site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
भाजपा नेताको काठमाडौंमा किन लागिरहेछ लर्को ?

काठमाडौं । बितेको एक महिनामा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का तीन नेता काठमाडौंमा आए । पहलगाममा आतंकवादी आक्रमणपछि उनीहरू एकपछि अर्को गर्दै काठमाडौं आएका हुन् ।

सुरुमा भाजपाका विदेश विभाग प्रमुख विजय चौथाईवाले काठमाडौं आएका थिए । भाजपाका अर्का नेता भगतसिंह कोस्यारी आए । कोस्यारी फर्केलगत्तै भाजपा नेता तथा पूर्व विदेश विभाग प्रमुख विजय जोली काठमाडौंमा देखापरे । 

यीबाहेक भाजपाबाट हाल केन्द्रीय मन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका दुई जना नेता पनि यो अवधिमा काठमाडौं आए । उनीहरू थिए ऊर्जा, आवास तथा शहरी मामिला मन्त्री मनोहरलाल खट्टर र वातावरण, वन तथा जलवायु परिवर्तन मन्त्री भुपेन्दर यादव ।

पछिल्लो एक महिनामा काठमाडौं आएका भाजपाका ५ नेतामध्ये दुई जना (मन्त्रीहरू) को भ्रमणको उद्देश्य केही फरक छ । उनीहरू सरकारको प्रतिनिधत्व गरेका नेपाल आएका थिए । ती तीन नेता नेपाल आउनुको कारण भने भिन्न छ । उनीहरू पार्टीको प्रतिनिधित्व गर्दै आएका हुन् ।

काठमाडौं आइपुगेका भाजपा नेताले नेपालका प्रमुख राजनीतिक पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गरी फर्केका छन् । चौथाईवालेले त तीन दिनमा दुई दर्जन नेताहरूसँग भेटवार्ता गरेका थिए । उनले नेपाली कांग्रेसका मात्र ९ जना नेतासँग भेट गरेका थिए ।

चौथाईवाले, कोस्यारी र जोली तीनै नेताले सबैभन्दा बढी नेपाली कांग्रेसका नेताहरूसँग भेटघाट गरेका थिए । यसले पनि भाजपाले नेपाली कांग्रेसलाई बढी महत्व दिएको स्पष्ट हुन्छ । 

नेपाल आउँदा भाजपाका नेताले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा सहरी विकास मन्त्री एवं कांग्रेस नेता प्रकाशमान सिंह, उपप्रधान तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, परराष्ट्रमन्त्री तथा कांग्रेस नेतृ आरजु राणा देउवा र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकसँग भेट गरेका छन् । 

उनीहरूले नेपाली कांग्रेसका नेताहरू डा. शेखर कोइराला, महामन्त्री गगन थापा, प्रवक्ता प्रकाशशरण महत, नेता एनपी साउद र नेता उदय राणा, माओवादी केन्द्रका उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्त ठाकुर, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायतसँग भेटघाट गरेका थिए ।  

भाजपा नेताले नयाँ जनमतदेखि पुरानो नेपाली कांग्रेसका नेतासँग भेट गरेको देखिन्छ । तर राजावादी दल तथा राजावादी शक्तिका नेतासँग भने भेटघाट गरेका छैनन् । यसबाट उनीहरूले लोकतान्त्रिक दलहरूलाई प्राथमिकता दिएको स्पष्ट हुन्छ ।

आखिर किन आइरहेका छन्, यति छिटोछिटो भाजपाका नेता काठमाडौं ? किन यस्तो बाक्लो भेटघाट गरिरहेका छन् ? 

नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्व परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत बाह्रखरीसँग भन्छन्, “भाजपाले पार्टी–पार्टीबीचको सम्बन्धलाई अलि बढी महत्व दिएको जस्तो लाग्यो । यो राम्रो हो । किनभने पार्टीकै मान्छे सरकारका जाने हो । पार्टीसँग सम्बन्ध राम्रो भए सरकारसँग पनि सम्बन्ध राम्रो हुन्छ ।”

पहिला नेपालबाट मात्र नेताहरू भारत जाने गर्थे । केही भारतीय नेता भेट्थे, फर्किन्थे । पछिल्लो एक महिनामा भारतबाट पनि नेताहरू नेपाल आउन थालेका छन्, तर भाजपाका मात्र । 

यस्तो आउनेक्रम कहिलेसम्म जारी रहन्छ थाहा छैन । तर काठमाडौंमै भारतीय नेता भेट्न पाउँदा नेपाली नेता खुसी नै देखिन्छन् । “आउने जाने गर्नु राम्रो हो । एक–अर्काको दृष्टिकोण बुझ्न सकिन्छ । सोच र परिस्थिति बुझ्न सकिन्छ,” महतले भने । 

केही वर्षयता प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भारतको सम्बन्ध ‘न्यानो’ रहन सकेको छैन ।

