
काठमाडौं । अमेरिकामा ‘कमेडी दरबार इन अमेरिका’ हुने भएको छ । आर्यन फिल्मस् प्रोडक्सन प्राइभेट लिमिटेडले ‘कमेडी दरबार’ निर्माता कम्पनी माया इन्टरटेन्मेन्ट स्टुडियोसँग औपचारिक सम्झौता गरेको हो ।
कार्यक्रमका लागि आर्यन फिल्मसका तर्फबाट सीईओ गोपाल कटुवाल तथा ‘कमेडी दरबार’को कार्यक्रमको निर्माण कम्पनीकी श्रद्धा प्रसाईंले हस्ताक्षर गरेकी छन् ।
कार्यक्रम सम्झौताको हस्ताक्षरपछि बोल्दै आर्यन फिल्मसका सीईओ कटुवालले आफ्नो कम्पनीले अन्तर्राष्ट्रियस्तरमा पहिलोपटक काम गर्न लागेको बताए । उनले अमेरिकाका बढीभन्दा बढी नेपालीका माझमा पुग्ने लक्ष्य राखेको बताए ।
‘कमेडी दरबार’की निर्देशक श्रद्धा प्रसाईंले आफ्नो कार्यक्रमको अन्तर्राष्ट्रिय यात्रालाई लिएर उत्साहित रहेको बताइन् । “सेप्टम्बर र अक्टोबरमा कमेडी दरबार इन अमेरिका लिएर हामी अमेरिका आउँदैछौँ,” उनले भनिन् ।
आर्यन फिल्मसका अध्यक्ष रमेश एमके पौडेलले हाँसो औषधिसमेत रहेको उल्लेख गर्दै नेपालीभाषीको मनोरञ्जनको चाहानालाई पूरा गर्न अमेरिकामा कार्यक्रम गर्न लागिएको बताए ।
पौडेलका अनुसार अमेरिकाका १० वटा राज्यका १६ स्थान टेक्सास, न्यूयोर्क, ओहायो, मेरिल्यान्ड, भर्जिनिया, क्यालिफोर्निया, कोलोराडो, न्यूजर्सी, फ्लोरिडा र ओक्लोहामा कार्यक्रम आयोजना हुनेछ ।
पौडेलले कार्यक्रमका लागि डेढदेखि दुई करोड नेपाली रुपैयाँ खर्च हुने बताए ।