site stats
बाह्रखरी :: Baahrakhari
देश
निलम्बनविरुद्ध राजु पाण्डेको रिट : अन्तरिम आदेश छलफल आज

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डेले निलम्बनविरुद्ध हालेको रिटमा आज अन्तरिम आदेश छलफल हुँदै छ । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले गरेको निलम्बनविरुद्ध पाण्डेले गत जेठ २६ गते उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उक्त रिटमा न्यायाधीश प्रकाश खरेलको इजलासले प्रारम्भिक सुनुवाइपछि कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेश छलफलका लागि दुवै पक्षलाई झिकाउने आदेश गरेको थियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इजलासबाटै अन्तरिम आदेश छलफलका लागि बुधबार (आज)को पेसी तोकिएको उच्च अदालत पाटनकी सूचना अधिकारी पार्वती हितानले जानकारी दिएकी छन् । 

नगरप्रहरी प्रमुख पाण्डेले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बिदा सकेर कार्यालय आउन खोज्दा कार्यकक्षमा तालाबन्दी गरी प्रवेशमा अवरोध गरेका थिए । गाडीमा ह्वीललक लगाएर ताला मारेका पाण्डेले वडाध्यक्षको सहयोगमा कार्यालय प्रवेश गर्न लाग्दासमेत माथिको आदेश भन्दै बाटोमा अवरोध गरेका थिए । 

हातपातसम्मको अवस्थामा उत्रिएपछि पाण्डेलाई गुरागाईंले निलम्बित गरेका थिए । जेठ २० गते ६ महिनाका लागि निलम्बित भएका उनले त्यसको एक सातापछि उच्च अदालतमा रिट दायर गरेका थिए । अन्तरिम आदेश माग गर्दै दायर रिटमा एकल इजलासले कारण देखाउ आदेश मात्र जारी गरिदिएको थियो । बुधबार संयुक्त इजलासबाट अन्तरिम आदेश नपाएमा पाण्डे महानगर फर्किने आधार थप कमजोर बन्नेछ । 

पाण्डेले उत्प्रेषणको आदेशबाट प्रमुख कार्यकारी अधिकृत गुरागाईंबाट भएको आफ्नो निलम्बन बदर गरिदिन माग गरेका छन् । 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्