site stats
बाह्रखरी :: Baahrakhari
विदेश
ब्रुकलिन ब्रिजमा जहाज ठोक्किँदा दुईजनाको मृत्यु, १९ घाइते

न्युयोर्क । न्युयोर्कको ब्रुकलिन ब्रिजमा मेक्सिकोको नौसेनाको प्रशिक्षण जहाज ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १९ जना घाइते भएका न्युयोर्क सहरका मेयर एरिक एडम्सले बताएका छन् ।

शनिबार राति ब्रुकलिनको पुलको खम्बामा ठोक्किँदा जहाजका तीनवटै मस्तूल (जहाजमा रहेको अग्लो खम्बा) भाँचिएको थियो भने पुलमा बसेर वसन्त ऋतुको साँझको आनन्द लिइरहेका मानिस भयभीत बनेका थिए ।

एडम्सले एक्समा लेखेका छन्, “यो समयमा जहाजमा सवार २७७ मध्ये दुईजनाको निधन भएको, दुईजना गम्भीर घाइते भएका र १९ जना सामान्य घाइते भएका छन् ।” 

अनलाइनमा सेयर गरिएको भिडियोमा मेक्सिकोको नौसैनिक जहाज ‘कुउहाटेमोक’का पालहरू र उत्सवबत्तीहरू लत्रेको देख्न सकिन्छ । पुलमुनिबाट अघि बढिरहेका समय जहाजको मस्तूल त्यहाँ एक भागमा ठोक्किएको थियो । र, जहाज नदीमा दुर्घटनाग्रस्त भएको थियो । 

यसअघि, मेक्सिकोको नौसेनाले एक विज्ञप्ति जारी गर्दै प्रशिक्षणका क्रममा पानीजहाज दुर्घटना भएको, त्यसमा सवार २२ जना घाइते भएका र तीमध्ये तीनको अवस्था गम्भीर रहेको जनाएको थियो ।  

न्युयोर्कका प्रहरी प्रमुख विल्सन अरामबोलेसले पत्रकार सम्मेलनमा क्याप्टेनले जहाजलाई चलायमान बनाइरहेका बेला त्यसले सन्तुलन गुमाएको र ब्रुकलिनतर्फको पुलतर्फ मोडिएको बताए ।

ब्रुकलिनका बासिन्दा २३ वर्षीय निक कोर्सोले पानीनजिकै उभिएका बेला जहाजमा त्रास फैलिएको एएफपीसँग बताए ।

मेक्सिकन नौसेनाले आफ्नो वक्तव्यमा कोही पनि पानीमा नपरेको भन्दै जहाजको छिट्टै उद्धार गरिने जनाएको छ ।

न्युयोर्कको यातायात विभागले एक्समा लेखेको छ, “ब्रुकलिन ब्रिजमा संरचनागत क्षतिको कुनै संकेत देखिएको छैन, तर थप निरीक्षण जारी रहेको छ ।” रासस/एएफपी

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १६:४३
प्रतिक्रिया दिनुहोस्