site stats
बाह्रखरी :: Baahrakhari
देश
नारायणगढ–बुटवल सडक : दाउन्ने क्षेत्रमा काम केन्द्रित

त्रिवेणी (नवलपरासी) । नारायणगढ–बुटवल सडक निर्माण योजनाको भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ । आयोजनका सूचना अधिकारी शिव खनालका अनुसार नारायणगढ–बुटवल सडकको कुल लम्बाइ ११३.५३ किलोमिटरमध्ये हाल एकतर्फी रूपमा ९०.८७ किमी सडक कालोपत्र भएको छ । समग्रमा कुल भौतिक प्रगति ६६.५० प्रतिशत पुगेको छ । 

पुलहरूले ओगटेको क्षेत्रबाहेक ११०.४६ किमी कालोपत्र गर्नुपर्नेछ । पुलले ३.०७ किमी क्षेत्र ओगटेको सूचना अधिकारी खनालले बताए ।  हाल यस खण्डमा यात्रा गर्ने सवारीले ९३.९४ किमी कालोपत्र सडकमा यात्रा गर्नसक्ने उनले बताए । यो कुल लम्बाइको ८३ प्रतिशत भाग कालोपत्र सडकमा यात्रा गर्न सकिने भएको सूचना अधिकारी खनालले बताए ।  

उनका अनुसार यस खण्डमा काम गर्नुपर्ने बाँकी क्षेत्र अधिकांश दाउन्ने खण्डमा रहेको छ । सोहीअनुसार दाउन्ने खण्डमा काम केन्द्रित गरिएको छ । 

दाउन्ने क्षेत्रमा हाल कल्भर्ट निर्माणको काम अन्तिम चरणमा पुगेको र उक्त खण्डमा सडक ढलानको कामसमेत जारी रहेको छ । दाउन्ने खण्डको यात्रालाई जतिसक्दो छिटो सहज बनाउने योजनाअनुसारको काम जारी छ । 

नारायणगढ–बुटवल सडक विस्तारको काम २०७५ माघ २४ गते सम्झौता भएर २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालि काम सुरु गरेको थियो । नारायणगढ–बुटवल सडकको कुल ११३ किलोमिटरलाई दुई खण्डमा विभाजन गरी काम अघि बढाइएको थियो ।
 
निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रोपटक म्याद थप भएको थियो । यस अवधिमा पनि काम सम्पन्न नभएपछि गत साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रोपटक म्याद थप गरिएको छ । 

एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा अघि बढेको  सडक विस्तार योजनाको दुवै खण्ड गरेर कुल रु १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार लागत रहेको छ । 

११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन हुनेछ । दाउन्नेमा १४.३ लेनको सडक हुनेछ ।

राजमार्ग विस्तारको महत्त्वपूर्ण योजना समयमा सम्पन्न नहुँदा यात्रीले लामो समयसम्म सास्ती खेप्दै आएका छन् । 

अहिले कामले गति लिएको र यात्रामा केही सहजता मिल्न थालेको छ । तर, अझै पनि दाउन्ने खण्डमा समस्या उस्तै छ । उक्त क्षेत्रमा सामान्य वर्षा हुँदा पनि बाटो चिप्लो भएर घण्टौँ जाममा पर्नुपर्ने बाध्यता छ । रासस

प्रकाशित मिति: मंगलबार, जेठ ६, २०८२  ०८:२४
प्रतिक्रिया दिनुहोस्