
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवं प्रथम महिला राधिका शाक्यले शक्तिको दुरुपयोग गरेर कुनै पनि काम नगरेको बताएकी छन् । सोमबार (जेठ ५) काठमाडौंमा शाक्यद्वारा लिखित पुस्तक ‘करुणा’को लोकार्पण एवं समीक्षा कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।
उनले ओलीसँग विवाह गरेको करिब ३८ वर्ष पुगेको जानकारी गराइन् । हालसम्म ओली गृहमन्त्री, परराष्ट्रमन्त्री, चारपटक प्रधानमन्त्री हुँदा समेत शक्तिको दुरुपयोग गरेर कसैलाई कुनै काम नदिलाएको उनको भनाइ थियो ।
“मलाई कुनै लोभ, अवसर, महत्त्वाकांक्षा छैन । हाम्रो नातागोताले कहीँ कतै सानो, ठूलो शक्तिको दुरुपयोग गरेर राखिदिएको केही छैन,” उनले भनिन्, “तपाईंहरूले भेट्टाउन सक्नुहुन्छ भने खोज्न म अनुरोध गर्न चाहन्छु ।”
उनले कार्यकर्ता व्यवस्थापनबारे आफू जानकार नरहेको बताइन् । आफूले कुनै पनि राजनीतिक कार्यमा हस्तक्षेप नगर्ने उनले उल्लेख गरिन् ।
“जहाँसम्म मलाई लाग्छ, अब कार्यकर्ताहरूको व्यवस्थापन कसरी भएको छ, के भएको छ त्यो म जान्दिनँ । किनभने, म कुनै पनि पोलिटिक्समा मैले हस्तक्षेप गरेको छैन, गर्दिनँ पनि,” उनले भनिन् । न्युज एजेन्सी नेपाल