काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले मंगलबार नगरप्रहरी बलका प्रमुख राजुनाथ पाण्डेलाई स्पष्टीकरण सोधे । मेयर बालेन शाहको मौखिक निर्देशनमा ०८१ चैत २१ गते गुरागाईंलाई कार्यालय प्रवेशमा रोक लगाउन खोजेको घटनालाई लिएर पाण्डेलाई सातबुँदे स्पष्टीकरण सोधिएको हो ।
महानगरका कर्मचारी तथा पेसागत संगठनले पाण्डेमाथि तत्काल निलम्बन गरेर छानबिन गर्नुपर्नेसहित ११ बुँदे माग राखेर गुरागाईंलाई ज्ञापनपत्र बुझाएका थिए । पाण्डेका गतिविधिलाई लिएर कर्मचारी र जनप्रतिनिधि एकजुट भएपछि गुरागाईंले उनलाई स्पष्टीकरण सोधेका हुन् ।
उनले प्रमुख प्रशासकीय अधिकृतका हैसियतले आफू कार्यालय आउँदा नगरप्रहरी बलको अनधिकृत परिचालन गरेर पाण्डेले अभद्र र गैरकानुनी हर्कत देखाएको बताएका छन् ।
चैत २१ गते नै महानगरकी उपमेयर सुनिता डंगोलले नगरप्रहरी प्रमुख पाण्डेलाई ताला लगाएको विषयमा प्रश्न गरेकी थिइन् । जवाफमा पाण्डेले मेयरको मौखिक आदेश आएको बताएका थिए ।
पाण्डेलाई स्पष्टीकरणका लागि सात दिनको समय दिइएको छ । सात दिनभित्र स्पष्टीकरण नबुझाए वा स्पष्टीकरणमा चित्त नबुझे कानुनबमोजिम कारबाही हुने पत्रमा उल्लेख छ ।
गुरागाईंले चाहे हट्न सक्छन पाण्डे
काठमाडौं महानगरपालिकाको महानगर प्रहरी सेवालाई व्यवस्थापन गर्न बनेको महानगर प्रहरी ऐन, २०८० मा महानगर प्रहरी गठन, रेखदेख तथा नियन्त्रणसम्बन्धी व्यवस्था छ ।
“महानगर प्रहरीको परिचालन रेखदेख, नियन्त्रण र निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतलाई हुनेछ र निजको आदेश र निर्देशन पालना गर्नु प्रत्येक महानगर प्रहरीको कर्तव्य हुनेछ,” ऐनमा भनिएको छ ।
गुरागाईंले सात दिनपछि के हुन्छ भन्ने बाह्रखरीको प्रश्नमा कानुनबमोजिम कारबाही गर्ने बताए । “स्पष्टीकरण सबै चैत २१ गतेको घटनाबारे हो । सातदिनपछि कानुनले जे भन्छ त्यही गर्छु,” उनले भने ।
महानगरमा ६ महिनायता मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्य र कर्मचारीबीचको विवाद कायमै छ ।
स्पष्टीकरणको विषयमा पाण्डे भने मौन छन् । उनले आफू अहिले केही नबोल्ने बताएका छन् । “यस विषयमा म अहिले केही पनि बोल्दिनँ । स्पष्टीकरण दिनुअघि मात्रै बोल्छु,” पाण्डेले बाह्रखरीसित भने ।
पाण्डेलाई सोधिएको सातबुँदे स्पष्टीकरण पत्रमा के छ ?
१. प्रमुख प्रशासकीय अधिकृतका रूपमा मैले प्रयोग गर्दै आएको सवारी साधन ह्विल लक गर्ने आदेश दिई, ह्विल लक गर्न लगाई प्रमुख प्रशासकीय अधिकृत कार्यालय आउने कार्यमा बाधा उत्पन्न गरेको भन्ने व्यहोराको जानकारी सम्बन्धित कर्मचारीबाट प्राप्त हुन आएको तथा उक्त दिन म अन्य विकल्प प्रयोग गरी कार्यालय आउनुपरेको ।
२. प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यालयमा हाजिर हुन आउँदा महानगर प्रहरी बलमा कार्यरत प्रहरीहरूलाई महानगरपालिकाको प्रवेशद्वार तथा कार्यालय परिसरभित्रका विभिन्न स्थानमा भेला गराई प्रहरीको साङ्लो बनाई बाधा अवरोध गरेको र हुलहुज्जत गरी कार्यालयको कार्य वातावरणमा आतंक सिर्जना गर्दै मलाई कार्यालय प्रवेश गर्न अवरोध खडा गरेको ।
३. कार्यालय परिसरमा उपस्थित जनप्रतिनिधिहरू समेतको बाटो छेकी अमर्यादित एवं अभद्र क्रियाकलाप गरेको ।
४. प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गर्न लगाएको, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत एवं वडाध्यक्ष र कार्यपालिका सदस्यहरूले पटक–पटक अनुरोध गर्दा समेत ताला खोल्ने कार्यमा समन्वय, सहयोग नगरेको ।
५. प्रमुख प्रशासकीय अधिकृतले हाजिर गर्ने हाजिर पुस्तिका कब्जामा लिई/लिन लगाई मलाई हाजिर गर्न अवरोध गरेको ।
६. महानगर प्रहरी बलका प्रमुख लपाई काठमाडौं महानगरपालिकाको कर्मचारी भएको र कानूनतः प्रमुख प्रशासकीय अधिकृतको निर्देशन मान्नुपर्नेमा तपाईले कर्मचारीका रूपमा आफूले पालना गर्नु पर्ने आचरण तथा अनुशासन समेत पालना नगरी अनुशासनहिन कार्य गरेको ।
७. सञ्चार माध्याममा अनधिकृत बयानबाजी गरेको र उपप्रमुखज्यु र अन्य जनप्रतिनिधिहरूसँग मुखमुखै लागी अमर्यादित व्यवहार देखाएको, वातावरण शान्त पार्ने उद्देश्यले दिइएको आदेश पालना नगरी वातावरणलाई नियोजित ढंगले उत्तेजित बनाइ थप द्वन्द्व निम्त्याउने पर्याप्त प्रयास गरेको ।
महानगर प्रहरी ऐन, २०८० को दफा (५) बमोजिम जुन अधिकारीको रेखदेख, नियन्त्रण र निर्देशनमा रही परिचालित हुनुपर्ने तथा जसको आदेश र निर्देशन पालना गर्नु महानगर प्रहरीको कर्तव्य हुने कानुनी व्यवस्था रहेको छ । सोही अधिकारी विदापछि कार्यालय प्रवेश गर्दा अवरोध सिर्जना गर्ने उद्देश्यले गैरकानुनी क्रियाकलाप कुन उद्देश्य पूर्ति हेतु किन गर्नुभएको हो ?
यसो गरेबापत तपाईंलाई काठमाडौं महानगरपालिका महानगर प्रहरी ऐन, २०८० बमोजिम किन कारबाही नगर्ने ?
प्रकाशित मिति: बुधबार, जेठ ७, २०८२ १३:४१