site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतीय नम्बर प्लेटको गाडी रोकिएको विषयमा विवाद हुँदा कुटिएका थिए हवल्दार खड्का

काठमाडौं । भारतीय नम्बर प्लेटको ‘गाडी जाँच’का विषयमा विवाद हुँदा ट्राफिक प्रहरी प्रभाव नागढुंगाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) जितेन्द्र साहले प्रहरीका सहायक हवल्दार मदन खड्कालाई कुटेको खुलेको छ ।

थानकोट प्रहरीका अनुसार, ट्राफिक जामका क्रममा भारतीय नम्बर प्लेटको गाडी नागढुंगा हुँदै काठमाडौं प्रवेश गर्दै थियो, सोही विषयमा विवाद हुँदा प्रहरी निरीक्षक साहले हवल्दार खड्कालाई कुटेका हुन् ।

एक प्रहरीका अनुसार, भारतीय नम्बर प्लेटका गाडीलाई नागढुंगामा जाँचका विषयमा केही दिनअघि समेत ट्राफिक प्रहरी र जाँचमा खटिएका प्रहरीबीच विवाद भएको थियो ।

ती प्रहरी भन्छन्, ‘‘भारतीय नम्बर प्लेटको गाडी आएको थियो । ट्राफिक जाम पनि थियो । त्यही बेला गाडी नरोक भन्दा नमानेपछि निरीक्षक साहले कुटेका हुन् ।’’

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील बोहराले घटनाबारे छानबिन गर्न प्रहरी वृत्त थानकोटका डीएसपी एलिजा गिरीलाई निर्देशन दिइसकेको बताए ।

प्रहरी निरीक्षकबाट कुटाइ खाने हवल्दार खड्का नागढुंगा प्रहरी प्रभावमा कार्यरत छन् । निरीक्षक साह भने ट्राफिक प्रहरी प्रभाव नागढुंगाका प्रमुख हुन् ।

 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १९:११
प्रतिक्रिया दिनुहोस्