
काठमाडौं । राष्ट्रिय गौरवका आयोजना ‘काठमाडौं–तराई/मधेस द्रुतमार्ग सडक’ निर्माणमा ढिलासुस्ती गरेको भन्दै एक चिनियाँ कम्पनीलाई एक अर्ब ५९ करोड ३४ लाख रुपैयाँ जरिबाना गरिएको छ ।
द्रुतमार्गको प्याकेज नं.६ अन्तर्गतको ५.५४ किलोमिटर सडक र १८ वटा पुल निर्माणको ठेक्का पाएको चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनीले काममा ढिलासुस्ती गरेपछि क्षतिपूर्तिस्वरुप उक्त रकम असुल गर्न लागिएको नेपाली सेनाले जनाएको छ ।
“एक चिनियाँ कम्पनीले सम्झौता र टाइमलाइनअनुसार काम नगरेको हुँदा उससँग क्षतिपूर्तिवापतको रकम असुन गर्न लागिएको हो,” नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बाह्रखरीसँग भने ।
द्रुतमार्ग निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले द्रुतमार्ग आयोजनाको काम १३ वटा प्याकेजमा गरिरहेको छ ।
सोही अनुसार नेपाली सेनाले २०७९ पुस २६ गते आयोजनाको प्याकेज नं. ६ अन्तर्गत ५.५४ किलोमिटर सडक र १८ पुल निर्माणका लागि चिनियाँ कम्पनीलाई ठेक्का प्रदान गरेको थियो । उक्त प्याकेजका लागि नेपाली सेना र चिनियाँ कम्पनीबीच १८ अर्ब ८ करोड ६ लाख रुपैयाँको सम्झौता भएको थियो ।
सम्झौताको विशेष सर्तको बुँदा नं ४.२४ मा कार्य प्रारम्भ भएको मितिले १८० दिनभित्र विस्तृत सर्वेक्षण, जियोलोजिकल र हाइड्रोलोजिकल अध्ययन, जियोटेक्निकल अनुसन्धानलगायत सबै प्रतिवेदन पेस गरिसक्नुपर्ने उल्लेख छ ।
सम्झौतामा १८० दिन अर्थात् २०८० साउन ८ गतेसम्म विस्तृत डिजाइनको कार्य पूरा गर्ने र परामर्शदाताबाट डिजाइनको सम्पूर्ण काम गरी सक्नुपर्ने कुरा स्पष्ट लेखिएको छ । सम्झौताको बुँदा नं. ८.८ मा कार्यतालिकाअनुसार कार्य नगरेमा प्रतिदिन सम्झौता अङ्कको ०.०५ प्रतिशतका दरले पूर्वनिर्धारित क्षतिपूर्ति दिनुपर्ने व्यवस्था गरिएको छ ।
चिनियाँ कम्पनीले २०८० माघ २२ मा पहिलो माइलस्टोनको कार्य सम्झौताभन्दा १९० दिनपछि मात्र डिजाइन पेस गरेको थियो । त्यसको भोलिपल्ट २०८० माघ २३ गते उक्त डिजाइन स्वीकृति गरेको थियो ।
सम्झौताअनुसार चिनियाँ कम्पनीले २०८० माघ ७ गतेसम्ममा दोस्रो माइलस्टोनको कार्य सक्नुपर्ने थियो । तर दोस्रो माइलस्टोनको कार्य सम्पन्न गर्ने अवधिभन्दा १५ दिन ढिलो गरिएको थियो । पहिलो तथा दोस्रो माइलस्टोन बमोजिम २०५ दिन ढिलो कार्य सम्पन्न भएको थियो ।
सैनिक प्रवक्ता केसीका अनुसार, सम्झौताका सर्तबमोजिम काम नभएकाले १० प्रतिशत पूर्वनिर्धारित क्षतिपूर्ति स्वरुप १ अर्ब ५९ करोड ३४ लाख रुपैयाँ चिनियाँ कम्पनीबाट असुल गर्ने निर्णय भएको हो ।
जसअनुसार उक्त रकम असुल गर्न नेपाली सेनाको विकास निर्माण निर्देशनालयले पहिलो पटक २०८१ असार १८ गते चिनियाँ कम्पनीलाई पत्र पठाएको थियो । पत्रमा सम्झौताअनुसार १ अर्ब ५९ करोड ३४ लाख रुपैया क्षतिपूर्तिस्वरुप बुझाउन भनिएको थियो । तर चिनियाँ कम्पनीले क्षतिपूर्ति बुझाएन ।
