site stats
बाह्रखरी :: Baahrakhari
देश
श्रमदान भुक्तानीमा मेयर हर्क साम्पाङले दिए प्रस्टीकरण
फाइल तस्बिर ।

विराटनगर । सुनसरीको धरानमा श्रमदान सम्बन्धी भुक्तानीको विषयमा उत्पन्न विवादको विषयमा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले प्रस्टीकरण दिएका छन् ।
 
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस विषयमा उपमेयर अइन्द्र बिक्रम बेघाले भ्रम फैलाएको उनले आरोप लगाएका छन् । श्रमदान गरेर धरानमा विकासका काम अघि बढाइँदा कैफियत नगरिएको दाबी गर्दै आएका साम्पाङले आफ्नो स्टाटसमा पनि सोही कुरा उल्लेख गरेका छन् ।
 
“फाइल खोसेर उपमेयरले प्रमुख प्रशासकीय अधिकृतको बाट लगेको भन्ने बुझिएको । तर, श्रमदाताले पैसा लियो भनेर भ्रामक प्रचार उपमेयरले गरेको कि उपमेयरको आफ्नो मान्छेहरूले त्यो थाहा भएन । कैफियतमा रकम नलिएको श्रमदान मात्र लेखिएको प्रकोष्टलाई हटाएर हिजो भ्रम फैलाइएछ । एकै घण्टामा भ्रम हटेको छ । भो भ्रमको खेती छर्ने हर्कत गर्नेलाई जनताले...,” साम्पाङले लेखेका छन् ।

मेयर र उपमेयरबीच विवाद हुँदा तीन दिनदेखि धरान उपमहानगरपालिका परिसरमै नारावाजी र प्रदर्शन हुँदै आएको छ । दुवै पक्षका समर्थकहरू भेला भएर नारावाजी र प्रदर्शन गर्दा उपमहानगरको दैनिक काम कारबाही प्रभावित भएको छ । मंगलबार मेयर र उपमेयरबीच उपमहानगर परिसरमै हात हालाहालको अवस्था सिर्जना भएको थियो । तर, सुरक्षाकर्मीले सम्भावित झडप रोकेका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

श्रमदानका नाममा गरिएको कामको हाजिरी उठाएर रकम मागिएको भन्दै उपमेयर बेघाले भुक्तानीमा रोक लगाएपछि धरानमा विवाद सुरु भएको हो । 

मंगलबार बिहान करिब ११ बजे मेयर साम्पाङका श्रमदाताको समूह उपमेयर बेघाको कार्यकक्षमा पुगेर घेराउ गरेका थिए । उनीहरूले स्काभेटरको चाबी माग्ने बहानामा कार्यकक्षमा विवाद बढाउँदा बेघा पक्षका नेकपा माओवादी कार्यकर्ताहरू समेत परिसरमा पुगे । दुई पक्षबीच झडपको स्थिति सिर्जना भयो । 

स्थिति तनावपूर्ण बन्दै गइरहेका बेला सशस्त्र प्रहरी र इलाका प्रहरी कार्यालय धरानका सुरक्षाकर्मीले हस्तक्षेप नगरेको भए दुवै पक्षबीच झडप हुनसक्थ्यो भन्ने प्रत्यक्षदर्शीहरूको भनाइ छ । 

नेकपा माओवादी धरान नगर कमिटी अध्यक्ष उद्धव लिम्बूका अनुसार मेयर समर्थकहरू डोजर र स्काभेटरको चाबी माग्ने निहुँमा उपमेयरको कार्यकक्ष घेराउ गर्न पुगेको आरोप लगाएका छन् । 

उपमेयर बेघाका अनुसार डोजर र स्काभेटरको चाबी मेयर, उपमेयर र कार्यालयको स्टोरमा एउटा/एउटा राखिएको छ । मेयर पक्षबाट जथाभावी प्रयोग भइरहेको देखेर चाबी वितरणमा रोक लगाएको उनको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०८:३३
प्रतिक्रिया दिनुहोस्