site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसदको सिफारिसमा योजना नबनाए मतदाता निराश हुन्छन् : सूर्य थापा

काठमाडौं । नेकपा एमालेका सांसद सूर्यबहादुर थापा क्षेत्रीले निर्वाचन क्षेत्रको विकास प्रक्रियामा जननिर्वाचित सांसदहरूको भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले यस्तो धारणा राखेका हुन् । 

प्रत्यक्ष निर्वाचित सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा सक्रिय योगदान दिने प्रतिबद्धता दलहरूको घोषणापत्रमा नै उल्लेख भएको उनले स्मरण गराए । निर्वाचन क्षेत्रको विकास प्रक्रियामा जननिर्वाचित सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउनुपर्नेमा उनको जोड थियो । 

समाजमा एकथरी मानिसले यस कार्यमा सांसदलाई अलग गर्नुपर्ने भनेर पूर्वाग्रही एवं नकारात्मक भाष्य निर्माणमा लागेको उनले गुनासो गरे । दलको घोषणापत्रमा गरिएका प्रतिबद्धताका आधारमा नै जनताको विश्वास जितेर निर्वाचित भएको वस्तुगत यथार्थलाई बजेट विनियोजनका क्रममा हेक्का राख्नुपर्ने उनले धारणा राखे । 

सांसद थापाले सांसदहरूलाई कोष नभई योजना सिफारिस गर्ने अधिकार दिँदा त्यसविरुद्ध बकवास हुने गरेको उल्लेख गरे । बजेट सुन्ने, छलफल गर्ने र पारित गर्ने सांसदको संवैधानिक र कानुनी अधिकार भएको उनको भनाइ छ । 

सांसदहरूको भूमिकालाई कमजोर बनाउने कार्य उचित र सही हुन नसक्ने उनले जिकिर गरे । यसबाट व्यवस्थाविरोधी र अस्थिरतावादी हौसिने उनको भनाइ छ । अन्यथा अनावश्यक रूपमा आमनागरिक र मतदाता थप असन्तुष्ट र निराश हुने अवस्था आउन सक्ने उनले बताए । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:५३
प्रतिक्रिया दिनुहोस्