site stats
बाह्रखरी :: Baahrakhari
कला
नेपथ्य अमेरिका शृंखला २०२५– टेक्सासको अस्टिनबाट  सुरुवात

अस्टिन (अमरिका) । नेपथ्यले अस्टिन सहरका दर्शकलाई लोकरक धुन सुनाउँदै यस वर्षको अमेरिका यात्रा प्रारम्भ गरेको छ । टेक्सासको यो राजधानी सहरस्थित हल ‘इमोज’ मा शनिबार बेलुकी ९ बजे नेपथ्य कन्सर्ट सुरु भएको थियो ।

नेपथ्यले भर्खरै सार्वजनिक गरेको गीत ‘कर्नालीका छाइला’लाई ब्यान्डले यसै कन्सर्टमा पहिलोपटक गाएर सुनाएको थियो । नयाँ गीत सुनिरहँदा दर्शक उत्साहित देखिन्थे । यो प्रस्तुतिसँगै यो गीत अब युट्युबमार्फत सबैले निःशुल्क सुन्न र हेर्न पाउने घोषणा ब्यान्डले गरेको छ । यसअघि एक सातासम्म नेपथ्यप्रेमीले यो गीत पैसा तिरेर सुन्दै आएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

"ब्यान्डलाई भरथेग गर्न मन पराउने दर्शकका लागि हामीले पहिलोपटक गरेको सशुल्क हेर्न पाउने व्यवस्था धेरैले रुचाएको पाइयो," नेपथ्यका व्यवस्थापक संस्था नेपालयका किरणकृष्ण श्रेष्ठले प्रतिक्रिया दिए, "आम दर्शकबाट नेपथ्यप्रति प्रस्तुत यो संरक्षकत्वलाई हामी हार्दिकताका साथ स्वागत गर्छौं ।"

यो गीत सुनेबापत ब्यान्डलाई आर्थिक सहयोग गर्न चाहनेका लागि भने ‘डिजिटल पेमेन्ट’ को ढोका खुलै राखिएको छ ।

कन्सर्टका लागि स्थानीय समयअनुसार बेलुकी ८ बजे इमोज हलका ढोकाहरू खुलेका थिए भने त्यसको ठीक एक घण्टापछि पर्दामा ‘सा कर्णाली’ र ‘मै मरिजाऊँला’ गीत बज्न सुरु भएको थियो । त्यसलगत्तै मञ्चमा उपस्थित ब्यान्डले ‘कोशीको पानी’ बाट प्रस्तुति सुरु गरेको थियो । आठौं क्रममा ‘शिरफूल’ सुनाए लगत्तै ब्यान्डले ‘कर्नालीका छाइला’ प्रस्तुत गरेको थियो ।

दुई घण्टा लामो नेपथ्य कन्सर्टमा सपरिवार उपस्थित हुने दर्शक उल्लेख्य थिए । 

अमेरिकाका सातवटा सहरमा शृंखलावद्ध कन्सर्ट प्रस्तुत गर्ने योजनासाथ ब्यान्ड यसै साता टेक्सास आइपुगेको हो । अस्टिनमा नेपथ्यको यो पहिलो कन्सर्ट हो । टेक्सासको अर्को सहर डालासमा भने ब्यान्ड यसअघि पनि दुईपटक प्रस्तुत भइसकेको छ ।

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०८:४५
प्रतिक्रिया दिनुहोस्