site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
‘वैदेशिक सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ बाल तथा नवजात शिशुको जीवनरक्षा कार्यक्रम प्रभावित भएको बताएका छन् । यसको निरन्तरताका लागि उनले संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय दातृनिकायसँग आग्रह गरेका छन् ।

स्विट्जरल्यान्डको जेनेभामा विश्व स्वास्थ्य संगठनको ७८औँ सभाअघि आयोजित मन्त्रीस्तरीय गोलमेचमा सहभागी हुँदै मन्त्री पौडेलले सहयोग कटौतीले चुनौती सिर्जना गरेको बताए । नेपाल निम्न तथा मध्य आय भएका राष्ट्रको सूचीमा स्तरोन्नतिका लागि अघि बढेकाले विकास सहायता अझ कम हुँदा प्रमुख स्वास्थ्य सेवा प्रभावित हुनसक्ने देखिएको मन्त्री पौडेलको भनाइ छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रजनन उमेरका करिब ५० लाख महिलाले पाइरहेको महत्त्वपूर्ण सेवा तथा पाँच वर्षमुनिका १५ लाख बालबालिका पोषण कार्यक्रममा सहयोग रोकिएकाले चुनौती देखिएको मन्त्री पौडेलले बताए । उनले ३५ लाख वयस्कले प्रजनन शिक्षा तथा सेवामा समेत सहयोग कटौतीले प्रभाव पर्ने बताए ।

सहयोग र बजेट कटौतीका बाबजुद नेपालले आन्तरिक स्रोतबाट लगानी बढाउने प्रयास गरेको भन्दै मन्त्री पौडेलले तर पनि घट्दो स्वास्थ्य बजेट चुनौतीका रुपमा रहेको उनले उल्लेख गरे । 

नेपालले सन् २०२३ मा मातृ मृत्युदर प्रति एक लाख जन्ममा हुने मृत्युदर सन् २००० को तुलनामा ७१ प्रतिशतले गिरावट ल्याएको तथ्यांक प्रस्तुत गर्दै मन्त्री पौडेलले सुधार जारी रहेमा सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने विश्वास गरे ।

जेनेभामा मन्त्री पौडेलले सोमबारबाट सुरु हुने सभाको मुख्य कार्यक्रममा सम्बोधन गर्दै छन् । यसैगरी, विभिन्न राष्ट्रका स्वास्थ्य मन्त्री तथा स्वास्थ्य सम्बद्ध अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १४:१०
प्रतिक्रिया दिनुहोस्