
काठमाडौं । संसदीय अभ्यासमा ‘वेल’मा एकजना सांसद उभिए पनि सदन चलाउन मिल्दैन । कि त त्यसरी अवरोध गर्ने सांसदहरूलाई मार्सल लगाउँदै सदनबाट निकाल्नुपर्छ कि त सदन स्थगित ।
सदनमा अवरोध हुँदा हुँदै चलाउनु संसदीय मर्यादाभित्र पर्दैन । तर, नेपालको संसदीय अभ्यासमा नाराबाजी र होहल्लाबीच सदन चलाउने विषय अब नौलो रहेन ।
विरोध गर्ने पक्षले विगतको अभ्यास सम्झाउने र सभामुखले नसुन्ने प्रवृत्ति केही समययता सदनमा मञ्चन हुँदै आएको छ । आइतबार पनि प्रतिनिधिसभाकमा सोही दृश्य देखियो । चौथो दलको वेल घेराउ र नारावाजीलाई सभामुख देवराज घिमिरेले नजरन्दाज गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद आइतबार बैठक सुरु हुनासाथ उभिएका थिए ।
सभामुखले सोधेको सुनिएन, ‘के लागि उभिनु भएको ?’ त्यसरी उभिनेलाई उनले सुरुमा बोल्न समय पनि दिएनन् । सोझै सदनको कारबाही अघि बढाए । नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेलाई आकस्मिक समयमा बोल्न बोल्न समय दिए ।
त्यसपछि आक्रोशित रास्वपा सांसद शुक्रबारझैँ ‘वेल’मा पुग्यो । राप्रपाका सांसदले उभिएर विरोध जनाइरहे । सभामुखले सदनको कारबाही अघि बढाइरहे ।
भिजिट भिसा प्रकरणमा आफूमाथि उठेका प्रश्नको जवाफ दिने मौका गृहमन्त्री रमेश लेखकले पाएका थिए, गत शुक्रबार नै । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सत्तासँग अस्पस्ट दुई बुँदामा सहमत भएपछि सदन चलेको थियो । तर, रास्वापाले वेलमा पुगेर गृहमन्त्रीको राजीनामा र छानबिन समितिको माग गरेको थियो ।
राप्रपाका सांसद उभिएर बसेका थिए । शुक्रबारको बैठकमा ती दलले आफ्ना कुरा त राख्न पाएका थिए । तर, आइतबार सभामुखले सोझै आकस्मिक समय अघि बढाएका हुन् । नाराबाजीबीच बैठकको कारबाही अघि बढाए ।
वेलमा नाराबाजी गरिरहेका रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सभामुखले समय दिँदा कुनै प्रतिक्रिया जनाएनन् । उनले नाराबाजी गरिरहे ।
राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले भने सभामुखको भूमिकामाथि प्रश्न उठाए ।
“संसद्मा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु उचित हुँदैन,” उनले अरु पार्टीका सांसदलाई पनि आग्रह गरे, “भिजिट भिसा प्रकरणमा दोषीलाई कारबाही गरियोस् भन्नेमा सबैले साथ दिनुस् ।”
शाहीले सभामुखले दादागिरी देखाएको आरोप समेत लगाए । “यसरी संसद चलाउनु संसदीय अभ्यास होइन । दादागिरी हो । दादागिरी बन्द गर्नुस्,” शाहीले बैठकमा भने ।
अनि आकस्मिक समय पाएका स्वतन्त्र सांसद अमरेश सिंहले नाराबाजीकाबीच आफू नबोल्ने भन्दै बसे ।
आकस्मिक समयपछि सभामुखले बजेटमाथि छलफलका लागि प्रस्ताव प्रस्तुत गर्न अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई समय दिए ।
मन्त्री बोलिरहँदा विपक्षी नेकपा (एकीकृत समाजवादी)का उपनेता राजेन्द्रप्रसाद पाण्डेले नाराबाजीकाबीच कारबाही अघि बढाउने सभामुखको तरिका ठीक नभएको टिप्पणी गरे ।
उनले दलहरूसँग छलफल गरेर एउटा निष्कर्षमा पुग्न आग्रह गरेका थिए ।
“नाराबाजीको अवस्थामा अर्थमन्त्रीज्यूले भनिरहनुभएको कुरा हामीले सुनिरहेको छैनौँ । यो सभा चलाउने तरिका भएन । स्थगित गरेर एउटा सहमति गरेर मात्रै एउटा टुंगो गरी अघि बढाइयोस्,” उनले भने ।
सभामुखले पाण्डेलाई धन्यवाद दिए । र, मन्त्रीलाई अघि बढ्न भने ।
सदनमा नारावाजीकै बीच बजेटमाथि छलफल अघि बढ्यो । रास्वपा नारबाजी गरिह्यो, सिटमै उभिरहेको राप्रपा भने बैठक बहिस्कार गरेर बाहिरियो ।
