site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
साढे पाँच अर्बमा हेलिप्याडसहितको अत्याधुनिक जीपी कोइराला स्वासप्रश्वास केन्द्र बन्दै

काठमाडौं । तनहुँको शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडामा जीपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्रको क्षमता विस्तारको काम अघि बढेको छ । सहरी विकास तथा भवन निर्माण विभागले अस्पतालको क्षमता बढाएर तीन सय शैय्याको बनाउने प्रक्रिया अघि बढाएको हो । तीन सय शैय्यामा अस्पताल विस्तार गर्न झन्डै साढे पाँच अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

विभागले हाल अस्पताल पूर्वाधार निर्माणअघि वातावरणीय प्रभाव मूल्यांकन (एआईए)को क्षेत्र निर्धारणको प्रक्रिया अघि बढाइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले गत साउन २७ गते अस्पतालको क्षमता बढाएर तीन सय शैय्या थप्ने घोषणा गरेका थिए । मन्त्रीको घोषणाअनुसार अस्पतालको क्षमता विस्तार हुन लागेको हो । 

प्रस्तावित अस्पतालमा भवन, आकस्मिक सेवा भवन, बहिरंग विभाग, प्रशासनिक भवन, व्यावसायिक भवन, कुरुवा घर, कर्मचारी आवास, बिरामी कुरुवा घर, अक्सिजन प्लान्ट, फोहोर व्यवस्थापन, शवगृह, बहुउद्देश्यीय भवन, पार्क र हेलिप्याड पूर्वाधार बन्ने विभागले जानकारी दिएको छ । 

अस्पतालको इआईएका लागि सात दिनभित्र सुझाव दिन विभागले भनेको छ । इआईए प्रतिवेदन तयारीको काम परामर्शदाता श्रीया कन्सल्टेन्सीले गरिरहेको छ । 

अस्पतालको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयारका साथै हस्तान्तरण पनि भइसकेको विभागले जनाएको छ । पहिलो चरणमा तीन सय शैय्या र पछि क्षमता विस्तार गरेर एक हजार पुर्‍याउने लक्ष्य सरकारको छ । 

अस्पताल क्षमता बढाउन राष्ट्रपति रामचन्द्र पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले भारतीय राजदूत नवीन श्रीवास्तवलाई अनुरोध गरेका थिए । राजदूत श्रीवास्तवले सहयोग गर्ने वचन दिएका छन् ।

पूर्वप्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा अस्पताल स्थापना भएको हो । जीपी कोइराला स्वासप्रश्वाससम्बन्धी मुलुककै विशेष अस्पतालमा बनाउन लक्ष्य सरकारले लिएको छ । हाल अस्पतालमा ५० वटा शैय्या रहेका छन् । 

प्रकाशित मिति: आइतबार, जेठ ४, २०८२  १२:२३
प्रतिक्रिया दिनुहोस्