२०७२ सालमा संविधान जारी गर्दादेखि बिग्रेको सम्बन्धमा सुधार आएको छैन । यसैकारण पछिल्लो समय प्रधानमन्त्री बनेको १० महिना बित्दा पनि भारतीय प्रधानमन्त्री मोदीले ओलीलाई भ्रमणको निम्तो दिएका छैनन् । 

सरकारको नेतृत्व गरिरहेका ओलीसँगको सम्बन्ध सुध्रिने र थप बिग्रने दुवै अवस्था नभएपछि भाजपाले पार्टी–पार्टीबीच पनि मजबुत सम्बन्ध आवश्यक रहेको महसुस गरेको बुझाई भाजपाका नेताहरूसँग भेटवार्ता गर्ने नेपाली नेताहरूको छ ।

यसैअनुरुप दुई देशका पार्टी–पार्टी र नेता–नेताबीचको सम्बन्ध सुमधुर बनाउन भाजपाले आफ्ना नेतालाई नेपाल पठाइरहेको विश्वास नेपाली नेताहरूको छ । 

“नेपालको सरकारको विषयमा उहाँहरूको चासो छैन । पार्टीका विभिन्न तहका नेताहरू आउने जाने, बुझ्ने गर्यो भने सम्बन्ध राम्रो हुन्छ भन्ने भनाई उहाँहरूको छ । यसैका लागि उहाँहरू आएको पाएँ,” कांग्रेस प्रवक्ता महतले भने ।

नेपालका सरकारप्रति चासो नभए पनि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमप्रति भाजपाका नेताहरू स्पष्ट रहेको महत बताउँछन् । “उहाँहरूले स्पष्ट शब्दमा ‘डेमोक्रेसीको पक्ष’मा छौं भन्नुभएको छ । ‘राजा कन्फ्युजनमा नपरे हुन्छ’ भन्ने सन्देश उहाँहरूको छ,” महतले भने । 

खासगरी नेपाल र नेपालका राजनीतिक दललाई नजिकबाट बुझ्न एकपछि अर्को गर्दै भाजपाका नेता काठमाडौं आएको विश्वास उनको छ । नेपालबारे सही/उचित बुझाई भए सही नीति बन्ने र सम्बन्ध राम्रो हुने भाजपाका नेताहरूले भेटमा व्यक्त गरेका छन् । 

“नेपालप्रति सही बुझाइ बनाउन पनि उहाँहरू आउनुभएको हो । सही बुझाई भयो भने त्यसको असर नीतिमा पनि पर्छ । गलत बुझाईले गलत नीति बन्छ,” महतले भने ।

भाजपा नेताहरू काठमाडौं आउँदा भेटघाट गरेका नेपाली कांग्रेसका अर्का एक नेताका अनुसार भाजपाका नेताहरू नेपालसँगको सम्बन्ध ‘ब्रेकथ्रु’ गर्ने तयारीका साथ आएको देखिँदैन ।

“भारत ‘पर्ख र हेर’ को अवस्थामा रहेको देख्छु म,” नाम उल्लेख नगर्ने सर्तमा कांग्रेसका ती नेताले भने, “भेटमा यही हुनुपर्छ भन्ने कुनै अवधारणा र भिजन पनि उहाँहरूमा देखिन ।”

नेपालको पछिल्लो अवस्था नचलाउने पक्षमा भारत रहेको बुझाई ती नेताको छ । भेटमा भाजपा नेताले नेपालको सरकाप्रति सन्तुष्टि र असन्तुष्टि दुवै व्यक्त गरेका छैनन् । उनीहरूले यसलाई नितान्त नेपालको आन्तरिक मामिला भनी छोडेका छन् । 

“परिस्थितिसँग सन्तुष्ट भएर नयाँ सकारात्मक दिशातिर कसरी लैजाने भन्ने क्लियर रोडम्याप पनि देखिएन । अर्काको कुरा सुन्ने, के छ तपाईँहरूको भन्ने, त्योबाहेक नयाँ केही देखिन,” ती कांग्रेस नेताले भने ।

पछिल्लो समय भारतले ‘ट्रयाक टु डिप्लोमेसी’लाई बढी प्राथमिकता दिएको बुझाई नेपाली नेताहरूको छ । यसैकारण भाजपाले पार्टी–पार्टीबीचको सम्बन्ध, जनता–जनताबीचको सम्बन्ध, सैनिक–सैनिकबीचको सम्बन्ध, व्यापारी–व्यापारीबीचको सम्बन्ध, धार्मिक संघ–संस्थाबीचको सम्बन्धलाई आ–आफ्नै तरिकाले अघि बढाएको उनीहरूको तर्क छ ।

“नेपालमा मात्र होइन, अरु देशसँग पनि भाजपाले राजनीतिक, धार्मिक, सैनिक, व्यापारिक सम्बन्ध बढाएका छन्, जसलाई हामी ‘ट्रयाक टु डिप्लोमेसी’ भन्छौं । यसैमा उनीहरूको बढी ध्यान छ,” भाजपा नेतासँग भेटवार्ता गरेका एकजना नेपाली नेताले नाम उल्लेख नगर्ने सर्तमा भने । 

