
काठमाडौं । सिंगापुरमा आयोजित गायिका आनी छोइङ डोल्माको कन्सर्टको टिकट ‘अक्सन’मा खरिद भएको छ । शनिबार (जुन १४) सिंगापुरमा आयोजित कन्सर्टमा केही संख्यामा टिकट ‘अक्सन’मा खरिद भएको हो ।
आयोजकले प्रतिटिकट सिंगापुर डलर २५० मा बिक्री गरेको थियो । तर, बिक्री खुला गरिएको केही समयमै ‘सोल्डआउट’ हुँदा टिकट ‘अक्सन’मा खरिद भएको पाइएको आयोजकलाई उद्धृत गर्दै आनीले बताएकी छन् ।
६३२ डलरसम्ममा‘अक्सन’मा टिकट खरिद भएको पाइएको छ । “कन्सर्टमा सहभागी हुन चीन, भियतनामलगायत देशबाट आउनुभएको थियो । नेपाली कोही पनि थिएन,” सिंगापुरबाट आनीले भनिन् ।
आनीलाई प्रत्यक्ष सुन्न चाहने विदेशी ‘फ्यान’को संख्या बढ्दै गएको छ ।
कन्सर्टमा १५ सय टिकट बिक्री गरिएको थियो । कन्सर्टको थिम ‘विस्पर्स अफ विस्डम’ राखिएको थियो ।
आनी नेपालमा भन्दा विदेशमा धेरै कन्सर्ट गर्ने गायिका हुन् । उनले मे ३० मा क्यानडामा कन्सर्ट गरेकी थिइन् ।
‘फूलको आँखामा फूलै संसार...’ उनको गीत लोकप्रिय हो । योसँगै सांगीतिक क्षेत्रमा उदाएकी उनका गीत संख्यात्मक रूपमा थोरै भए पनि गुणात्मकताका हिसाबले अघि छन् ।