site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
प्रधानमन्त्रीलाई लिङदेनको जवाफ : भाग्न नसके हेलिकोप्टर सुविधा दिन्छौँ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्झौता नगर्ने भए हेलिकोप्टर चढेर भाग्न मौका दिने जवाफ फर्काएका छन् । 

आगामी जेठ १५ गतेबाट राजावादी पक्षधरले गर्न लागेको आन्दोलनको तयारी बैठकमा उनले संसद्मा प्रधानमन्त्रीले उमेरका हिसाबले भाग्न सकिँदैन भनी दिएको अभिव्यक्तिको जवाफ फर्काएका हुुन् । 

“प्रधानमन्त्रीले उमेरको हिसाबले पनि भाग्न सकिँदैन । भाग त भन्नुभएन नि हो भन्नुभयो । भाग्न सकिन्न भने पनि सम्झौता नगर्ने हो भने उहाँहरूलाई हेलिकोप्टरबाट जाने मौका दिनुपर्छ हामीले । हेलिकोप्टरको सुविधा प्रयोग गर्ने छुट दिने,” उनले भने । 

उनले जेठ १५ देखिको आन्दोलन शान्तिपूर्ण हुने दाबी पनि गरे । “यसपालिको प्रदर्शन शान्तिपूर्ण हुन्छ । निरन्तर हुन्छ,” उनले भने, “आयोजकको पूर्ण नियन्त्रणमा हुन्छ । हाम्रो प्रदर्शन हिंसात्मक हुँदैन ।”

उनले सरकारलाई पनि दमन गरेर हिंसामा भड्काउने मौका नदिइने पनि बताए । उनले अहिलेको आन्दोलन टुंग्याएरै छाड्ने बताए । मानवअधिकार आयोग र अन्तर्राष्ट्रिय संघसंस्थालाई आन्दोलनको निरीक्षणका लागि आग्रह गर्न लागिएको उनले बताए । 

त्यस्तै, राप्रपा नेपालका अध्यक्ष कमल थापाले अबको आन्दोलनको अग्रपंक्तिमा केन्द्रीय नेता हुने भएकाले कुटाइ खानुपरे अग्रभागमा रहेका नेताले खाने बताए । अबको आन्दोलन शान्तिपूर्ण हुने भएकाले ढुक्क भएर प्रदर्शनमा सहभागी हुन उनले आग्रह गरे । 

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  १२:०२
प्रतिक्रिया दिनुहोस्