site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्लब विश्वकपको चर्चा : कडा सुरक्षा र मेसीको प्रदर्शन

काठमाडौं । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाको आयोजनामा शनिबार अमेरिकामा सुरु भएको क्लब विश्वकपको उद्घाटन खेलमा लियोनल मेसी र बाक्लो सुरक्षा व्यवस्था प्रमुख आकर्षण बन्यो । 

उद्घाटन खेलमा मेसीको कप्तानीमा रहेको इन्टर मियामीले पाहुना टोली इजिप्टियन ‘पावरहाउस’ अल अह्लीलाई गोलरहित बराबरीमा रोक्यो । मियामीको बराबरीमा गोलकिपर ओस्कार उस्तारीको प्रदर्शन उच्च रह्यो । यही प्रदर्शनले उनलाई खेलको ‘प्लेयर अफ दी म्याच’ समेत दिलायो । उनले अल–अह्लीविरुद्ध एक पेनाल्टी जोगाए । अन्य धेरै शक्तिशाली प्रहारलाई विफल बनाए ।

खेलको दोस्रो हाफमा मेसी गोलको नजिकै पुगे पनि पाहुना टिमका गोलकिपरले त्यसलाई विफल बनाए । उनले प्रहार गरेको सुन्दर प्रहार अल अह्लीका गोलकिपर मोहदमेद एल स्नेनावीले मुस्किलले जोगाए । उनको औँलाले बललाई छुँदा पोस्टमा लाग्दै बाहिरियो । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मियामीमा प्रहरीको उपस्थिति
खेलअगाावै अल अह्लीका समर्थकहरू दक्षिण समुन्द्री किनाराको वरिपरि खानेकुरा र पेय पदार्थको स्वादमा रमाइरहेका थिए । 

अल अह्लीले प्रतियोगितामा अफ्रिकन च्याम्पियन लिगको विजेताको रूपमा स्थान बनाएको थियो । इजिप्टमा ४५ पटक घरेलु लिगको उपाधि जितेको यो टोलीले १२ पटक अफ्रिकी महादेशीय प्रतियोगिताको पनि उपाधि जितेको इतिहास छ । तर, विश्वकपको यो मञ्चमा भने स्तर देखाउन सकेन । 

हार्ड रक रंगशालामा केही अवसर सिर्जना गरे पनि पाहुना टिमको आक्रमणमा मियामीका गोलकिपर बाधक बने । हार्ड रंगशाला त्यही मैदान हो, जहाँ ११ महिनापछि महत्त्वपूर्ण खेल आयोजना हुँदै थियो । गत जुलाईमा यही मैदानले कोपा अमेरिका–२०२४ को फाइनल आयोजना गर्दा समर्थकको भिडले उग्ररुप लिएको थियो ।

यही भिड नियन्त्रणमा राख्न आयोजकले खेल निर्धारित समयभन्दा करिब ८० मिनेटपछि सुरु गरेका थिए । जहाँ उपाधिका निम्ति मेसीकै टोली अर्जेन्टिना र कोलम्बिया प्रतिस्पर्धामा थिए । 

samarthak-1750005770.png
यही घटनाबाट पाठ सिकेको स्थानीय प्रशासन र प्रहरी आइतबार उक्त प्रवृति दोहोरिन नदिन प्रतिबद्ध थिए । उनीहरूले झडप र उग्ररुप लिन सक्ने प्रवृत्तिका घटना घट्नै दिएनन् । यसपटक फिफाले त्यस्तो घटना नदोहोरिन खेलअगावै चनाखो बढाउँदै भिडलाई लाइनबद्ध बनायो । 

उक्त फाइनल खेल र अमेरिकाको लस एन्जलस सहरको अशान्त माहोलका कारण अमेरिकी सुरक्षा निकायको एक अंग ‘काउन्टर टेरोरिजम’ले रंगशालाको बाहिरी क्षेत्रमा कडा गस्ती गर्दै विभिन्न सुरक्षा जाँच तथा झोला परिक्षण गरेको थियो ।

रंगशालमा भित्र सुरक्षा जाँचका कारण समर्थकहरूले केही समय ढिलो प्रवेश पाए । उनीहरूको दोहोरो सुरक्षा जाँच गरिएको थियो । 

