्रभु हेलिकोप्टरले ल्याएको ९एन‑एएनटी कलसाइनको एयरबस एच १२५ हेलिकोप्टरलाई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट व्यावसायिक उडानका लागि अनुमति दिइएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताए ।
०७२ असोजमा प्रभु ग्रुपद्वारा स्थापित प्रभु हेलीले तत्कालीन मुक्तिनाथ हेलिकोप्टरलाई १० वर्षअगाडि अधिग्रहण गरेको थियो । एउटा रोबिन्सन हेलिकोप्टरबाट सेवा सुरु गरेको प्रभु हेलीले चारवटा रोबिन्सन हेलिकोप्टर थप गरी सेवा प्रदान गरेको थियो ।
कम्पनीले पाँच वर्षअघि पहिलो एयरबस हेलिकोप्टर भित्र्याएको थियो । नेपालमा हेली अप्रेसन अनुभवका आधारमा, नेपालका कठोर भौगोलिक आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गर्न कम्पनीले उच्च प्रदर्शन क्षमतायुक्त एयरबस खरिद गर्ने निर्णयसहित सम्पूर्ण रोबिन्सन हेलिकोप्टर बिक्री गरेको थियो ।
नयाँ हेलिकोप्टर भित्र्याएसँगै अब प्रभु हेलिसँग दुईवटा एयरबस एच १२५ हेलिकोप्टर छन् ।