site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
संविधानविपरीत विधेयक ल्याइयो, जग्गा दलाललाई विशेष फाइदा हुनेछ : उपेन्द्र यादव
उपेन्द्र यादव । फाइल तस्बिर ।

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संविधानविपरीत भएको बताएका छन् । नेपालको संविधानको अनुसूची–६ अनुसार भूमि व्यवस्थापन, जग्गाको अभिलेख प्रदेशको क्षेत्राधिकारभित्र पर्ने उनले उल्लेख गरेका छन् ।

“भूमिसम्बन्धी ऐन बनाउने अधिकार संविधानले प्रदेश सरकारलाई दिएको छ । संसद्मा संघीय सरकारले यो विधेयक संविधानविपरीत ल्याएको छ,” उनले सोमबार (जेठ ५) राति सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

संविधानको उल्लंघन गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई नै समाप्त पार्ने षड्यन्त्र गरिएको उनको आरोप छ । “भूमाफियाको खेलमा लागेर गरिएको यस्तो राष्ट्रघाती र संविधानविरोधी कार्यको घोर विरोध र भर्त्सना गर्दछु,” उनले लेखेका छन् ।

उक्त विधेयक सरकारले तुरुन्त फिर्ता लिनुपर्नेमा उनले जोड दिएका छन् । “सुकुम्वासी समस्या समाधान गर्ने नाममा ल्याइएको भनिएता पनि यसले सुकुम्वासी समस्या हल गर्न सक्दैन,” अध्यक्ष यादवले लेखेका छन्, “यसबाट घरजग्गा व्यवसायी तथा भूमाफिया, जग्गा दलाललाई विशेष फाइदा हुनेछ ।”

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  २२:५१
प्रतिक्रिया दिनुहोस्