
काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको सातौँ प्रतियोगिता सूर्य नेपाल च्यालेन्जको तेस्रो दिन पूर्वनम्बर एक गल्फर शुक्रबहादुर राई ३ स्ट्रोकको अग्रतासहित शीर्ष स्थानमा कायमै छन् । समग्रमा ११–अन्डर १९३ को स्कोरमा उनले भुवनकुमार रोक्कालाई ३ स्ट्रोकले पछि पारेका हुन् ।
बिहीबार (जेठ ८) शुक्रले ५–अन्डर ६३ को सानदार स्कोर निकाले । पहिलो दिन संयुक्त रूपमा शीर्ष स्थानमा रहेका भुवनले पनि ५–अन्डर ६३ को स्कोर दर्ज गर्दै समग्रमा ८–अन्डर १९६ सहित दोस्रो स्थानमा उक्लिए ।
यो सिजन तीन उपाधि जितिसकेका निरज तामाङले आज दिनकै उत्कृष्ट६–अन्डर ६२ को स्कोर गरे । उनी समग्रमा ७–अन्डर १९७ सहित तेस्रो स्थानमा उक्लिएका छन् ।
यस दिन इभन–पार ६८ खेलेका दिनेश प्रजापति समग्रमा ५–अन्डर १९९ को स्कोरमा चौथो स्थानमा झरे ।
समग्रमा ३–अन्डर २०१ बनाएका तोरणविक्रम शाही पाँचौँ स्थानमा छन् । उनले आज ४–अन्डर ६४ स्कोर जोडे ।
समग्रमा २–अन्डर २०२ सहित साबिक विजेता रवि खड्का र सञ्जय लामा संयुक्त रूपमा छैटौँ स्थानमा छन् । रविले तेस्रो दिन ३–अन्डर ६५ र सञ्जयले १–अन्डर ६७ को स्कोर गरे ।
समग्रमा १–अन्डर २०३ स्कोर जोडेका जयराम श्रेष्ठ र वसन्तराज गुरुङले आठौँ स्थान बाँडे । जयरामले आज ३–अन्डर ६५ र वसन्तले २–अन्डर ६६ को स्कोर गरे ।
यस्तै, समग्रमा १–ओभर २०५ को नतिजामा रमेश अधिकारी र भुवन नगरकोटीले दशौँ स्थान बाँडे । रमेशले ४–अन्डर ६४ र भुवनले २–अन्डर ६६को स्कोरकार्ड बनाए ।
लिडर शुक्रले फ्रन्ट नाइन ३–अन्डर ३१ मा सकाए । उनले पहिलो, दोस्रो, चौथो र आठौँ होलमा बर्डी प्रहार गरे । तेस्रो होलमा भने एक सट खेर फाले । त्यसपछि ११औँ र १२औँ होलमा बर्डीको सफलतासँगै ब्याक नाइन २–अन्डर ३२ मा पूरा गरे ।
भुवनले चौथो तथा सातौँदेखि नवौँ होलसम्म लगातार तीन बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ४–अन्डर ३० मा सकाए । त्यसपछि १२औँ र १३औँ होलमा एक/एक सट बचाए । १६औँ होलको बोगीले ब्याक नाइनमा १–अन्डर ३३ को नतिजा निकाले ।
दिनकै उत्कृष्ट स्कोर निकालेका निरजले बोगीरहित सानदार प्रदर्शन गरे । उनले फ्रन्ट र ब्याक नाइन दुवै ३–अन्डर ३१ मा सकाए । निरजले पहिलो, दोस्रो, चौथो, १०औँ, १३औँ र १५औँ होलमा बर्डी प्रहार गरे ।
एमेच्योरतर्फ समग्रमा १–ओभर २०५ को स्कोरमा राहुल विश्वकर्माले निश्चयजंग रायमाझीलाई ३ स्ट्रोकले पछि पारे । राहुलले आज इभन–पार ६८ स्कोर गरे । समग्रमा ४–ओभर २०८ स्कोर गरेका निश्चयले आज २–ओभर ७० स्कोर गरे ।
७२ होलको चारदिने प्रतियोगितामा ३६ प्रोफेसनल र ११ एमेच्योर गरी कुल ४७ खेलाडीको सहभागिता छ ।
प्रतियोगिताको कुल पुरस्कार राशि ६ लाख रुपैयाँ छ । विजेताले एक लाख १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । दोस्रो र तेस्रो हुनेले क्रमशः ७० हजार र ५० हजार रुपैयाँ हात पार्नेछन् । शीर्ष २१ भित्र पर्ने प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । चार दिनको मुख्य स्पर्धापश्चात् शनिबार प्रो–एम प्रतिस्पर्धा हुनेछ ।