
काठमाडौं । मुम्बई इन्डियन्सविरुद्ध सात विकेटको जित निकाल्दै पञ्जाव किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)–२०२५ को शीर्ष दुईमा स्थान सुनिश्चित गरेको छ । यो जितसँगै पञ्जावले प्रतियोगिताको पहिलो क्वालिफायर खेल्ने पक्का भएको छ ।
सोमबार जयपुरमा भएको खेलमा मुम्बईले प्रस्तुत गरेको १८५ रनको लक्ष्य पञ्जावले १८.३ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो ।
पञ्जावको जितमा जस इंग्लिसले ४२ बलमा नौ चौका र तीन छक्कासहित ७३ रन बनाए । ओपनर प्रियान्स आर्याले ३५ बलमा नौ चौका र दुई छक्कासहित ६२ रन बनाए ।
कप्तान श्रेयस ऐयरले २६ र प्रभसिम्रन सिंहले १३ रन थपे ।
मुम्बईका मिचेल स्यान्टनरले दुई र जसप्रीत बुमराहले एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १८४ रनको योगफल खडा गरेको थियो ।
मुम्बईका सूर्यकुमार यादवले ५७ रन बनाएका थिए । र्यान रिकेलटोनले २७, कप्तान हार्दिक पन्ड्याले २६, रोहित शर्माले २४ र नमन धिरले २० रन थपे ।
पञ्जावका अर्शदीप सिंह, मार्को जान्सेन र विजयकुमार व्यासकले समान दुई विकेट लिए । हरप्रीत ब्रारले एक विकेट हात पारे ।
जितसँगै लिग चरणबाट १४ खेलबाट १९ अंक जोड्दै पञ्जाव तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । तालिकाको चौथो स्थानमा रहेको मुम्बईले १४ खेलबाट १६ अंक जोडेको छ ।