“क्षतिपूर्तिवापतको रकम असुल गर्न पटक–पटक पत्र पठाइयो,” सैनिक प्रवक्ता केसीले भने । पहिलो पत्र पठाएको एक वर्ष बित्न लाग्दा पनि चिनियाँ कम्पनीले क्षतिपूर्ति रकम नबुझाएपछि सेनाले उक्त रकम उठाउन नयाँ तरिका अपनाएको छ ।
“उक्त चिनियाँ कम्पनीले काम गरिरहेको छ, काम रोकिएको छैन । काम सम्पन्न गरेअनुसार उसले हामीसँग भुक्तानी माग्छ । हामीले भुक्तानी दिँदा क्षतिपूर्तिवापात उसले बुझाउनुपर्ने रकम काटेर दिने गरेका छौं,” सैनिक प्रवक्ता केसीले स्पष्ट पार्दै भने, “हालसम्म ८ करोड रुपैयाँ जति काटियो ।”
सैनिक प्रवक्ताकै भनाई अनुसार पनि चिनियाँ कम्पनीसँग अझै असुल गर्नुपर्ने क्षतिपूर्ति वापतको रकम १ अर्ब ५१ करोड ३४ लाख रुपैयाँ छ । “हामी क्रमशः काट्दै, घटउँदै जान्छौं,” उनले भने ।
पहिले नै विवादमा परेको थियो चिनियाँ कम्पनी
नेपाली सेनाले जुन चिनियाँ कम्पनी (चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनी) लाई द्रुतमार्गको प्याकेज नं.६ को ठेक्का दिएको छ, उक्त कम्पनी सुरुमै विवादमा परेको थियो ।
प्याकेज नं.६ का लागि बोलपत्र आव्हान गर्दा १२ कम्पनीले प्रस्ताव पेश गरेका थिए । सेनाले सुरुमै चाइना फस्र्ट हाइवे इन्जिनियरिङ कम्पनीको प्राविधिक प्रस्ताव अस्वीकृत गर्दै ५ कम्पनी छनोट गरेको थियो ।
त्यसपछि कम्पनीले सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी दिएको थियो । कार्यालयले सेनाको निर्णय उल्ट्याइदिएको थियो । जुन कम्पनीको प्राविधिक प्रस्ताव नै अस्वीकृत भएको थियो पछि सेनाले सोही कम्पनीलाई ठेक्का प्रदान गरेपछि विवादमा तानिएको थियो ।
भारतीय आफ्कोन्स इन्फ्रास्ट्रक्चर लिमिटेडले उक्त चिनियाँ कम्पनीविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा चलेपनि काम भने चिनियाँ कम्पनीले रोकेको छैन ।
द्रुतमार्गको सुरुवात र खर्च
नेपाली सेनाले द्रुतमार्गको काम सुरु गेको आठ वर्ष बित्यो । यस अवधिमा भौतिक प्रगति मात्र ३९.३४ प्रतिशत र वित्तीय प्रगति ४१.०६ प्रतिशत भएको छ । २०७४ वैशाख २१ गतेदेखि २०८१ चैत मसान्तसम्मको अवधिमा द्रुतमार्गमा उक्त भौतिक र वित्तीय प्रगति भएको हो ।
द्रुतमार्गको कुल लम्बाई ७०.९७७ किलोमिटर छ, जसमा सडक ४८ किलोमिटर, सुरुङ १० किलोमिटर र पुल १२.९ किलोमिटर छ । पछिल्लो पटक द्रुतमार्गको म्याद २०८३ चैत मसान्तसम्मलाई थप गरिएको छ । अर्थात् अबको दुई वर्षभित्र सेनाले काम सक्नुपर्छ ।
परिमार्जित विस्तृत आयोजना प्रतिवेदनबमोजिम आयोजनाको कुल लागत २ खर्व ११ अर्व ९३ करोड रुपैयाँ छ । २०८१ चैत मसान्तसम्म द्रुतमार्गका नाममा ७५ अर्ब १६ करोड रुपैयाँ खर्च भइसकेको छ ।
नेपाली सेनाका अनुसार, चालु आर्थिक वर्ष २०८१/८२ मा द्रुतमार्गका लागि २२ अर्ब ५४ करोड ९३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको थियो । २०८१ चैत मसान्तसम्म उक्त रकममध्ये ८ अर्ब ७ करोड ४५ लाख ४१ हजार ६५१ रुपैयाँ खर्च भइसकेको छ ।
कति भयो द्रुतमार्गको काम ?