आतिशबाजी, समर्थकहरूको उल्लास र मेसीको जादुम
‘मेसी मेसी मेसी’को नारा चारैतर्फ गुञ्जिएको थियो । शनिबार उनका समर्थकहरूले मियामीलाई समर्थन जनाइरहेको क्षण हो यो । जुन तीन वर्ष अगाडि कतारमा उनको कप्तानीमा अर्जेन्टिनाले फिफा विश्वकपको उपाधि उचाल्दाको जस्तै थियो ।

कमजोर नतिजामा टुंगिएको यो खेलमा पनि टिकेटिङको समस्या देखिने अनुमान थियो । तर, पछि फिफाका अध्यक्ष जियान्ने इन्फान्टिनोले ‘भरिएको रंगशाला’ र ‘रोमाञ्चक माहोल’ मा उत्साहजनक उपस्थितिको अपेक्षा गरेको बताएका थिए । फिफा अध्यक्ष इन्फान्टिहो पनि समर्थकसँगै थिए । उनी ब्राजिलका विश्वकप विजेता रोनाल्डो नाजारियो र इटालियन लेजेन्ड रोबर्टो बाजियोसँगै थिए ।

ar-1750005766.png
इन्फान्टिनोले के चाहेका थिए र के पाए त्यो दुई फरक कुरा बन्यो । ६५ हजार २२६ दर्शक क्षमता भएको रंगशालमा हजारौँ सिट खाली हुनु यसको बलियो प्रमाण थियो । तर, पछि मैदानमा ६० हजार ९२७ दर्शकको उपस्थिति रहेको घोषणा गरिएको थियो । 

मेसीको उपस्थितिसँगै र निरन्तर इजिप्टको झण्डा फहराइरहेका इजिप्टियन समर्थक र आक्रामणले भरिएको प्रदर्शनले खेललाई उत्कृष्ट बनायो । 

मोरोक्कन–अमेरिकी र्‍यापर फ्रेन्च मोन्टानाले खेलअघि रंगशाला तताए । उनले आफ्नो प्रस्तुति दिँदा रंगशाला आतिशबाजीले चहकिलो बनेको थियो । उक्त प्रस्तुतिलाई थप मनोरञ्जनात्मक बनाउन खेलाडीहरूलाई समेत पालैपालो बोलाइएको थियो । 

मियामीका सह–मालिक डेबिड बेकह्यामलाई समर्थकहरूले मैदान प्रवेश गरेसँगै ताली बजाएर स्वागत गरे । मैदानमा एलइडी स्क्रिनमा मेसीको मुस्कान देखिएपछि समर्थक झनै मुग्ध बनेका थिए ।

यी र यस्तै रोमाञ्चकले भरिएको माहोलबीच मियामीले इजिप्टको क्लबविरुद्ध जित निकाल्न असफल रह्यो । अब उसले बिहीबार पोर्चुगलको क्लब पोर्टोविरुद्ध प्रतिस्पर्धा गर्नेछ । पोर्टो त्यही क्लब हो, जसले युरोपमा पनि आफ्नो बलियो प्रभाव बनाएको छ ।

messi-1750005765.png
“मेसीले उचित स्थानमा रहँदा बल पाए भने हामीले धेरै अवसरहरू पाउँछौँ । मेसीले बल पाउनु नै हाम्रो लागि धेरै विकल्पहरू खुल्नु हो,” मायामीका प्रशिक्षक जेबियर मास्केरानोले खेलपश्चात् भने, “हामीले यस प्रतियोगितामा एकपटकलाई एक खेल मात्र हेरेका छौँ । आगामी खेलमा स्वभावले प्रतिस्पर्धा उच्च हुनेछ । किनकी अबको प्रतिद्वन्दी युरोपको हो । तर, हामीले ११ जनाको विपक्षमा ११ जना खेलिरहेका छौँ भनेर बुझ्नपर्छ । फुटबलमा जे पनि हुनसक्छ ।”

प्रकाशित मिति: आइतबार, असार १, २०८२  २३:२९
प्रतिक्रिया दिनुहोस्