दुई देशका पार्टी–पार्टी र नेता–नेताबीच सम्बन्ध राम्रो नहुँदा पछिल्ला तीन दशकमा नेपालले दुई पटक नाकाबन्दीको सामाना गर्नुपरेको भनाई ती नेताको छ । सरकार–सरकारबीच सम्बन्ध बिग्रदा पार्टी–पार्टी र नेता–नेताबीचको सम्बन्धले काम गर्ने विश्वास उनको छ ।

“हामीले पछिल्लो ३०/३५ वर्षमा दुई पटक नाकाबन्दीको सामना गरिसक्यौं । सायद पार्टी–पार्टी र नेता–नेताबीचको सम्बन्ध राम्रो हुन्थ्यो भने नाकाबन्दी नहुन पनि सक्थ्यो,” ती नेताको भनाई छ । 

अब भारतबाट नेताहरू आइरहने ती नेताको दाबी छ । उनले थपे, “पहिला हामी मात्र जान्थ्यौं, हात जोड्दै जान्थ्यौं । अब उनीहरूलाई पनि नेपाल जानुपर्छ भन्ने लागेको छ र यसैकारण आइरहेका छन् । यो राम्रो हो ।” 

ती नेतासँग पनि भाजपाका नेताहरूले सरकार निर्माण नेपालका आन्तरिक विषय भएको बताएका थिए । ओली नेतृत्वको सरकारलाई हटाउनुपर्छ भन्ने पक्षमा उनीहरू रहेका छैनन् ।

“सरकार फेर भन्ने तहमा उनीहरू आएका छैनन् । सरकारमा कुनै चासो छैन । ओलीसँग खुसी छैनन्, तर सरकार फेर्नुपर्छ भन्नेमा पनि उनीहरूले धारणा राखेका छैनन्,” ती नेताले भने, “बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई)मा उनीहरूको अलिकति रिजरभेसन रहेको छलफलमा देखियो ।”

चीनका कारण पनि अब भारत नेपालको सत्ता परिवर्तनको खेलमा आक्रामक रुपमा प्रस्तुत नहुने बुझाई ती नेताको छ । उनले थप स्पष्ट पार्दै भने, “यदि भारत आक्रामक भयो भने त्योभन्दा बढी चीन हुन्छ भन्ने उनीहरूले बुझेका छन् । भारत चुप लागेर बसे चीन पनि चुप लागेर बस्छ ।” 

हालसम्म नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने विषयमा भारत नै बढी शक्तिशाली देखिन्छ, तर चीन पनि उत्तिकै प्रभावशाली भएर आएको ठम्याई उनको छ । 

“जयशंकर र ओलीको सम्बन्ध बिग्रर्ने बित्तिकै दुई देशको सम्बन्ध बिग्रने काम जस्तो भयो पहिला । त्यसैले यस्तो हुन दिनु हुँदैन भन्ने भाजपाले बुझेजस्तो देखिन्छ । यसैकारण पार्टी–पार्टी र नेता–नेताबीचको सम्बन्धलाई पनि उत्तिकै प्राथमिकता दिनुपर्छ भन्नेमा भाजपा पुगेको हो कि,” ती नेताले भने ।

भारतको जम्मु–कश्मीरको पहलगामा एकजना नेपाली युवासहित २६ जनाको ज्यान लिनेगरी आतंकवादी आक्रमण भएपछ भाजपा नेताको नेपाल आउजाउ बढेको हो ।

भाजपा नेताहरूसँग भेटवार्ता गर्ने नेपाली नेताहरूका अनुसार, उनीहरूले केही स्पष्ट शन्देश दिएका छन् । आतंकवादका विरुद्धमा भारतको पक्षमा नेपाल, नेपालका राजनीति पार्टी र नेताहरू दरोसँग उभिनुपर्ने भाजपाका नेताहरूको भनाई छ ।

भाजपाका नेताहरूले भेटमा नेपाल–भारतबीचको खुला सीमाना आतंकवादीहरूले आफ्नो हितमा प्रयोग गरेको आशंका पनि व्यक्त गरेका छन् । यसैकारण गृहमन्त्री लेखकदेखि प्रधानमन्त्री ओलीसम्मले पहलगाम घटनापछि आफ्ना धारणा सार्वजनिक गर्दा ‘हाम्रो भूमि छिमेकी राष्ट्रविरूध्द प्रयोग हुन नदिने’ प्रतिबद्धता जनाइरहेका छन् ।

भाजपा नेताले भेटवार्ताका दिएको अर्को स्पष्ट सन्देश हो, भारत नेपालको लोकतन्त्रको पक्षमा छ । राजावादीले राजा फर्काउने आन्दोलनमा भाजपा नेता तथा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको तस्बिर लिएर प्रदर्शन गरेपछि भाजपाका नेताले नेपालका नेताहरूसँग लोकतन्त्रको पक्षमा स्पष्ट धारणा राखेका हुन् ।
 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्