
गाजापट्टी । गाजापट्टीभरि शनिबार रातभर र आइतबारसम्म इजरायली आक्रमण हुँदा कम्तीमा १०३ जनाको मृत्यु भएको यो क्षेत्रका अस्पताल र चिकित्सकले बताएका छन् । इजरायलले पुनः यो क्षेत्रमा आफ्नो आक्रमण तीव्र बनाएको छ ।
दक्षिणी सहर खान युनिस र वरपर हवाई आक्रमणमा ४८ भन्दा बढी मानिस मारिएका छन् । तीमध्ये १८ बालबालिका र १३ महिला रहेका जनाइएको छ ।
उत्तरी गाजामा निर्मित जबालिया शरणार्थी शिविरको घरमा गरिएको आक्रमणमा एकै परिवारका नौजनाको मृत्यु भएको गाजा स्वास्थ्य मन्त्रालयको आपत्कालीन सेवाले जनाएको छ ।
जबालियामा अर्को आक्रमणमा सात बालबालिका र एक महिलासहित १० जनाको मृत्यु भएको जनाइएको छ ।
इजरायली सेनाले रातभरि गरिएका आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन । इजरायलले आफ्नो कारबाहीबाट हुने नागरिक हताहतीको दोष हमासलाई दिन्छ । किनकि, यो लडाकु समूह नागरिक क्षेत्रबाट सञ्चालन हुन्छ ।
इजरायलले गाजामा आफ्नो युद्धलाई ‘गिदियनको रथ’ नामक नयाँ आक्रमणका साथ बढाएको छ । यसमा इजरायलले क्षेत्र कब्जा गर्ने, लाखौँ प्यालेस्टाइनीलाई गाजाको दक्षिणमा विस्थापित गर्ने र सहायताको वितरणमा बढी नियन्त्रण लिने योजना बनाएको जनाएको छ । रासस/एपी