ललितपुरको खोकनाबाट सुरु भई बाराको निजगढ पुगी टुङ्गिने द्रुतमार्ग आयोजनाको समष्टिगत कार्ययोजनाअन्तर्गत १३ वटा निर्माण प्याकेज छन् । तीमध्ये हालसम्म प्याकेज नं. १, २, ३, ४, ५, ६, ७, ८क, ८ख, ९क, ९ख र १० निर्माणाधीन तथा कार्यान्वयनका चरणमा छन् ।
प्याकेज नं. ११ अन्तर्गतपर्ने खोकना–बुङ्गमती खण्डमा जग्गा अधिग्रहणसम्बन्धी समस्या साथै शुरु बिन्दु र सवारी आवागमन व्यवस्थापन सम्बन्धमा निर्णय बाँकी रहेकाले खरिद प्रक्रिया शुरु हुन बाँकी छ ।
बुङ्गमती इलाकामा पर्ने बोसी खान्की गुठीको १०–०–०–१.०६ रोपनी क्षेत्रफल जग्गा आयोजना प्रयोजनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको नाममा २०८१ चैत १९ गते प्राप्त भएको सेनाले जनाएको छ ।
हालसम्म स्वीकृत विस्तृत आयोजना रिपोर्ट (डीपीआर) बमोजिम खोकना–बुँगमती इलाकामा मूल्य निर्धारण भई अधिग्रहण हुन बाँकी जग्गा १७८–९–०–१.७५ रोपनी छ । यस्तै, मूल्य निर्धारण हुन बाँकी जग्गा १६५–६–०–३ रोपनी छ ।
द्रुतमार्गको २४.८ किलोमिटर देखि ७०.९७७ किलोमिटरसम्म पर्ने जग्गाहरूको अधिग्रहण सम्पन्न भई निर्माण कार्य भइरहेको छ ।
द्रुतमार्गको ६.५ किलोमिटर देखि २४.८ किलोमिटर खण्डमा सुरुङ्गमार्ग, स्लोप प्रोटेक्सन्, रिभर ट्रेनिङ निर्माण कार्यका लागि आवश्यक पर्ने विभिन्न नम्बरी जग्गाहरू अधिग्रहणको स्वीकृति प्राप्त हुने क्रममा छ ।
द्रुतमार्गअन्तर्गत ७ वटा सुरुङ पर्छन् । ती सुरुङमार्गका लम्बाइ १०.९७९ किलोमिटर छ । दुईवटा सुरुङ ब्रेकथ्रु भइसकेको छ । ब्रेकथ्रु भएकामा १ हजार ६९१ मिटर लामो धेद्रे सुरुङ र १ हजार ६२३ मिटरको लेनडाँडा सुरुङ छन् ।
महादेवटार सुरुङको लम्बाई ३ हजार ३५५ मिटर छ । यसको बायाँ सुरुङतर्फ २ हजार २८८ मिटर (६८ प्रतिशत) र दायाँ सुरुङतर्फ २ हजार २९ मिटर (६१ प्रतिशत) निर्माण सकिएको छ ।
एक हजार मिटर लामो देवीचौर सुरुङ र ३९० मिटरको सिसौटार सुरुङको खरिद सम्झौता तथा डिजाइन सकिएको छ । यी दुई सुरुङको पोर्टल निर्माण चलिरहेको छ ।
दुई हजार २५० मिटर लम्बाई रहेको चन्द्राम भीर सुरुङको ९१.०३ मिटर खन्ने काम सकिएको छ । यस्तै, ५८३ मिटर लामो मौरीभीर सुरुङको डिजाइन स्वीकृत भई निर्माण सुरु हुने चरणमा रहेको भनाई सेनाको छ ।
नेपाली सेनाले सार्वजनिक गरेको २०८१ चैत मसान्तसम्मको प्रगति विवरणअनुसार द्रुतमार्गमा ८९ पुलमध्ये ८५ पुलको ठेक्का सम्झौतापछि निर्माणका चरणमा छन् ।
निर्माणाधीन अधिकांश पुलहरूको ‘फाउण्डेशन’ सकिएको र ‘सुपरस्टक्चर’का काम भइरहेको छ । आयोजनामा ५ स्थानका पुल बनिसकेको र यस आर्थिक वर्ष २० पुलहरूको निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।