‘‘भिजिट भिसा प्रकरणमा प्रतिपक्षको विरोधका बावजुद पनि सभामुखले संसद चलाउन खोजेपछि मान्छे बेच्ने भ्रष्टाचारीको पक्षपोषणमा स्वयं संसदका पदाधिकारी देखिएपछि त्यस्तो संसद्को बैठकमा बस्नु नै उचित हुँदैन । त्यसैले राप्रपाले आज संसद बहिष्कार गरेको छ,” प्रमुख सचेतक शाहीले सामाजिक सञ्जालमार्फत् भनेका छन् ।
सभामुखको भूमिकामाथि सदनमा आमजनता पार्टीका अध्यक्ष समेत रहेका प्रभु साहले पनि प्रश्न तेर्स्याए । उनले संसद्मा कुनै दल उभिँदा पनि अवरोध हुने र कुनै दल वेलमा हुँदा पनि नदेख्ने भन्दै आपत्ति जनाएका हुन् ।
“कुनै अमुक पार्टीले सिटमै उभिँदैमा संसद् स्थगित हुने । अर्को पार्टी वेलमै नाराबाजी गरिरहँदा संसद् अवरोध नहुने यो कस्तो विभेद हो ?,” साहले सोधे, “सभामुख तटस्थ भूमिकामा हुनुपर्छ । सबैको साझा हुनुपर्छ । यो व्यवहार हेर्दा आश्चर्य लागेको छ ।”
उनले विगतमा नारबाजीकाबीच संसद चलेको तर छोटो समय मात्रै अघि बढ्ने गरेको बताए ।
साहले लामो समय चलाएर संसद्मा नयाँ रेकर्ड नै राखिएको भन्दै कटाक्ष समेत गरे । त्यसपछि सभामुखले विषयमा केन्द्रित भएर बोल्न निर्देशन दिए ।
साहले भने नारबाजीबीचमा के बोल्ने भन्दै प्रश्न सोधे ? उनले बजेटमा बोल्ने वातावरण बनाउन आग्रह गरे ।
सभामुखले धोका दिएको रास्वपाको आरोप
रास्वपाले भने सभामुखले आफूहरूलाई धोका दिएको आरोप लागएको छ । रास्वपा सांसद मनिष झा बैठक सुरु हुनुअघि सभामुखले सुरुमा आफूहरूलाई बोल्न दिने भनेको तर बैठकमा पुगेपछि धोका दिएको बताउँछन् ।
“सभामुखले हामीलाई धोका दिनुभयो । हामीलाई हाम्रो कुरा राख्न दिनुस् भन्ने माग थियो,” झा भन्छन्, “सुरुमा तपाईंहरूलाई आफ्ना कुरा राख्न दिन्छु भन्नुभएको थियो । तर, त्यहाँ कांग्रेस सांसदलाई आकस्मिक समयमा बोल्न दिनुभयो ।”
झाले विगतमा संसद् अवरोध गर्दा आफ्नो कुरा राख्न दिइएको र आफूहरूलाई हेपेको टिप्पणी गरे । सभामुखले अभिभावकत्व निर्वाह गर्नुपर्नेमा पेलेरै अघि बढेकामा रास्वपाका सांसदहरूले आपत्ति प्रकट गरेका छन् ।
पूर्वसभामुख तारानाथ रानाभाट समय र परिस्थितिले यस्ता घटना निम्त्याउने बताउँछन् । दलहरूले पनि बुझेर अघि बढ्नुपर्ने भनाइ उनको छ ।
“समय परिस्थिति र घटनाले यस्ता कुरा निम्त्याउँछ । आर्थिक वर्षको अन्त्य र नयाँ वर्षका लागि बजेट प्रभावित गरेर मुलुकलाई अफ्ठ्यारोमा पार्ने काम जिम्मेवार दलहरूले गर्नु हुँदैन,” उनी भन्छन्, “आफ्ना माग जीवित राख्ने तर महत्वपूर्ण विषयमा भने दलहरूले सोच्नुपर्छ ।”
उनले विजनेश रोक्ने भन्दा पनि जनताप्रति उत्तरदायी हुने ढंगबाट सोच्न उनको सुझाव छ ।
वेलमा रास्वपाको तीन घण्टा
बिहान ११ बजेका लागि बोलाइएको बैठक झन्डै दुई घण्टामा सुरु भएको थियो । बैठक ३ घण्टा १७ मिनेट चल्यो । रास्वपा वेलमा नै रह्यो । रास्वपाका सांसदहरु कहिले वेलमा बसे, कहिले उभिए । कहिले नाराबाजी गरे, कहिले रोष्ट्रम जान लागेका मन्त्री तथा सांसदलाई बाटो छेक्ने प्रयास गरे । सदनको कारबाही चलुन्जेल नाराबाजी गरिरहे ।
उनीहरु फिर्ता भएनन् । न त आफ्नो सिटमा नै बसे । राप्रपा सांसद केहीबेर उभिएर बहिस्कार गरे भने रास्वपाले सदन अवधिभर आफ्नो मागका बारेमा एक्लै नाराबाजी गरिह्यो ।
उनीहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनमा मागे । छानबिन समितिको माग गर्र्दै मानव तस्करलाई कारबाही गरलगायतका नारा लगाए । वेलमा उभिए, थाक्दा पलेटी कसेर भुइँमा बसे । र, विरोध गरिरहे ।