site stats
बाह्रखरी :: Baahrakhari
देश
एकैदिन १३५ आरोही सगरमाथा शिखरमा
फाइल तस्बिर ।

काठमाडौं । मौसम अनुकूल भएसँगै आइतबार (जेठ ४) एकैदिन १३५ आरोहीले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । वसन्तयामको जारी आरोहणमा एकैदिन धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्न सफल भएको पर्यटन विभागले जनाएको छ ।

सगरमाथाको आधार शिविरस्थित विभागको अस्थायी फिल्ड कार्यालयका अनुसार, मौसम अनुकूल भएकाले आज धेरै आरोहीले सगरमाथा चढेका हुन् । सोमबार (जेठ ५) पनि धेरै संख्यामा आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनामा रहेका जनाइएको छ ।

विभागका निर्देशक हिमाल गौतमले भने, “मे १८ तारिखका दिन ‘म्याक्सिमम समिट प्लान’ थियो । त्यसैले धेरै संख्यामा आरोहीले सगरमाथा आरोहण गरेका छन् । सगरमाथा आरोहणको सुरुका केही दिन आरोहण अवरुद्ध भए पनि तीन दिनयता सर्वाधिक आरोहण भइरहेका छन् ।”

निर्देशक गौतमले हालसम्म २०० भन्दा बढीले सगरमाथा आरोहण गरेका जानकारी दिए । सोमबार पनि धेरै आरोही सगरमाथाको चुचुरोमा पुग्ने योजनाका साथ गन्तव्यमा रहेका उनले बताए ।

फोटो पत्रकार पूर्णिमा पाँचौँपटक चुचुरोमा
फोटो पत्रकार समेत रहेकी कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठले पाँचौँपटक सगरमाथा आरोहण गरेकी छन् । श्रेष्ठ आइतबार बिहान सगरमाथाको चुचुरोमा पाँचौँपटक पुगेको सतोरी एडभेन्चर प्रालिले जनाएको छ ।

श्रेष्ठले गत वर्ष एउटै याममा तीनपटक सगरमाथाको आरोहण गरेर विश्व कीर्तिमान कायम गरेकी थिइन् । गोरखाको आरुघाट गाउँपालिका–१० की श्रेष्ठले सन् २०१८ मा पहिलोपटक सगरमाथा आरोहण गरेकी थिइन् ।

विभागको तथ्यांकानुसार, वसन्त ऋतुमा हालसम्म ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएका छन् । रासस

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  २३:३१
प्रतिक्रिया दिनुहोस्