
काठमाडौं । यो वर्ष बंगलादेशमा बिजुली निर्यातबाट नेपाललाई एक अर्ब २५ करोड रुपैयाँ आम्दानी हुने भएको छ । आइतबार (जुन १५)देखि सुरु निर्यात पाँच महिना (नोभेम्बर १५)सम्म हुनेछ । ऊर्जामन्त्री दीपक खड्काले आउँदो पाँच महिनामा एक अर्ब २५ करोडको विद्युत् बिक्री गरिने बताए ।
आइतबार (असार १) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले नेपालबाट बंगलादेशमा दैनिक ४० मेगावाट विद्युत् निर्यात गरी मासिक २५ करोडभन्दा बढी आम्दानी हुने जानकारी गराए ।
दक्षिण एसियामा तेस्रो मुलुकमा बिजुली निर्यात गर्ने नेपाल पहिलो देश हो । बंगलादेशमा व्यावसायिक रूपमा बिक्री हुनु खुसीको विषय भएको उनले बताए ।
“ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल हुन्छ । १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गरी भारतलाई १० हजार र बंगलादेशलाई पाँच हजार मेगावाट निर्यातको लक्ष्य छ,” उनले भने ।
गत वर्ष कात्तिक ३० (नोभेम्बर १५)मा पहिलोपटक ११ घण्टा ३० मिनेट ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गरिएको थियो । यो वर्ष पुनः ४० मेगावाट विद्युत् निर्यात सुरु गरेको हो । गत वर्षको असोज १७ गते नेपाल विद्युत् प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र एनटीपीसी विद्युत् व्यापार निगम लिमिटेड भारतबीच विद्युत् बिक्री सम्झौतामा हस्ताक्षर भएको थियो ।
पत्रकार सम्मेलनमा विद्युत् नेपाल प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नेपाल ऊर्जा व्यापारको युगमा प्रवेश गरेको बताए । भारत र बंगलादेशमा बिजुली निर्यात गरी अर्बौं आम्दानी गरिने उनले उल्लेख गरे ।
प्राधिकरणले आउँदो पाँच महिनाको अवधिमा बंगलादेशमा १४ करोड ६८ लाख ८० हजार युनिट विद्युत् निर्यात गर्नेछ । उक्त विद्युत् नेपालको ४०० केभी ढल्केबर सबस्टेसनबाट भारतका मुजफ्फपुर, बेहरामपुर हुँदै बंगलादेशको भेडामारा सबस्टेसनसम्म पुग्नेछ ।
नेपालले यही जुन १ देखि भारतको हरियाणा राज्यमा १८५ मेगावाट विद्युत् निर्यात गर्दै आएको थियो । आइतबारदेखि परिमाण बढाएर २०० मेगावाट बिक्री थालेको छ । बिहारमा पनि ८० मेगावाट विद्युत् आइतबारदेखि निर्यात गरिएको छ ।